काठमाडौँ । रैथाने बाली वा स्वदेशी बालीबाट बनेका विभिन्न परिकार सरकारी कार्यालयमा पाउन थालेका छन् । स्वदेशी उत्पादन रैथाने बालीको परिकार स्वास्थ्यकर हुने भएकाले ती परिकार सरकारी कार्यालयमा राखिएको हो ।
सिंहदरबार भित्र र ललितपुरस्थितको उच्च अदालतको चमेना गृहमा फापरको रोटी, कोदोको रोटी, मकैको पुवा, कोदोको सुप, गुन्द्रुक आचार, सिस्नोको तरकारी, उसिनेको गहुँ फ्राई गरेर बनाएको परिकार, बारा, ढिँडो, मही, काँचो मकै, पानी रोटी, ठेट्ना मकैलगायत अर्ग्यानिक लोकल खाजा पाइन्छ ।
सिंहदरबारस्थित प्रशासकीय अदालत भवनको चमेना गृहमा दैनिक ४ केजीको फापरको रोटी बिक्री हुने गरेको चमेना गृहमा कार्यरत दीपा सापकोटाले बताइन् । ‘पहिला फापरको रोटी दैनिक ५ देखि ६ किलो बिक्री हुन्थ्यो,’ सापकोटाले भनिन्, ‘मान्छे कम भएकाले आजभोलि दैनिक ४ किलो बिक्री हुन्छ ।’
उनले फापरको रोटी सदाबहार नै माग हुने गरेको सुनाइन् । मकै, बाराजस्ता नेपाली खाने परिकार पनि खाजामा राखिएको रातोपाटीलाई बताइन् । उनले विगत एक वर्षदेखि फापर, मकै लगायतको परिकार पस्किँदै आएकी छन् ।
सिंहदरबारमै रहेको नेपाली कांग्रेसको संसदीय समितिको चमेना गृहमा पनि फापर र कोदोको रोटी, मकैको पुवा, कोदोको सुप, गुन्द्रुकको आचार, सिस्नोको तरकारी, उसिनेको गहुँ फ्राई गरेर बनाएको परिकार, बारा, ढिँडो, मही, मकै, पानी रोटी, ठेट्ना मकैलगायत परिकारहरू खाजा पाइन्छ । चमेना गृहका सञ्चालन राजाराम श्रेष्ठले विगत ५ वर्षदेखि नेपाली मौलिक खानाको परिकार खाजाको रूपमा खुवाउँदै आएको रातोपाटीलाई सुनाए । ‘यहाँ नेपाली मौलिक खानाको खाजा सेट पाइन्छ,’ उनले भने, ‘मैदाको प्रयोग गर्दैन, फापर र कोदोको पिठो प्रयोग गर्छु ।’
उनले दैनिक के–कति मात्रमा बिक्री हुन्छ यकिन तथ्याङ्क नराखे पनि फापर, कोदोको रोटीको माग बढिरहेको बताए । ‘गहुँ उसिनेर फ्राई गरेर पकाउने गरेको गहुँ फ्राई कसैले बनाउँदैन,’ उनले भने, ‘मैले आफ्नै रेसिपीबाट गहुँको परिकार पकाउँछु ।’
श्रेष्ठले आफ्नो पुर्खौली पेसा करिब एक वर्ष यताबाट निरन्तरता दिएका छन् । ‘पहिला आमाले चलाउनु भएको हो, अहिले मैले चलाउँदै छु,’ उनले थपे, ‘आमाले चलाउँदादेखि नै केही मकैको परिकार राखिन्थ्यो । एक वर्षयता मैले नेपाली मौलिक परिकार खाजा मात्रै राख्ने गरेको छु ।’
उनले रैथाने बालीबाट बन्ने परिकार र अर्ग्यानिक परिकार राख्न थालेपछि चमेना गृहमा खाजा खाना आउने ग्राहक बढेको सुनाए । ‘स्वास्थ्यकर खाजा खुवाउन सुरु गरेदेखि खाजा खाने ग्राहक पनि बढेका छन्, ’ उनले भने, ‘मन्त्रालयहरूमा बाहिर मुलुकबाट आउने पाहुनाका लागि यहीँबाट खाजा खुवाइन्छ ।’ श्रेष्ठले आफ्नो परिवारसहित थप तीन जना कामदार राखेर सो चमेना गृह सञ्चालन गर्दै आएका छन् ।
ललितपुरस्थितको उच्च अदालतको चमेना गृहमा पनि नेपालीपन भएका खाजाहरू पाइन्छन् । रैथाने परिकारमा बढी मात्रमा माग हुने सिमी, काभ्रे बोडी, आलु, तामाको तरकारी रहेको चमेना गृहकी सञ्चालक अप्सरा सापकोटाले बताइन् । उनले दैनिक ५ किलो फापरको रोटी बिक्री हुने गरेको रातोपाटीलाई सुनाइन् ।
परिकार पस्कन सामाग्री पाउन धौधौ
नेपालीपन बोकेका खाजाको परिकार बनाउने सामाग्री पाउन सकस हुने सरकारी कार्यालयमा चमेना गृह सञ्चालन गर्नेहरूले बताएका छन् । बजारमा मकै, कोदो, फापर जस्ता सामाग्री एकै ठाउँमा पाउन मुस्किल हुने श्रेष्ठले सुनाए । ‘मेलै बनाउने परिकारको सामाग्री एकै ठाउँमा पाइँदैन,’ उनी भन्छन्, ‘तीनदेखि चार ठाउँमा गएपछि मात्रै सामाग्री भेटिन्छन् ।’
उनका अनुसार सिजनबाहेक सामाग्री पाउन धौधौ नै हुन्छ । पाइहाले पनि महँगो मूल्य तिर्नु पर्ने हुन्छ । ‘सिजनबाहेकका सामाग्री बजारमा पाउँदैन,’ उनी भन्छन्, ‘सामान नभएमा त्यो सामाग्रीको विकल्पमा अर्को परिकार के बनाउने भनेर समाधान खोज्छु ।’
किसानको खेतबारीबाट सामाग्री खरिद गर्दा बढी मूल्य पर्ने भएकाले बजारबाट नै खाजा बनाउने सामान खरिद गर्ने श्रेष्ठले सुनाए । ‘किसानसम्म हाम्रो पहुँच छैन,’ उनले भने, ‘किसानबाटै खरिद गर्ने हो भने ढुवानी खर्च बढी पर्न जान्छ, त्यसकारणले बजारबाटै खरिद गर्छु ।’
खाजा बनाउने खाद्य सामाग्री बजारबाटै खरिद गरी चमेना गृह चलाएको उच्च अदालत चमेना गृहकी सापकोटाले सुनाइन् । ‘जहाँबाट पायो त्यहाँ किन्दा म्याद सकिएको सामाग्री पर्यो भने गाह्रो हुन्छ ।’ उनले भनिन् ।
रैथाने बालीबाट बनेको खाजाका परिकार ती चमेना गृहमा ५० रुपैयाँदेखि १ सय ५० रुपैयाँ पर्ने उनीहरूले बताएका छन् ।
तस्बिर : कृष्ण खड्का
प्रतिक्रिया