आर्मीले कोशी प्रदेशलाई ९.५ ओभरमै नौ विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको आर्मी क्लबको यो दोस्रो जित हो । एक खेलमा भने आर्मी क्लब पराजित भएको थियो । कोशी प्रदेशको भने यो लगातार चौथो हार हो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले २४.४ ओभरमै अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । झिनो विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने ९.५ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै सजिलो जित हासिल ग¥यो ।
आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान ईमरान शेख र सन्तोष कार्कीले ६९ रनको साझेदारी गरे । सन्तोषले अविजित ३२ रनको योगदान गरे । उनले २७ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काए । ईमरान शेखले पनि ३२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीका लागि अविजित २२ रनको योगदान गरे । उनले केवल सात बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए । आर्मीले अतिरिक्त रूपमा पनि ६ रन पाएको थियो । कोशी प्रदेशका बलर सुजन थपलियाले एक विकेट लिए ।
त्यसअघि कोशी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अंकित सुवेदीले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेका थिए । टोलीको कप्तानसमेत रहेका अंकितले ४१ रन बनाए । उनले केवल ३७ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए ।
कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रारम्भदेखि नै निरीह देखिएका कोशीका ब्याट्सम्यानहरू क्रिज समाल्न आउने र लगत्तै पेभेलियन फर्किनेक्रम जारी रह्यो । कोशीका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
कोशी प्रदेशले अतिरिक्त रूपमा १९ रन पाएको थियो । अंकितवाहेक कोशी प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । ओपनर फिरदोष अन्सारी चार रनमै आउट भए । समिर कार्की पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।
सुजन थपलिया आठ रन बनाउँदै आउट भए भने सुभन गहतराज पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सोनु अन्सारी, कमल खत्री, अभ्यास तिमिसिना, सुजन घिमिरे र हेमन्त राईले खाता खोल्न सकेनन् । सोनु मण्डल भने चार रनको आउट भए ।
आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिएका थिए । उनले ६.४ ओभरमा तीन मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । सोमपाल कामी र बिवेक यादवले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने