प्रधानमन्त्री कप क्रिकेट : सूर्यको उत्कृष्ट बलिङसँगै बागमतीले मधेस प्रदेशलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ८६ रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा बागमती प्रदेशको यो पहिलो जित हो ।
यसअघि खेलिएको दुबै खेलमा बागमती प्रदेश पराजित भएको थियो । बागमती प्रदेशलाई नेपाल पुलिस क्लबले ६८ रन र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ८९ रनले हराएका थिए । तीन खेल खेलेको मधेस प्रदेशको भने यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा कोशी प्रदेशलाई सात विकेटले हराएको मधेस प्रदेश अर्को खेलमा भने त्रिभुवन आर्मी क्लबसँग एक सय २६ रनले पराजित भएको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४९.२ ओभरमा अलआउट हुनुअघि एक सय ९० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने २९ ओभरमा अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो ।
मधेस प्रदेशका लागि पवन सर्राफले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । ओपनर मयान यादवले पनि ३१ रन जोडेका थिए । उनले ४९ बलमा एक छक्का र तीन चौका प्रहार गरे । यसदेखि बाहेक निरज यादवले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनले अविजित १५ रन बनाएका थिए । मधेस प्रदेशले अतिरिक्त रुपमा सात रन पाएको थियो ।
बागमती प्रदेशका बलर सूर्य तामाङ एक्लैले ६ विकेट लिए । उनले नौ ओभरमा तीन मेडन राख्दै केवल १८ रन खर्चिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । प्रतिश जीसी र ईशान पाण्डेले पनि दुई–दुई विकेट हात पारे ।
त्यसअघि बागमती प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रतिश जीसीले अर्धशतकीय पाली खेलेका थिए । नवौँ नम्बरमा क्रिज समाल्न आएका प्रतिशले ५९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ५५ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।
बागमती प्रदेशका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान रविन जोशीले २१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका प्रहार गरे । ओपनर ईशान पाण्डेले १५ रन बनाए ।
अर्का ओपनर आशुतोष घिरैया भने आठ रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । कप्तान रित गौतमले टोलीको खातामा १२ रन थपे । प्रतिक श्रेष्ठ दुई रनमा आउट भए भने अशोक पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
विपिन आचार्यले टोलीको खातामा १३ रन थपे । सूर्य तामाङले सात रन जोडे । रिजन ढकालले ११ रन बनाए । कृजन गुरुङ दुई रनमा अविजित रहे । बागमती प्रदेशले अतिरिक्त रुपमा ३८ रन पायो । प्रतिशवाहेक बागमती प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएको भन्दा यो बढी रन हो ।
मधेस प्रदेशका बलर अरनिको यादब र रुपेश सिंहले दुई–दुई विकेट लिए । पवन सर्राफ, हरिशंकर शाह, रंजित कुमार र राजेश यादवले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत