स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताए । उनका अनुसार बहिरङ्ग सेवा रु ५० र इमर्जेन्सी सेवाबापतको शुल्क रु एक सय कायम गर्ने निर्णय गरिएको छ । बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उनले बताए ।
यसअघि बहिरङ्ग सेवा शुल्क रु सय र इमर्जेन्सी सेवा शुल्क रु चार सय रहेको थियो । यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी कँडेलले नियमितरुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताए ।
पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरेपछि रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।
यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ । यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई/दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु