बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

सन्न्यासपछि सडकमा पुगेका यी चर्चित क्रिकेटर

बुधबार, ०३ माघ २०८०, ०९ : ५०
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । क्रिकेटका भगवान् मानिने सचिन तेन्दुल्कर फरारी कार उपहार पाउने विश्वकै पहिलो क्रिकेटर हुन् । महेन्द्रसिंह धोनी मोटरसाइकल पारखी हुन् । यी भारतीय क्रिकेटरले निकै महँगा मोटरसाइकलहरू सङ्कलन गरेका छन् । 

यसैगरी अर्का भारतीय क्रिकेटर विराट कोहली विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडीमध्येका एक हुन् । वेस्ट इन्डिजका पूर्वक्रिकेटर क्रिस गेल निकै महँगो र विशाल बङ्गलाका मालिक हुन् । यी क्यारेबियन क्रिकेटरको बङ्गला कुनै पाँच तारे होटलभन्दा कम छैन । 

पछिल्लो समय क्रिकेट अर्थतन्त्र निकै फराकिलो बन्दै गएको छ । क्रिकेटरहरू विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचिमा दरिन थालेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), अस्ट्रेलियाको बिग बास लिगजस्ता चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका कारण पनि पछिल्लो समय क्रिकेट अर्थतन्त्रले आफ्नो पखेटा फैलाउने अवसर पाएको हो । 

क्रिकेट खेलको लोकप्रियता बढेसँगै क्रिकेटरहरू विभिन्न व्यावसायिक उत्पादनको विज्ञापनमा देखिने क्रम पनि बढेको छ । क्रिकेट खेलाडीका लागि यो पनि कमाइको गतिलो माध्यम बन्न पुगेको छ । केही समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अधिकांश खेलाडीको आर्थिक अवस्था निकै सुदृढ भएको पाइन्छ ।

तर, विश्व क्रिकेटमा केही यस्ता खेलाडी छन्, जो सक्रिय खेल जीवनबाट बिदा लिएपछि आर्थिक रूपमा धराशायी बन्न पुगे । यी खेलाडीले सक्रिय खेल जीवनमा उत्कृष्ट प्रदर्शन गर्दै करोडौँ समर्थकको मन जितेका थिए । लामो समय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा गतिलै आर्थिक आर्जन पनि गरेका थिए ।

तर, सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि भने अप्रत्याशित रूपमा उनीहरूको आर्थिक अवस्था निकै दयनीय बन्न पुग्यो । यस्तो अवस्था सृजना हुनुको पछाडि यी खेलाडीको जीवन शैली पनि प्रमुख कारणको रूपमा रहेको छ । यहाँ यस्तै केही क्रिकेटरको बारेमा चर्चा गर्न खोजिएको छ, जो सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि आर्थिक रूपमा विपन्न बन्न पुगे । 

  • अरसद खान (पाकिस्तान) 

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन्, अरसद खान । उनी आफ्नो समयका प्रभावशाली बलर थिए । उनले फाल्ने विशेष शैलीको अफ–स्पिन बलिङको जादुमा विश्व क्रिकेटका महारथी ब्याट्सम्यानहरू पनि अल्झिने गरेका थिए ।  

अरसद खानले पाकिस्तानका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले सन् १९९७ को नोभेम्बरमा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् २००५ को मार्चमा भारतविरुद्ध खेलेका थिए । 

यसैगरी उनले सन् १९९३ को फेब्रुअरीमा जिम्बाबेविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो खेलजीवनको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भने सन् २००६ को फेब्रुअरीमा भारतविरुद्ध खेलेका थिए ।     

arshand-khan

यसबिचमा उनले पाकिस्तानका लागि नौ टेस्ट खेल्दै ३२ विकेट लिएका थिए । उनले टेस्ट क्रिकेटको एकै पालीमा ३८ रन खर्चिएर पाँच विकेट पनि लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले कुल ५८ खेल खेल्दै ५६ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर चार विकेट हो । 

यसका अतिरिक्त उनले पहिलो श्रेणीको क्रिकेटमा एक सय ८७ खेल खेल्दै ६ सय एक विकेट, ‘लिस्ट ए’ क्रिकेटमा एक सय ६४ खेल खेल्दै एक सय ८९ विकेट र टी–२० क्रिकेटमा नौ खेल खेल्दै सात विकेट पनि लिएका थिए । उनले लोहौर बादशाहबाट केही समय इन्डियन क्रिकेट लिग पनि खेलेका थिए । 

सक्रिय खेल जीवनमा उनको आर्थिक अवस्था पनि राम्रो थियो । तर, सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि भने उनको आर्थिक अवस्था कमजोर हुन पुग्यो । त्यसपछि उनी पाकिस्तान छाडेर अस्ट्रेलिया पुगेका थिए । हाल उमेरले ५३ वर्ष प्रवेशको सङ्घारमा रहेका यी पूर्वक्रिकेटर कमजोर आर्थिक अवस्थाका कारण हाल अस्ट्रेलियाको सिड्नीमा उबर चलाउँछन् ।

  • एडम होलियोक (इङ्ल्यान्ड)

आफ्नो समयका चर्चित क्रिकेटर हुन्, एडम होलियोक । अस्ट्रेलियामा जन्मिएका होलियोकले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट करिब तीन वर्ष क्रिकेट खेलेका थिए । होलियोक आफ्नो समयका प्रभावशाली अलराउन्डर थिए । उनी केही समय एकदिवसीय टोलीको कप्तान पनि बनेका थिए ।  

उनले सन् १९९७ को अगस्तमा आफ्नो जन्मभूमि अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् १९९८ को फेब्रुअरीमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । होलियोकले सन् १९९६ को अगस्तमा पाकिस्तानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् १९९९ को मेमा भारतविरुद्ध खेलेका थिए ।

यसबिचमा उनले इङ्ल्यान्डका लागि चार टेस्ट खेल्दै ६५ रन बनाएका थिए । उनले देशका लागि ३५ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ६ सय ६ रन बनाएका थिए । मध्यम तेजगतिका बलरसमेत रहेका होलियोकले टेस्टमा दुई र एकदिवसीयमा ३२ विकेट पनि लिएका थिए ।

adam holioke

यसका अतिरिक्त उनले पहिलो श्रेणीको क्रिकेटमा एक सय ७३ खेल खेल्दै कुल नौ हजार तीन सय ७६ रन बनाएका थिए । ‘लिस्ट ए’ क्रिकेटमा पनि उनले दुई सय ८४ खेल खेल्दै कुल पाँच हजार नौ सय ८४ रन जोडेका थिए । 

टी–२० क्रिकेटमा पनि उनले २२ खेल खेल्दै कुल तीन सय ६ रन बनाएका थिए । होलियोकले पहिलो श्रेणीको क्रिकेटमा एक सय २०, ‘लिस्ट ए’ क्रिकेटमा तीन सय ५२ र टी–२० क्रिकेटमा ४० विकेट पनि लिएका थिए । 

५२ वर्षीय एडम होलियोकका दाजु बेन होलियोक पनि आफ्नो समयका चर्चित क्रिकेटर थिए । बेन होलियोकको सन् २००२ मा सडक दूर्घटनामा परी निधन भएको थियो । एडम होलियोक सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि पुनः अस्ट्रेलिया फर्किएका थिए ।

अस्ट्रेलिया फर्किएर उनी पारिवारिक व्यवसायमा संलग्न भएका थिए । सन् २००८ पछि उनको पारिवारिक व्यवसाय क्रमशः ओरालो लाग्न थालेको थियो । सन् २०११ सम्म आइपुग्दा त आर्थिक सङ्कटका कारण उनको पारिवारिक व्यवसाय पूर्णरुपमा बन्द भएको थियो । 

उनको आर्थिक अवस्था पनि निकै दयनीय बन्न पुग्यो । त्यसपछि आफ्नो समयका यी प्रभावशाली क्रिकेटर परिवार चलाउन मिक्स मार्सल आर्ट (एमएमए) खेलमा लागेका थिए । दयनीय आर्थिक अवस्थाका कारण उनी मानसिक रूपमा पनि कमजोर बन्न पुगेका थिए ।

  • म्याथ्यू सिनक्लियर (न्युजिल्यान्ड)

विश्व क्रिकेटमा रुचि राख्ने अधिकांशका लागि म्याथ्यू सिनक्लियर नौलो नाम होइन । उनले लामो समय न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट क्रिकेट खेलेका थिए । उनी आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । टोलीलाई आवश्यक पर्दा उनी बलिङको भार पनि उठाउँथे । 

म्याथ्यू सिनक्लियरले न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । सन् १९९९ को डिसेम्बरमा वेस्ट इन्डिजविरुद्ध खेल्दै उनले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् २०१० को मार्चमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।

यसैगरी उनले सन् २००० को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने सन् २००९ को जनवरीमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए ।

matthew-sinclair

म्याथ्यू सिनक्लियरले सन् २००५ को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि सन् २००७ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए ।

उनले देशका लागि ३३ टेस्ट खेल्दै कुल एक हजार ६ सय ३५ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय १४ रन हो । टेस्ट क्रिकेटमा उनले तीन शतक र चार अर्धशतक पनि प्रहार गरेका थिए । 

म्याथ्यू सिनक्लियरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५४ खेल खेल्दै कुल एक हजार तीन सय चार रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक र आठ अर्धशतक बनाएका उनको उच्च स्कोर भने अविजित एक सय १८ रन हो ।

यसैगरी उनले देशका लागि दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा पनि एक सय ८८ खेल खेल्दै कुल १३ हजार सात सय १७ रन बनाएका थिए । 

‘लिस्ट ए’ क्रिकेटमा पनि उनले दुई सय २९ खेल खेल्दै कुल ६ हजार पाँच सय १५ रन बनाएका थिए । उनले ६२ वटा टी–२० प्रतियोगिता खेल्दै कुल एक हजार पाँच सय २३ रन बटुलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २४ र ‘लिस्ट ए’ क्रिकेटमा तीन विकेट पनि लिएका थिए । 

आफ्नो पिताको निधन भएपछि म्याथ्यू सिनक्लियर केवल चार वर्षको उमेरमा अस्ट्रेलियाबाट आमासँग न्युजिल्यान्ड पुगेका थिए । उनले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनले लामो समय कुनै काम पाउन सकेनन् । 

लामो समय बेरोजगार भएर बस्नु पर्दा त्यसको असर उनको पारिवारिक जीवनमा पनि परेको थियो । निकै लामो सङ्घर्षपछि ४८ वर्षीय म्याथ्यू सिनक्लियरले नेपियरमा घर–जग्गाको व्यवसाय गर्ने एक कम्पनीमा काम पाएका थिए । त्यही रोजगारी नै अहिले उनको जीवन धान्ने आधार हो ।

  • क्रिस क्रेन्स (न्युजिल्यान्ड) 

न्युजिल्यान्डका पूर्वक्रिकेटर हुन्, क्रिस क्रेन्स । उनी आफ्नो समयका प्रभावशाली अलराउन्डर थिए । उनको ब्याटिङ जति आक्रामक थियो बलिङ पनि उत्तिकै धारिलो । कुनै समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण उनी चर्चाको शिखरमा थिए । 

उनले न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले सन् १९८९ को नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट खेलेका थिए । उनले अन्तिम टेस्ट भने सन् २००४ को जुनमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए ।

यसैगरी उनले सन् १९९१ को फेब्रुअरी १३ मा इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् २००६ को जनवरीमा श्रीलंकाविरुद्ध खेलेका थिए ।

क्रिस क्रेन्सले दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । उनले ६२ टेस्टमा कुल तीन हजार तीन सय २० रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ५८ रन हो । उनले टेस्ट क्रिकेटमा पाँच शतक र २२ अर्धशतक पनि बनाएका थिए । 

chris craines

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई सय १५ खेल खेल्दै कुल चार हजार नौ सय ५० रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले चार शतक र २६ अर्धशतक पनि बनाएका थिए ।

क्रिस क्रेन्सले टेस्टमा दुई सय १८, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक विकेट पनि लिएका थिए । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा दुई सय १७ खेल खेल्दै कुल १० हजार सात सय दुई रन बनाएका थिए । 

उनले ‘लिस्ट ए’ क्रिकेटमा चार सय २४ खेल खेल्दै कुल १० हजार तीन सय ६७ रन बनाएका थिए । टी–२० मा भने उनले १४ खेल खेल्दै कुल एक सय ७६ रन जोडेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा ६ सय ४७, ‘लिस्ट ए’ क्रिकेटमा चार सय ५५ र टी–२० मा पाँच विकेट पनि लिएका थिए ।

५३ वर्षीय क्रिस क्रेन्सले सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि दुबईमा हिराको व्यवसाय सुरु गरेका थिए । यो व्यवसायबाट उनले मनग्यै आम्दानी पनि गरेका थिए । यसका अतिरिक्त सन् २०१२ मा आईसीएलका पूर्वअध्यक्ष ललित मोदीविरुद्धको एक मुद्दामा सफलता हात पारेपछि पनि उनले गतिलै रकम हात पारेका थिए ।

तर, सन् २०१३ पछि भने उनको अधोगतिको यात्रा प्रारम्भ भयो । उनी खेल मिलेमतो प्रकरणमा मुछिन पुगे । खेल मिलेमतो प्रकरणमा मुछिएपछि उनले निकै लामो समय मुद्दा मामिलामा अल्झिनु पर्‍यो । यसमा उनको निकै ठुलो धनराशि पनि खर्च भयो । उनी क्रमशः आर्थिक रूपमा कमजोर बन्दै गए । 

त्यसले उनको पारिवारिक जीवनमा पनि असर पार्दै लग्यो । गुजारा चलाउन पनि अप्ठ्यारो पर्न थालेपछि बाध्य भएर बस बिसौनी सफा गर्ने काम सुरु गरे । वास्तवमै कुनै समयमा यी प्रभावशाली क्रिकेटरको जीवन आर्थिक सङ्कटका कारण दयनीय अवस्थामा पुगेको थियो ।

  • जनार्दन नवले (भारत)

भारतीय टोलीका पूर्वक्रिकेटर हुन्, जनार्दन नवले । उनले भारतीय टोलीबाट दुईवटा टेस्टमात्र खेलेका थिए । उनी भारतीय टेस्ट टोलीको पहिलो विकेटकिपर पनि हुन् । उनले सन् १९३२ को जुनमा इङ्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलेका थिए ।

यसैगरी उनले सन् १९३३ को डिसेम्बरमा इङ्ल्यान्डविरुद्ध नै अन्तिम टेस्ट पनि खेलेका थिए । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा पनि ६५ खेल खेल्दै कुल एक हजार नौ सय ७६ रन बनाएका थिए । सन् १९७९ को सेप्टेम्बर ७ तारिखमा ७६ वर्षको उमेरमा निधन भएको थियो । 

janardan-navle

सक्रिय खेल जीवनबाट बिदा लिएपछि उनले निकै ठुलो आर्थिक सङ्कटको सामना गर्नु परेको थियो । केही सञ्चारमाध्यमले त निधन हुनुभन्दा अगाडि उनले तत्कालीन बम्बई–पुने राजमार्गमा भिख मागेर जीवन निर्वाह गर्नु परेको समाचार समेत प्रकाशित गरेका थिए ।

आर्थिक सङ्कटकै कारण उनले लामो समय पुनेस्थित एक चिनी मिलमा सुरक्षा गार्डको रूपमा पनि काम गरेका थिए । पक्कै पनि देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने एउटा खेलाडी यस्तो दयनीय अवस्थामा पुग्नु दुःखको विषय हो । 

यसका अतिरिक्त आफ्नो समयमा चर्चित भारतीय क्रिकेटर विनोद काम्बली पनि यतिबेला आर्थिक सङ्कटसँग जुधिरहेका छन् । सचिनसँगै खेलजीवन सुरु गरेका प्रभावशाली ब्याट्सम्यान काम्बली पूर्वखेलाडीका रूपमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डबाट आउने मासिक ३० हजार पेन्सनमा जीवन निर्वाह गरिरहेको समाचारमा जनाइएको छ । 

यसैगरी अस्ट्रेलियाका पूर्वक्रिकेटर टोनी लकले खेल जीवनबाट सन्न्यास लिएपछि आर्थिक समस्या टार्न आफूले पाएका ट्रफीसमेत बेच्नु परेको थियो । खासमा उनीविरुद्ध अदालतमा दुईवटा मुद्दा परेको थियो । त्यही मुद्दा नै उनको आर्थिक सङ्कटको कारण बनेको थियो । 

यसैगरी इङ्ल्यान्डका पूर्वक्रिकेटर जोन ब्रायन स्टेथमले पनि सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि चर्को आर्थिक सङ्कटको सामना गर्नु परेको थियो । इङ्ल्यान्डका लागि उनले ७० टेस्ट खेल्दै दुई सय ५२ विकेट लिएका थिए । उनको सन् २००० को जुन १० मा ६९ वर्षको उमेरमा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप