परराष्ट्र मन्त्रालयद्वारा चार सदस्यीय छानबिन समिति गठन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयले चासो देखाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएभित्र झण्डै तीन महिनायता उत्कर्षमा रहेको विवाद छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
छानबिन समितिको संयोजकमा उपमहान्यायाधीवक्ता गोपाल प्रसाद रिजाल रहेका छन् भने सदस्यमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन् । समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
समिति गठनअघि परराष्ट्र मन्त्री साउदले कानुनी परामर्शका साथै विभिन्न चरणमा एनआरएनए अभियन्ताहरुसँग समेत छलफल गरेका थिए । यसअघि नै पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेसँग छलफल गरेका साउदले सोमबार समिति गठन गर्नुअघि पूर्वअध्यक्ष कुल आचार्यका साथै अभियन्ता डीबी क्षेत्रीलगायतसँग समेत छलफल गरेका थिए । समग्र कानुनी र अन्य प्राविधिक विषयको अध्ययनपछि साउदले रिजालको संयोजकत्वमा समिति गठन गर्दै समस्या र निकासको उपायसमेत पहिल्याउँदै प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । समितिले दिने प्रतिवेदनका आधारमा परराष्ट्रले एनआरएनएबारे थप कदम चाल्ने बताइएको छ ।
समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ । एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले भेरो सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएपछि एनआरएनएको विवाद छताछुल्ल भएको थियो । त्यसपछि शर्मा र श्रेष्ठले केसीलाई अस्वीकारमात्रै गरेनन् उनले शपथ लिएको कार्यसमिति नै अवैध भएको जिकिर गरेका थिए । त्यसपछि सबै प्रक्रिया पुरा गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको असन्तुष्ट पक्षले जिकिर गर्दै आएको छ । ११ औँ महाधिवेशनपछि एकातिर बद्रीले आफूलाई आधिकारिक दाबी गर्ने र कार्यालय समेत कब्जा गर्ने तथा अर्कोतिर आरकेले आफूलाई आधिकारिक दाबी गरेपनि परराष्ट्र मौन बन्दै आएको थियो । दुबै पक्षले आधिकारिकताका लागि निवेदन दिएपनि मौनता साँधेर बसेको परराष्ट्र र मन्त्री साउदले यसबारेमा आफूहरुले प्राप्त फाइल अध्ययन गरिरहेको भन्दै टार्दै आएका थिए ।
यही बिचमा केसी पक्षले आफूलाई आधिकारिक दाबी गर्दै संस्था नवीकरणका लागि मार्गप्रशस्त गरिदिन माग गर्दै अदालत गएको थियो । केही साताअघि अदालतले परराष्ट्रको नाममा कारण देखाउ आदेश दिएको थियो ।
निर्वाचनमा धाँधलीको विषय आएर अक्टोबर १९ मा नाराबाजीको अवस्था सिर्जना भएपछि तत्कालीन अध्यक्षत्रय डा बद्री केसी, रविना थापा र कुल आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया रोकिएको जनाएका थिए । तर, रोकिएको प्रक्रिया फुकुवा नगरी बद्री केसी समूहले आफ्नो टिम विजयी भएको भन्दै शपथ गरेको थियो । त्यसपछि अध्यक्षका अन्य प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ पक्षले पनि शर्माको नेतृत्वमा नयाँ कमिटी गठन गरेका थिए ।
त्यसपछि दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै परराष्ट्रमा निवेदन दिएपछि मन्त्रालयले दुवै पक्षलाई आधिकारिकता दिएको छैन ।
यस विषयमा पूर्वअध्यक्ष कुल आचार्यले परराष्ट्रले गठन गरेको छानबिन समितिले एनआरएनएले निकास पाउने विश्वास व्यक्त गरे । आफूहरु एकताबद्ध एनआएनएको पक्षमा रहेको भन्दै आचार्यले संस्थालाई निकास दिन सबै पक्ष एकठाउँमा अटाउने वातावरण तयार हुनुपर्ने बताए ।
यस्तै एनआरएनएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले छानबिन समितिको रिपोर्टको प्रतिक्षामा आफूहरु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय