शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

साक्षी भावमा जीवनको दर्शन सिकाउने ओशो

शुक्रबार, ०५ माघ २०८०, १२ : ४१
शुक्रबार, ०५ माघ २०८०

आज ओशोको महापरिनिर्वाण दिवस । ‘निर्वाण’ शब्दको अर्थ गहिरो मौन स्थितिमा पुग्नु हो । ‘महा’ भनेको निर्वाणभन्दा उच्च र ‘परी’को अर्थ दिव्य । ‘महापरिनिर्वाण’ संस्कृत शब्द हो, जसको अर्थ परम निर्वाण वा मुक्ति हो । अतः महापरिनिर्वाणको अर्थमा जीवन र मृत्युको चक्रबाट मुक्ति भनेर पनि बुझ्न सकिन्छ ।

ओशो सन् १९३१ डिसेम्बर ११ मा भारतको कुचवाडा (अहिलेको मध्यप्रदेश) मा जन्मेका एक आध्यात्मिक नेता हुन्, जसले पूर्वीय रहस्यवाद, व्यक्तिगत भक्ति र यौन स्वतन्त्रताको एक्लेक्टिक थ्यौरीको प्रचार गरे । उनको मृत्यु भारतको पुणेमा आजैका दिन (१९९० जनवरी १९)मा भयो, जसलाई उनका अनुयायीहरू महापरिनिर्वाण दिवसको रूपले मनाउने गर्छन् । 

उनको मुख्य शिक्षा हो– प्रेम र ध्यान । संसारतिर फर्कन्छौ भने प्रेमले फर्क, प्रेम बाँड, प्रेमिल होउ, प्रेम नै संसारी जीवनको आधार हो । आफूभित्र फर्कन्छौ भने ध्यान गर, निर्विचार अवस्था वा आफूभित्र स्थिरको अवस्था हो ध्यान । संसारी भएपछि बाहिर–भित्र दुवैतिर फर्कनुपर्छ । जीवनलाई सन्तुलन राख्नु नै जीवन्त जीवन हो ।

ओशो एक वसन्त हुन् । बादल आफूमाथि फैल्याउने धर्तीजस्तो क्षमाशीलताको सन्त हुन्— ओशो । प्रगीतात्मक चेतना र विचारको समुद्र हुन् ओशो । जहाँबाट छुँदा पनि हामीले खोजेको अर्थको तलास हुन् ओशो । उनी हामीलाई उत्सुक गराउन खोज्दैनन्, हामीलाई आनन्द गराउन उत्सुक हुन्छन् । यसैले उनको रूप र प्रतीक प्राकृतिक परिवेशसँग सहज लाग्छ । उनको तर्क सिधा छ, तर उनी तर्कलाई प्रतिवादका लागि प्रयोग गर्दैनन्, आफ्नो कुरा भन्न मात्र उपयोगमा ल्याउँछन् ।

आजसम्म यस्तो कुनै दार्शनिक अथवा सन्त भएनन्, जसले यति सारा विषयलाई छोएका छन् । सत्यको सम्बन्धमा पनि ओशो जति निराग्रही रहे, त्यति न प्लेटो भए, न हिगल भए, न कृष्णमूर्ति । यसैले ओशोको आफ्नै व्याख्या छ, उनी सनातनलाई समयको पछाडि (बियोन्ड द टाइम) भन्छन् । यसैले ओशो नयाँ पनि हुन् र पुरानो पनि । किनकि सत्यको न कुनै जन्म हुन्छ न त मृत्यु ।

अतः ओशो विचारको अस्तित्वको संसारमा एक सत्य हुन् । ओशो चुम्बकीय व्यक्तित्वको धनी हुन् । ओशो आफ्नो समयभन्दा धेरैपहिले आर्विभूत भएका हुन् । समयभन्दा पहिले जति पनि दिव्य पुरुष यस पृथ्वीमा आएका छन्, उनीहरूलाई बुझ्न तत्कालीन समय र समाजका लागि त्यति सजिलो पक्कै हुँदैन ।

उनको मुख्य शिक्षा हो– प्रेम र ध्यान । संसारतिर फर्कन्छौ भने प्रेमले फर्क, प्रेम बाँड, प्रेमिल होउ, प्रेम नै संसारी जीवनको आधार हो । आफूभित्र फर्कन्छौ भने ध्यान गर, निर्विचार अवस्था वा आफूभित्र स्थिरको अवस्था हो ध्यान ।

ओशोले विस्तारमा महावीर, कृष्ण, बुद्ध, लाओत्से, कबीर, मीरा हसन, बाइजिद, तन्त्र, सेक्स, ध्यानजस्ता विषयमा सम्प्रेषणीय भाषामा आफ्नो कुरा राखेका छन् । ओशोलाई सुन्नु भनेको एक चुम्बकीय आवरणको बाटोबाट हिँड्नुजस्तै हो । ओशोले ‘मैं मृत्यु सिखाता हूं, नहीं राम बिन ठाव, संभोग से समाधि की ओर, वेदांत, कृष्ण मेरी दृष्टि में, महावीर मेरी दृष्टि में’ जस्ता अद्भुत पुस्तकबाट ध्यानको जगत्मा एक क्रान्ति पैदा गरेका छन् । 

उनले ध्यानमा जति प्रयोग गराए, ती सबैले हामीलाई सबल बनाउँछ । हाम्रो मुर्छित जीवनको परिवर्तनको प्रयोग हो त्यो । एक अशरीरी अनुभव प्राप्त गर्नु ध्यानको एक मात्र संवाद यात्रा हो । उनी भन्ने गर्थे– संवाद दुई प्रकारले हुन्छ, एक शरीरी अर्काे अशरीरी, अशरीरी पनि संवाद हुन्छ । अशरीरी संवादमा उनी बडो जोड दिन्थे ।

ओशोले जुन कुरालाई धेरै जोड दिएका थिए, जसमध्ये एक हो– साक्षी भाव । यो भावमा कबीरले पनि धेरै कुरा भनेका छन् । तर, ओशोले मनुष्यलाई हेर्ने एक चस्मा दिए, जसबाट मनुष्य जाति शरीरको तलभन्दा कसरी माथि उठ्न सक्छ भनेर बोध गराउँछ ।

यसलाई उनले ऊध्र्वगामी चेतना भने । यसैले ओशो निर्विचार चित्त नै बाँसको पोखरी हुन सक्छ भनेर दोहोर्याइरहन्थे । उनले कुनै गुरुडम चलाएका थिएनन् तर अतीतमा लादिएको शास्त्र, किंवदन्ती, सपना र विचारको दुनियाँबाट सत्यलाई बाहिर ल्याएका थिए ।

ओशोले मनुष्य जगतलाई जानकारी दिए कि आकृतिलाई बचाइरहने चेष्टा नगर, त्यसलाई बचाइरहने त के कुरा, क्षणभर बचाउन पनि मुस्किल हुन्छ । किनकि, आकृतिको जगत् रूप, तरङ्ग, ध्वनि, किरणबाट चौबिसै घन्टा कम्पित रहन्छ । यी सबै लगातार परिवर्तन भइरहन्छन् । यसलाई हेर्नका लागि केवल भाव चाहिन्छ–साक्षी भाव । जसरी भगवान कृष्णले ‘जो प्रकट हुन्छ त्यो तिमी होइनौ, जो अप्रकट रहन्छ, त्यही तिमी हौ’ भनेका छन्, यही अप्रकट नै साक्षी भाव हो ।

ओशोले दुनियाँलाई सेक्सको शिक्षा दिइरहेका भनेर पनि गलत बुझ्न थालिएको थियो । जब कि यो हुँदै होइन । ‘मिस्टिक रोज’ र बाँकी केही प्रयोग सिर्फ विदेशीलाई थियो । यसको कारण थियो– पश्चिमाहरू शरीरबाट अघाएर ऊध्र्वगति गर्न तयार थिए । यसैले उनले आंगिक अभिव्यक्तिमा जस्तो नृत्यमा जोड दिए । 

असत्यलाई हामी सजिलै विश्वास गर्छाैं, तर सत्यलाई सजिलै हामी विश्वास गर्न सक्दैनौ । मानव जातिको योभन्दा ठुलो विडम्बना अरु के हुन सक्छ र ? किनकि सत्य अध्ययनको विषय हो ।  उनको कम्युनको अवधारणालाई धेरै मानिसले गलत माने र भने कि यदि कम्युन सफल भयो भने राष्ट्रको अवधारणा पनि प्रभावित हुन्छ । अनि राष्ट्र कसरी जोडिन सक्छ ? उनीहरूको तर्क यो पनि थियो कि राष्ट्र जोडिइरहनका लागि विलिङनेस हुनु आवश्यक छ । तर, ओशो एक अलग दुनियाँ बसाइरहेका थिए । यस्तो दुनियाँ, जसमा केवल प्रेम होस्, अस्तित्व होस् र स्मृति केवल शब्दमा न होस् । 

ओशोका शिक्षाहरू मनोवैज्ञानिक र आध्यात्मिक अनुभवको गहिरो दृष्टिकोण हो । आज उनको महापरिनिर्वाण दिनमा चाहे हामी ओशो अनुयायी हौँ या नहोऊँ उनले छरेको सुगन्ध, प्रेम र ध्यानलाई नबिर्साैंं । जहाँ प्रेम छ, त्यहाँ ध्यान हुन्छ अनि जहाँ ध्यान हुन्छ त्यहाँ प्रेम अवश्य मौलाउँछ । संसार हेर्ने हाम्रो दृष्टिकोण आफसे आफ मधुर लाग्नेछ । जीवन सुमधुर हुनेछ । अतः जीवनको सुमधुर गीत हुन् ओशो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप