मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
शिक्षा

कृषि विश्वविद्यालय धेरै, विद्यार्थी कम

बिहीबार, ०४ माघ २०८०, ०७ : ३०
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । नेपालमा विश्वविद्यालयको सङ्ख्या बढेपनि स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने घट्दो छ । अन्य विषयमा जस्तै कृषि विषय पढाइ हुने क्याम्पसहरूमा कोटा अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन् । 

देशभर ७ वटा विश्वविद्यालयमा कृषि अध्ययन गराइन्छ । ती कलेजबाट १ हजार ९ सय ७५ जनाका लागि वार्षिक कृषि विषय अध्ययन गर्न पाउने कोटा निर्धारण गरी कक्षा सञ्चालन भइरहेका छन् । कृषि तथा पशु अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयअन्तर्गत पछिल्लो समय करिब ४० प्रतिशत र पूर्वाञ्चल विश्वविद्यालयमा करिब ३० प्रतिशत कोटा खाली रहेका छन् । 

यसरी विद्यार्थी भर्ना हुन नसक्नुमा विश्वविद्यालयको सङ्ख्या धेरै हुनु, प्लस टुपछि विद्यार्थी विदेश पलायन हुनु लगायत कारण रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु अध्ययन संस्थानका डिन भार्गव धितालले बताए । ‘देशभर धेरै विश्वविद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको कोटा पुग्न नसकेको हो,’ उनले रातोपाटीलाई भने ‘सरकारले भइरहेका कलेजलाई राम्रो बनाउन तर्फ ध्यान दिनुपर्ने हो, तर जथाभाबी विश्वविद्यालय सञ्चालनको अनुमति दिएको छ ।’

यता कृषिमा पुरानै शैलीको पढाइ हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण घटेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बताए । ‘कृषि पढ्ने बेलामा कोदालो नै खन्नुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘कृषिको पढाउने शैली परिवर्तन नगरेसम्म विद्यार्थी कृषि पढ्दैनन् ।’

देशभर विश्वविद्यालय बढाउँदा सोही अनुसार विद्यार्थी बढ्नुपर्ने हो । तर त्यो हुन सकेको छैन । यसो हुनुमा मुख्य कारण वैदेशिक रोजगारी र ठाउँ–ठाउँमा कृषिको विश्वविद्यालय सञ्चालन हुनु रहेको सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत पर्ने स्कुल अफ एग्रिकल्चरका बाली रोग विज्ञान विभागका उप–प्राध्यापक आशिष घिमिरेले बताए ।  ‘परिवारमै कोही न कोही विदेश जाने लहर नै छ,’ उनले रातोपाटीसँग भने, ‘त्यस्तै आफ्नो पायक पर्ने कलेजमा पढ्न खोज्दा खेरी कुनै–कुनै कलेज खाली भएको अवस्था छ ।’ 

कुन कृषि कलेजमा कति कोटा ?
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत १५ वटा क्याम्पसमा कृषि शिक्षा अध्ययन गराइन्छ । रामपुर क्याम्पसमा १ सय ६५ जना,  ८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा ५४ जना विद्यार्थी कोटा गरि ४ सय ३२ जना र सोही विश्वविद्यालय अन्तर्गत आङ्गिक ६ क्याम्पसमा ५० जनाको कोटा गरि ३ सय जना गरी ८ सय ९७ जना अध्ययन गर्न पाउने व्यवस्था छ । 

काठमाडौँ विश्वविद्यालयको १ क्याम्पसमा ४० जना विद्यार्थी भर्ना भएका छन् । उता मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक क्याम्पसमा ४८ जनाले कृषि अध्ययन गरिरहेका छन् । तर निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना हुने समस्या ती क्याम्पसले झेलिरहेका छन् । मुलुकभर ७ वटा विश्वविद्यालयमा कृषि शिक्षा पढाइ हुन्छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु अध्ययन संस्थानअन्तर्गत ८ क्याम्पसमा ५० जनाको कोटा गरी वार्षिक ४ सय र एक क्याम्पसमा ४८ जना गरि वार्षिक ४ सय ४८ जनाले कृषि विषय पढ्न पाउँछन् । 

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कक्षाहरूमा ३ सय ८४ जना कृषि अध्ययन गरिरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत एक क्याम्पसमा वार्षिक १ सय १० जनालाई कृषि अध्ययन गराइन्छ । हालै सञ्चालनमा आएको मधेस कृषि विश्वविद्यालयको १ क्याम्पसमा ४८ जनालाई अध्ययन गराइन्छ । 

काठमाडौँ विश्वविद्यालयको १ क्याम्पसमा ४० जना विद्यार्थी भर्ना भएका छन् । उता मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक क्याम्पसमा ४८ जनाले कृषि अध्ययन गरिरहेका छन् । तर निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना हुने समस्या ती क्याम्पसले झेलिरहेका छन् । मुलुकभर ७ वटा विश्वविद्यालयमा कृषि शिक्षा पढाइ हुन्छ ।

कृषि शिक्षालाई नयाँ प्रविधिमा जोड्न सुझाव 
कृषि शिक्षालाई प्रविधिमैत्री, व्यवहारिक बनाउन सके यसप्रति विद्यार्थीको मोह बढ्ने विज्ञले सुझाएका छन् । कृषि पढाउँदा नयाँ प्रविधिमा जोड्न सके मात्र यसको अध्ययनमा विद्यार्थीलाई आकर्षित गराउन सकिने विद्यानाथ कोइरालाले सुझाए । नयाँ प्रविधिसँग जोडेर कृषिको पढाइलाई व्यवहारिक समेत बनाउनु पर्ने उनले सुनाए । स्थानीय परिवेश, संस्कृतिलाई नमासी प्रविधिसँग कृषि शिक्षालाई जोड्नु पर्नेमा जोड दिनुपर्ने बताए । 

कृषि विश्वविद्यालय थप्नुभन्दा नेपालमा कति कृषिका दक्ष जनशक्ति आवश्यक पर्ने विषयमा सरकारले अध्ययन गर्नुपर्ने भार्गव धितालले सुझाए । ‘कृषि क्षेत्रमा कति सङ्ख्या आवश्यक छ, सो अध्ययन गरी सरकारले कृषि पढाई हुने विश्वविद्यालय सञ्चालन गर्ने अनुमति दिनुपर्छ, हचुवाको भरमा होइन,’ उनले भने ।

‘कृषि शिक्षाले सम्भावना बोकेको छ’
कृषि शिक्षाले अझै सम्भावना बोकेको उप–प्राध्यापक घिमिरेको भनाई छ । बालीमा नयाँ–नयाँ रोग, किरा, बीउ, प्रविधिहरू आइरहेकाले कृषि शिक्षाको जरुरी रहेकाले झनै सम्भावना बढेको उनले बताए ।  

‘केरामा लाग्ने टीआर फोर नयाँ प्रजातिको रोग छिर्यो, बालीमा लाग्ने यस्ता खालका नयाँ–नयाँ रोग र किराहरूको प्रकोप बढ्दै छ,’ उनले भने, ‘त्यस्ता विषयको अध्ययन अनुसन्धान गर्नका लागि कृषि शिक्षा जरुरी छ ।’ 

नेपालमा वि.सं. २०३२ मा जेटीए स्तरका कृषि प्राविधिक तयार गर्ने उद्देश्यले ६४ जना विद्यार्थीका लागि लमजुङको सुन्दर बजारमा क्याम्पस स्थापना भएको थियो  । यो कुरा टीका भट्टराई, कृष्णप्रसाद पौडेल र सारदा थापाद्वारा लेखिएको नेपालमा कृषि शिक्षा पुस्तकमा उल्लेख छ । त्यहीँबाट नेपालमा कृषिको औपचारिक शिक्षा प्रारम्भ भएको मानिन्छ । 

नेपाल संघीयता लागू भएसँँगै आवश्यकता अनुसार कृषिका विज्ञहरूलाई देशैभर खटाइने हो भने कृषिको दक्ष जनशक्ति अपुग हुने उनले उल्लेख गरे । ‘स्थानीय तहमा कृषि विज्ञ, कृषि अधिकृत, पशु अधिकृत खटाउने भनिएको छ,’ उनले भने, ‘सो अनुसार विज्ञ खटाइको छैन । कृषि अनुसन्धान परिषद् नार्कमा धेरै पद रिक्त छन् । यदि यो सबै व्यवस्थित गरियो भने कृषिमा जनशक्ति कमै होला मेरो विचारमा ।’  

आधुनिक शिक्षासँग जोडिएका थुप्रै नयाँ विषय अध्ययन गर्ने विद्यार्थीमध्ये केहीको रोजाइमा कृषि शिक्षा पनि पर्छ । ‘विकसित मुलुकमा कृषि शिक्षा पढेकालाई राम्रो अवसर हुनुका साथै लोक सेवा आयोग र विभिन्न कार्यक्रममा राम्रो अवसर छ,’ चितवनस्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी वृक्षा श्रीपाइलीले भनिन्, ‘विश्वभर जनसङ्ख्या बढ्दो छ तर जमिन भने जतिको त्यति नै छ । यसले भविष्यमा खाद्य सङ्कट पर्ने देखिन्छ । सो समयमा थोरै जमिनमा धेरै उत्पादन गर्नुपर्ने हुन्छ । यस्तोमा कृषि शिक्षाको खाँचो हुन्छ ।’

नेपालमा कृषि शिक्षा 
नेपालमा वि.सं. २०३२ मा जेटीए स्तरका कृषि प्राविधिक तयार गर्ने उद्देश्यले ६४ जना विद्यार्थीका लागि लमजुङको सुन्दर बजारमा क्याम्पस स्थापना भएको थियो  । यो कुरा टीका भट्टराई, कृष्णप्रसाद पौडेल र सारदा थापाद्वारा लेखिएको नेपालमा कृषि शिक्षा पुस्तकमा उल्लेख छ । त्यहीँबाट नेपालमा कृषिको औपचारिक शिक्षा प्रारम्भ भएको मानिन्छ । 

त्यसअघि विभिन्न क्षेत्रमा जेटीएका लागि तालिम केन्द्र भने खुलेका थिए ।  २०३५ सालमा रुपन्देहीको पक्लिहवामा कृषिमा दक्ष जनशक्तिका लागि अर्को क्याम्पस पनि स्थापना भएको थियो । बागवानी विकासका लागि २०३९ मा मुस्ताङमा ‘दाना मार्फामा क्याम्पस’ को स्थापना नभएको होइन तर २०४० सालमा सो कार्यक्रम बन्द भयो ।

वि।सं। २०४५ सालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम केन्द्र स्थापना भएको थियो । २०५० सालबाट नेपालमा पशु स्वास्थ्यको चार वर्षे स्नातक अध्यापन सुरु भएको थियो । हाल आएर देशभर ७ वटा विश्वविद्यालयमा १ हजार ९ सय ७५ जनाका लागि वार्षिक कृषि विषय अध्ययन गर्न पाउने कोटा निर्धारण गरी कक्षा सञ्चालन भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप