तीन ब्याट्सम्यानले अर्धशतक बनाएपछि एपीएफमाथि मधेस प्रदेशको रोमाञ्चक जित
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा मधेस प्रदेशले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
जारी प्रतियोगितामा चौथो खेल खेलेको मधेस प्रदेशको यो दोस्रो जित हो । यसअघि दुई खेलमा मधेस प्रदेश पराजित भएको थियो । हालसम्म तीन खेल खेलेको एपीएफ क्लबको भने यो पहिलो हार हो । एपीएफ क्लब यसअघि दुई खेलमा विजयी भएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रन बनाएको थियो । ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले ४८ ओभरमा केवल पाँच विकेट गुमाएर जित हासिल गरेको थियो ।
मधेस प्रदेशका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए । चौथो नम्बरका ब्याट्सम्यान पवन सर्राफले टोलीका लागि ६४ रनको योगदान गरे । उनले केवल ६६ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका निरज यादवले पनि टोलीका लागि ५२ रनको महत्त्वपूर्ण योगदान गरेका थिए । लामो समय क्रिजमा सँघर्ष गरेका उनले ७० बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए ।
यसैगरी छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले पनि टोलीका लागि अविजित ७२ रनको योगदान गरे । उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ७२ बलमा तीन छक्का र चार चौका पनि प्रहार गरेका थिए । अभिषेक तिवारी १३ रनमा अविजित रहे ।
मधेस प्रदेशका लागि ओपनर अनिल शाहले पनि २९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अनिलले ५० बलमा दुई चौका पनि हिर्काए । अर्का ओपनर मयान यादव भने दुई रनमा आउट भएका थिए । कप्तान हरिशंकर शाह आठ रनमा पेभेलियन फर्किएका थिए । मधेस प्रदेशले अतिरिक्त रुपमा केवल सात रन पाएको थियो । एपीएफ क्लबका बलर रोहित पौडेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए । मौसम ढकालले पनि एक विकेट हात पारे ।
त्यसअघि माथिल्लो क्रमका दुई ब्याट्सम्यानले आकर्षक अर्धशतकीय पाली खेलेपछि एपीएफ क्लबले ठूलो योगफल तयार पारेको थियो । टोलीको खाता खुल्नुअघि नै पहिलो विकेट गुमाएको एपीएफ क्लबका लागि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बरका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतकीय पाली खेलेका थिए ।
यी दुई ब्याट्सम्यानले टोलीका लागि एक सय ३२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ५९ रन बनाए । यसक्रममा उनले ६९ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काएका थिए ।
कप्तानसमेत रहेका रोहित पौडेलले पनि टोलीको खातामा ५८ रन थपेका थिए । उनले ७४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान प्रज्ज्वल शाही भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
तल्लोक्रमका ब्याट्सम्यान अमर रौतेलाले भने केवल एक रनका कारण अर्धशतक बनाउनबाट चुकेका थिए । उनले टोलीको खातामा अविजित ४९ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५७ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए ।
सुमित महर्जन नौ रनमा आउट भए भने सन्दीप जोराले टोलीको खातामा २० रन थपे । उनले २२ बलमा एक छक्का र एक चौका पनि हिर्काए । लोकेश बम भने ६ रन बनाउँदै आउट भएका थिए । अविनाष बोहरा आठ रनमा अविजित रहे ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो । मधेस प्रदेशका बलर प्रदीप पासवान र रुपेश सिंहले तीन–तीन विकेट लिए । रंजित कुमारले पनि दुई विकेट हात पारे । अरनिको यादवले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले