बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

प्रतिशको अर्धशतकसँगै बागमतीले मधेस प्रदेशलाई दियो १९१ रनको लक्ष्य

मङ्गलबार, ०२ माघ २०८०, १२ : ४१
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ९१ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४९.२ ओभरमा अलआउट हुनुअघि एक सय ९० रन बनाएको हो ।

बागमती प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रतिश जीसीले अर्धशतकीय पाली खेले । नवौँ नम्बरमा क्रिज समाल्न आएका प्रतिशले ५९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ५५ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।

बागमती प्रदेशका अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान रविन जोशीले २१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका प्रहार गरे । ओपनर ईशान पाण्डेले १५ रन बनाए ।

अर्का ओपनर आशुतोष घिरैया भने आठ रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । कप्तान रित गौतमले टोलीको खातामा १२ रन थपे । प्रतिक श्रेष्ठ दुई रनमा आउट भए भने अशोक पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

विपिन आचार्यले टोलीको खातामा १३ रन थपे । सूर्य तामाङले सात रन जोडे । रिजन ढकालले ११ रन बनाए । कृजन गुरुङ दुई रनमा अविजित रहे । बागमती प्रदेशले अतिरिक्त रुपमा ३८ रन पायो । प्रतिशवाहेक बागमती प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएको भन्दा यो बढी रन हो ।

मधेस प्रदेशका बलर अरनिको यादव र रुपेश सिंहले दुई–दुई विकेट लिए । पवन सर्राफ, हरिशंकर शाह,  रंजित कुमार र राजेश यादबले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप