बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : सुजनले शतक बनाए पनि पुलिससँग हार्‍यो कोशी प्रदेश

मङ्गलबार, ०२ माघ २०८०, १५ : ५१
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा पुलिस क्लबको यो लगातार दोस्रो जित हो ।

आफ्नो पहिलो खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले हराएको थियो । कोशी प्रदेशको भने यो लगातार तेस्रो हार हो । यसअघि खेलिएको खेलमा कोशी प्रदेशलाई मधेस प्रदेशले सात विकेट र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६ विकेटले हराएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले २३.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ६९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

पुलिस क्लबका लागि अर्जुन साउदले अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ६२ रन बनाए । अर्जुनले ६३ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि अविजित ३८ रन बनाए । उनले केवल १७ बलमा दुई छक्का र चार चौका पनि प्रहार गरे । दिलिप नाथले टोलीको खातामा ३१ रन थपे । उनले ३१ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाएका थिए । पुलिस क्लबले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । कोशी प्रदेशका बलर कमल खत्रीले दुई विकेट लिए । सोनु मण्डलले पनि एक विकेट हात पारे । उक्त खेलमा करण केसी प्लेयर अफ दी म्याच घोषित भए ।

त्यसअघि कोशी प्रदेशका लागि सुजन थपलियाले शतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका सुजनले एक सय पाँच रन बनाए । लामो समय क्रिजमा सँघर्ष गरेका सुजनले एक सय २६ बलको सामना गरी आठ छक्का र ६ चौका पनि हिर्काए ।

कोशी प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सुजनका अतिरिक्त ओपनर अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन बनाउन सके । टोलीका कप्तानसमेत रहेका अंकितले ३० बलको सामना गरी १० रन बनाए ।

अर्का ओपनर आशिष भट्टराई भने चार रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । सोनु अन्सारी शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान मिनाष थापा पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । फिरदोष अन्सारी नौ रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी सोनु मण्डल दुई रनमै आउट भए भने समिर कार्कीले खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान अभ्यास तिमिसिनाले टोलीको खातामा २३ रन थपे । उनले ६४ बलमा एक छक्का र एक चौका पनि हिर्काए । कोशी प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो ।

पुलिस क्लबका बलर करण केसीले तीन विकेट लिए । सुनिल धमला र ललित राजवंशीले दुई–दुई विकेट हात पारे । कुशल भुर्तेल, सागर ढकाल र रासिद खानले पनि एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप