एनएसजेएफ स्पोर्टस अवार्ड : पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन बुधबार सार्वजनिक गरेको छ । मञ्चले पिपल्स च्वाइस अवार्डका लागि पाँचजनाको नाम सार्वजनिक गरेको हो ।
आगामी माघ २८ गते हुने २०औँ संस्करणको अवार्डका लागि फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
यसअघि माघ १२ गते हुने भनिएको अवार्ड प्राविधिक कारणले केही दिन पछाडि सारिएको मञ्चले जनाएको छ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ ।
फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको ‘डेब्यू’ सिजनमै च्याम्पियन बनाएका थिए । उनले यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई पनि उपाधि दिलाएका थिए ।
कराँतेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा दुई बाउट जित्न सफल भएका थिए ।
काभा महिला भलिबल च्यालेन्ज कपकी कांस्य पदक विजेता निरुता भने केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौल समूहकी स्वर्ण पदक विजेता हुन् ।
यसैगरी शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।
यस विधाको विजेताको चयन ईसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट प्राप्त मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहेको मञ्चले जनाएको छ ।
भोटिङ अवार्ड कार्यक्रम आयोजना हुनुभन्दा अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि ई–सेवासँग बुधबार नै मञ्चले सम्झौता पनि गरेको छ । ई–सेवाका तर्पmबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचैजना खेलाडीलाई ईसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले ईसेवासँग लगातार चौथो वर्ष सहकार्य गरेको हो ।
मञ्चका अध्यक्ष सुबेदीले ईसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधाको मनोनयन पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।
अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य सहप्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेको मञ्चले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी