शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘हामी कर्णालीका नेताले आफ्नो आवश्यकताको बोध केन्द्रलाई कहिल्यै गराउन सकेनौँ’

व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई सरकारमा रहेकाहरूले आधार दिए : यामलाल कँडेल
मङ्गलबार, ०२ माघ २०८०, ०९ : ०७
मङ्गलबार, ०२ माघ २०८०

एमालेभित्र प्रभावशाली नेताको परिचय बनाएका स्थायी कमिटी सदस्य तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल देश संघीय संंरचनामा गएसँगै कर्णाली बनाउनुपर्छ भनेर प्रदेश झरेका थिए । कर्णालीमा ०७४ मा एमाले सबैभन्दा ठुलो दल हुँदा पनि पार्टी केन्द्रको उपेक्षाका कारण उनी मुख्यमन्त्री हुनबाट वञ्चित भए । ०७९ मा पनि एमाले–माओवादीबिच गठबन्धन भई सरकार बन्दा नेतृत्व माओवादीले प्राप्त गर्‍यो । अहिले कांग्रेसको समर्थनमा माओवादीका राजकुमार शर्मा कर्णाली सरकारको नेतृत्वमा छन् । 

शनिबार वीरेन्द्रनगर–४, भैरवस्थान स्थित उनको निवासमा हामी पुग्दा उनी कोदालोले पानी ढलो गर्दै थिए । ०७४ यता कर्णालीको राजनीति र समसामयिक विषयमा केन्द्र्रित रहेर हामीले उनीसँग संवाद गरेका छौँ । प्रस्तुत छ, उनीसँगको संवादको सम्पादित अंश : 

  • यहाँ केन्द्रमै स्थापित भइसकेको नेता, प्रदेश बनाउनुपर्छ भनेर तल झर्नुभयो । ०७४ मा करिब बहुमतको अवस्था हुँदा पनि नेतृत्व गर्न पाउनुभएन, त्यसपछि नेकपा विभाजन हुँदै एमाले विभाजनसम्मको बिउ कर्णालीबाटै रोपियो, दोस्रोपटक फेरि प्रदेशमै बस्नुभयो, तैपनि नेतृत्व गर्न पाउनुभएन । तपाईंकै भाग्य हो कि पार्टी केन्द्रको असहयोग हो ?

यसमा फरक तरिकाले बहस गरौँ । हिजो राजनीतिक मुद्दा प्रमुख हुँदा जहाँ जे नारा लगाए पनि हुन्थ्यो । आज राजनीतिक अभियान एक हदसम्म पूरा भएको छ । अब समृद्धि र विकास प्रमुख काम हो । राजनीति एउटै हुँदाहुँदै पनि हाम्रो भूगोलको अवस्था फरक छ । वागमतीको प्राथमिकता र कर्णालीको फरक छ । त्यस कारण पार्टीहरू यो भिन्नताअनुरूप चलेका छैनन् । 

हिजो राजनीति एउटै हुँदा जहाँ जे नारा लगाए पनि हुन्थ्यो, जो जहाँ आएर काम गरे पनि हुन्थ्यो तर आज विकास र समृद्धिका लागि माग पनि भिन्दाभिन्दै छन् । त्यस अनुसारको नीति बनाउने कुरामा नेपालका राजनीतिक दलमा परिपक्वता देखिएन । अर्को, नेता देशैभरिको हुने ध्यान एउटा निर्वाचन क्षेत्रमा केन्द्रित हुने निर्वाचन प्रणाली भयो । त्यसकारण संविधानपछि कसैको एकल बहुमत आएन । मिलेरै जाने बिडम्वना आयो । 

हिजो जो साथीहरू ‘फ्लोर क्रस’ गरेर जानुभयो, उनीहरूले मसँग माग (मन्त्री) गरिरहेका थिए, मैले हुँदैन भाइ हो भनिदिएको थिएँ । त्यसपछि उहाँहरूले पदलाई नै ठुलो ठान्नुभयो र जानुभयो ।

अहिले पनि मैले पार्टीभित्र बहस गरिरहेकै छु, त्यसो भन्दा लिडरहरूलाई कहिलेकाहीँ लाग्नुपर्ने हो– ए, यसले त यसो भनिरहेको छ । तर कतिपय हाम्रै भित्रकाहरूले फलानाको विरोधीका अर्थमा बुझ्ने, आफू राम्रो बाँकी नराम्रो हुने तरिका भयो । त्यस कारण कतिपय अभ्यास र कतिपय विषयमा कर्णालीको समृद्धि र विकासका लागि दलले नै सरकारको नेतृत्व गर्ने भएका हुनाले सोच्नुपर्ने हो, हाम्रै दलबाट भएन । अरु दल भएका बेला ठुला कुरा गर्ने होइन, आफ्नै दल सरकारमा नभएका बेला पनि यस्ता कुरा उठाउनुपर्छ, हाम्रा नेताहरूमा त्यो देखिएन । मलाई लाग्छ, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको यात्रापछि अब एमालेले बनाउने नीति विगतको भन्दा परिवर्तन हुन्छ ।

  • गत निर्वाचनपछि कर्णालीमा माओवादी–कांग्रेस टेस्टेड भइसके, एकपटक यामलालज्यूलाई हेर्नुपर्छ भन्ने आवाज पनि उठेका थिए तर तपाईंको पार्टी केन्द्रले नै तपाईंलाई नेतृत्वमा सहयोग गर्न चाहेन भन्ने कुरा सुनिन्थ्यो !

त्यस्तो होइन, व्यक्तिका कुराले दलीय व्यवस्थामा अर्थ राख्दैन । प्रदेशमा जे भने पनि निर्णय गर्ने ठाउँमा कसले के कुरा राख्यो, त्यो प्रमुख हो । अहिले (०७९) पनि माओवादीले दावा गर्ने र कतिपय तथ्य–तथ्यांकले पुष्टि हुने प्रदेश यही हो नि ! अहिले पनि भ्रम छ, कर्णाली भनेको माओवादीकै हो भन्ने । त्यस कारण गठबन्धनको राजनीतिमा देश अगाडि बढ्दै गर्दा उत्पन्न कतिपय परिस्थिति हो । अर्को कुरा, हाम्रैमा पनि त्यहाँ नभए के भयो र ? मेरो ठाउँमा चाहियो भन्ने नेतृत्वमा रहेकाहरूको सोचका कारण पनि यो स्थिति उत्पन्न भएको हो । 

यद्यपि पहिलो कार्यकालमा पृथक् सहमति गरेकै हो । त्यतिबेला एमालेभित्र कर्णालीमा रहेको मनोविज्ञानलाई हौसला दिनका निम्ति म त्यसको अगुवा भएका नाताले मैले त्यस्तो गर्नु थियो । कतिपयलाई यसले आफ्ना लागि गर्‍यो भन्ने लाग्यो, कर्णालीका लागि मै निर्णायक थिएँ नि ! 

राजनीतिमा पदका लागि जे पनि गर्नुपर्छ भन्ने मान्यता र सोचमा म सहमत थिइनँ । त्यस्तो सोचेको भए जीवनबहादुर मुख्यमन्त्री नहुन पनि सक्थे, महेन्द्र शाही पनि नहुन सक्थे । हिजो जो साथीहरू ‘फ्लोर क्रस’ गरेर जानुभयो, उनीहरूले मसँग माग (मन्त्री) गरिरहेका थिए, मैले हुँदैन भाइ हो भनिदिएको थिएँ । त्यसपछि उहाँहरूले पदलाई नै ठुलो ठान्नुभयो र जानुभयो । कोही मन्त्री हुनुभयो, कोही बहालवाला हुनुहुन्छ, फेरि चार वर्षपछि के हालत होला, उनीहरूले जान्लान् । राजनीतिमा सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति देखापर्‍यो, त्यसरी पदमा जानुपर्छ भन्ने मलाई लागेन ।

  • ०७४ तिर, सबै दलका नेताहरूले भन्नुहुन्थ्यो— कर्णालीको प्रतिपक्ष गरिबी हो, हामी त्यसका विरुद्धमा लड्छौँ । तर पहिलो दिनदेखि कचिङ्गल सुरु भयो । कर्णालीमै विकृत राजनीतिक गतिविधि भए, संरचना र बजेट भएर मात्र नहुँदो रहेछ, त्यसका लागि सक्षमता पनि चाहिने रहेछ तर कर्णालीका नेताहरूमा त्यो देखिएन नि ? 

हो, त्यो विषय संसद्मा सुनाउने पहिलो मान्छे मै हो, तर नेतृत्वकर्ताले नीति तथा कार्यक्रम त्यो अनुसारको ल्याउनुभएन । आजको समस्या पनि यही हो । अर्को सबैलाई सँगसँगै हिँडाउन पनि सक्नुभएन । जबसम्म तपाईंले यो कुरा गर्नुहुन्न, समस्या साझा हुँदाहुँदै पनि व्यवहार भिन्न हुन्छ । त्यसलाई प्रतिविम्बत गरी नीति तथा बजेट आउनुपथ्र्यो तर ठिक उल्टो तरिकाले काम भए । त्यही बेलाका बहुचर्चित सेटिङका योजना कृषि र पर्यटन मन्त्रालयबाट हाइटेक नर्सरीको नाममा अघि सारिए । ती सेटिङका योजनालाई समर्थन गर्न सकिने कुरा थिएन । त्यसले कर्णालीको गरिबीको समस्या समाधान हुन्छ त ? 

सरकार जनताको अभिभावक हो, जनताको अपेक्षालाई सम्बोधन गर्ने कुरा सरकारमा भर पर्छ । तर, सरकारले कुनै काम गर्न सकेन ।

त्यो मात्र होइन, माओवादीको एकजना प्रतिनिधिसभा सदस्य आएर यहाँ विज्ञ प्रमुख भई मुख्यमन्त्री, प्रमुख सचिवलाई दुईतिर राखी जनसरकार सञ्चालनको तरिका अपनाए । एउटै पार्टी (नेकपा) भए पनि समर्थन गर्न सकिन्नथ्यो । त्यो बेला कांग्रेस रुल्लटुल्लको अवस्थामा थियो । सत्ता पक्षको भनेर सबै कुराको समर्थन गर्न सक्ने कुरा थिएन । यी यावत् कुराले दलभित्र विचार विविधता देखियो, यद्यपि बाहिर चर्चा फरक तरिकाले भयो ।

  • कर्णाली सरकारका काम–कारबाहीलाई कसरी हेरिरहनुभएको छ ?

सरकार जनताको अभिभावक हो, जनताको अपेक्षालाई सम्बोधन गर्ने कुरा सरकारमा भर पर्छ । तर, सरकारले कुनै काम गर्न सकेन । दिनानुदिन नगरी नहुने काम र विगतका सुरु भएका कामबाहेक कुनै नयाँ कुरा देखिएन । प्रदेश सरकार छ, केही हुन्छ भनेर जनताले अपनत्व लिने काम भएन । यो एक वर्ष उपलब्धिका हिसाबले चर्चा गर्ने कुनै ठाउँ छ जस्तो लाग्दैन । वर्ष दिन पूरै खेर गएको निष्कर्ष मेरो छ ।

  • अहिलेका मुख्यमन्त्रीको सत्ता सञ्चालनको पाटो गतिशील नै छ कि के छ ? 

दलीय व्यवस्था छ, व्यक्तिको भूमिका महत्त्वपूर्ण हुनुका साथै विशेष भूमिका पार्टीको रहन्छ । नेपालको राजनीतिमा शान्ति प्रक्रियामा सामेल भएदेखि आजका मितिसम्म माओवादी अविछिन्न सत्तामा छ । प्रतिपक्षसँग मोर्चाबन्दी गर्दागर्दै पनि मन्त्री खाएको विगत छ । 

त्यस कारण यो गठबन्धन प्रदेश बनाउन, देश बनाउन, लोकतन्त्र बचाउन भन्दा पनि आफ्नो अस्तित्व रक्षाका निमित्त देश निर्माण गर्ने जिम्मेवारीबाट एमालेलाई रोक्नका निम्ति बनेको हो । 

सुरुमा (राजकुमार शर्मा मुख्यमन्त्री हुने बेला) कर्णाली सरकार माओवादी र एमाले मिलेर बनेको हो । तर, हामीले नीति के ल्याउने, कर्णालीको विकास कसरी गर्न सकिन्छ भन्ने तहमा छलफल गर्न नपाउँदै समीकरण बदलियो र हामी सरकारबाट बाहिरियौँ ।

कांग्रेसले माओवादीलाई बोक्न नजानुपर्ने हो । वामपन्थी पार्टीहरू मिल्नु स्वाभाविक कुरा हो । भोलि इतिहासले खोतल्ला, उहाँहरूले पनि भन्नुहोला, एमालेले प्रधानमन्त्री बनाउँदाबनाउँदै प्रचण्डजी एमालेलाई छाडेर अर्को गठबन्धनमा सामेल हुनुभयो । यसरी हेर्दा माओवादी सत्ताका निम्ति जे पनि गर्ने पार्टीका रूपमा देखिन्छ । देश बनाउने कुरामा त विचारमा स्थिर हुनुपर्छ, उद्देश्यमा दृढ हुनुपर्छ । प्रचण्डजी जहाँ जानुभयो, त्यहीँ अनुकूल हुने चरित्र विगतदेखि अहिलेसम्म कायमै छ । त्यसकारण माओवादीको नेतृत्वमा विकास निर्माण हुने सम्भावना छैन । 

कर्णालीको हकमा अझ हुने कुरै भएन । हो, सुरुमा (राजकुमार शर्मा मुख्यमन्त्री हुने बेला) कर्णाली सरकार माओवादी र एमाले मिलेर बनेको हो । तर, हामीले नीति के ल्याउने, कर्णालीको विकास कसरी गर्न सकिन्छ भन्ने तहमा छलफल गर्न नपाउँदै समीकरण बदलियो र हामी सरकारबाट बाहिरियौँ । अहिले प्रतिपक्षमा रहेका हामी मात्र होइनौँ, सरकारमा सामेल भएको कांग्रेस समेतले यो सरकारबाट केही हुन्न भनेर अल्टिमेटम दिएको अवस्था छ । सल्लाह, आलोचनाबाट मानेन भनेर विरोध भइरहेको छ । नसच्चिए विकल्प खोज्न सकिने तहसम्मको कुराहरू आएकै छन् ।

स्वयं माओवादी पार्टीका नेता–कार्यकर्ता पनि सन्तुष्ट देखिन्नन् । माओवादी कर्णालीमा विगतदेखि नेतृत्वमा रहिआएको छ तर आफ्नो औचित्य स्थापित गर्न सकेन । सरकार सञ्चालनमा उहाँहरूले ल्याकत, क्षमता, औकात कहीँकतै प्रदर्शन गर्न सक्नुभएन । प्रतिपक्षमा हुँदाहुँदै कर्णालीको विकासमा हामी रचनात्मक तरिकाले प्रस्तुत भई सहयोगको वातावरण बनाउँदा पनि उहाँहरूले योग्यता, क्षमता देखाउन सक्नुभएन । 

  • अहिलेका मुख्यमन्त्रीको सत्ता सञ्चालनमा क्षमता देखिएन भन्न खोज्नुभएको ?

पहिलो कुरा दृष्टिकोणमै अलमल भएको पार्टी हो माओवादी । प्रचण्डजी कहिले चुनावमा हामीलाई भोट हाल, जातका आधारमा प्रदेशको नाम राखिदिन्छौँ भन्नुहुन्छ, सरकारको प्रधानमन्त्री हुनुहुन्छ दुई लाख मान्छे उतार्ने भन्नुहुन्छ, पार्टी अध्यक्षकै हालत त्यस्तो छ भने त्यो पार्टीबाट प्रशिक्षित दीक्षित भएकाहरूको हालत के होला ? 

अर्को, उहाँहरू बनाउने भन्दा बाँड्ने कुरामा केन्द्रित हुनुहुन्छ । कर्णाली सरकारले विगतदेखि नै बजेट बाँड्ने काम गर्‍यो, अहिले पनि त्यही उद्देश्यका साथ ल्याउनुभएको थियो, हामीले संसद्मा छलफलको विषय बनायौँ । माओवादीको दृष्टिकोण नै जहाँ गयो त्यहीँ दृष्टिकोण बनाउने भइरहेको छ । यस हिसाबले हेर्दा माओवादीले विकासको नेतृत्व गर्न सक्दैन, कर्णालीमा त असफल भइसक्यो ।

  • हिजोका दिनमा कर्णालीमा निकै राजनीतिक कचिङ्गल भयो, छुट्टै प्रदेश पाउँदा पनि दलहरूले आफ्नो औचित्य स्थापित गर्न सकेनन्, दलहरू कहाँ चुके ? 

कर्णाली सबै हिसाबले पछि परेको प्रदेश हो । हामी कर्णालीका नेताले आफ्नो आवश्यकताको बोध केन्द्रलाई कहिल्यै गराउन सकेनौँ र आज पनि सकिएको छैन । 

केन्द्रलाई बोध गराउने अगुवाइमा अहिले हामी छैनौँ, त्यसमा कांग्रेस–माओवादी छन् । मत भिन्नताका बाबजुद विकासका काममा सँगै हिँडेको दृष्टान्त पनि छ, पछौटे समाजबाट प्रतिनिधित्व गरेर विभिन्न पार्टीमा सामेल भएका नेताहरू हौँला तर जनताले बुझ्ने गरी सामूहिक भावना हामीले निर्माण गर्न सकिरहेका छैनौँ । 

मेरो विचारमा त्यो पद प्राप्तिका लागि नभई आफ्नो प्रदेशमा केही राम्रो कुराको थालनी गरौँ र जनतामा सकारात्मक मनोविज्ञानको विकास गरौँ भन्ने उद्देश्यले गरिएको एउटा प्रयत्न थियो । 

दलहरू एक्लाएक्लै हिँड्ने, पार्टीभित्र पनि एक्लाएक्लै हिँड्ने, यो कुनै व्यक्तिको दोष होइन कि समाजकै उपज हो । मिलेर काम गर्न झन्झटिलो मान्ने भयौँ । निर्वाचनमा जसले जति सिट ल्याएर प्रदेशको नेतृत्व गरेको छ, त्यसले सबै दलहरूलाई गोलबद्ध गराई सँगै हिँडाउन सके अहिलेकै स्रोत–साधनबाट पनि सकारात्मक सन्देश दिने गरी काम गर्न सकिन्थ्यो । 

हिजो नेकपाको सरकार हुँदा मैले केही अभ्यास गरेकै हो । महेन्द्रजीले नेतृत्व गरेर जुन अवस्था सिर्जना भएको थियो त्यसबाट हुँदैन, सुधार गर्ने तरिकाले अघि बढ्नुपर्छ भनेर अग्रसर हुँदा त्यसलाई कतिपयले अन्तर्विरोधको रूपमा बुझे, कतिले पद प्राप्तिको बाटोमा रूपमा बुझे । मेरो विचारमा त्यो पद प्राप्तिका लागि नभई आफ्नो प्रदेशमा केही राम्रो कुराको थालनी गरौँ र जनतामा सकारात्मक मनोविज्ञानको विकास गरौँ भन्ने उद्देश्यले गरिएको एउटा प्रयत्न थियो । 

विगतको तुलनामा आज पार्टीभित्र आफ्ना कुरा निर्भीकताका साथ भन्ने मात्रा घटेर गएको छ । त्यो बेला सत्ता टिकाउन प्रदेश तहको सरकारको संरचनाको दुरुपयोग गरियो, अन्त पनि यस्तै भयो । यो संरचनाको औचित्य पुष्टि हुने गरी र जनतालाई सेवा–सुविधामा राहत दिने गरी काम नगर्दा र व्यक्तिको कमजोरीका कारण आज संरचनाप्रति प्रश्न उठाउने परिस्थिति सिर्जना भएको छ । 

  • त्यसको हिलो एमालेमाथि पनि छ्यापिन्छ होला, होइन ?

तुलनात्मक हिसाबले हामी लिँदैनौँ, हामीले सुधारका कुरा गर्दैै आएकै छौँ । गत वर्ष नै मन्त्रालय घटाउने कुरा गरेको पछि कांग्रेस–माओवादी टिक्न सकेनन्, आठवटै कायम गरे । सत्ता टिकाउन अनावश्यक पद सिर्जना गर्ने काम भयो, त्यसले संरचनाप्रति आक्रोश, टिप्पणी हुने परिस्थिति निर्माण भयो । नेतृत्वमा रहेका मान्छेको योग्यता र क्षमताका हिसाबले त्यो ठाउँमा पुर्‍याएको हो भन्ने लाग्छ । यति चाँडै प्रदेश संरचना खतमै भयो भन्ने कुरामा म सहमत छैन ।

कांग्रेस नेतृत्वको सरकार भए पनि जीवनजीले माओवादीकै लिगेसी बोकेर आउनुभयो त ! त्यसबाट सम्भवै थिएन । नयाँ तरिकाले अघि बढ्ने कुरा गर्नु नै भएन ।
  • ०७४–८० सम्म आउँदा कर्णालीमा कांग्रेस–माओवादी दुवै टेस्टेड भइसके, तपाईंको विचारमा कुन दलको नेतृत्वमा सरकार अब्बल देखियो ? 

नेतृत्व पृथक् हुने गरी आउने दुवैले आँटै गरेनन् । महेन्द्रजीकै निरन्तरता हो भनेर कांग्रेसको जीवनबहादुर हुनुभयो, अलग हुन सक्नुभएन । कतिपय कर्मचारी सञ्चालनदेखि दृष्टिकोणका सन्दर्भमा भिन्न देखिए पनि खासै फरक देखिएन । कांग्रेस नेतृत्वको सरकार भए पनि जीवनजीले माओवादीकै लिगेसी बोकेर आउनुभयो त ! त्यसबाट सम्भवै थिएन । नयाँ तरिकाले अघि बढ्ने कुरा गर्नु नै भएन । संसदभित्र तुलनात्मक रूपले हेर्दा माओवादीभन्दा कांग्रेस बोलीमा पक्का हो कि जस्तो कतिपय घटनाक्रमले देखाउँछन् ।

  • तपाईं अनुभवी नेता, तपाईंसँग अहिलेको नेतृत्वदेखि विगतका नेतृत्वले सल्लाह–सुझाव माग्ने काम कत्तिको भयो ? तपाईंहरूले उठाएका विषय सरकारले कार्यान्वयनमा तदारुकता देखाउन सक्यो कि सकेन ? 

औपचारिकता पुर्‍याउन, परिस्थितिको बाध्यताका बिचमा छलफल हुन्थ्यो तर अन्तर्हृदयदेखि कर्णाली बनाउने विषयमा छलफल न हिजो भयो न आज । म छलफल गराउने ठाउँमा थिइनँ । त्यसका अलाबा संसद्मा खुला रूपमा सल्लाह–सुझाव दिने काम गरेकै छु तर ग्रहण गर्ने कुरामा सरकार उदासीन रह्यो । 

गत साउनकै कुरा गर्दा, १५ लाखभन्दा तलका योजना छनोट नगर्ने कुरा उठायौँ । त्यो कुरा सरकार आफैँले नगर्नु थियो तर गर्‍यो । नीतिमा एक, बजेटमा अर्कै । अहिलेको सरकारलाई नीति, कार्यक्रम र बजेट के हो भन्ने कुनै मतलब छैन । आजका मितिसम्म प्रतिपक्षसँग गरिएको सम्झौताअनुरूप योजनाको टुङ्गो लगाउन लागेको छैन । ६ महिना बित्दासम्म के काम गर्ने के नगर्ने अवस्थामा सरकार रह्यो, यसबाट परिवर्तनको आशा कसरी गर्न सकिन्छ ?

  • तपाईंसँग सल्लाह–सुझाव माग्दा रिजर्भ बसिदिनु हुन्छ रे, बैठकमा सहभागी हुने ‘साथीहरू हो, गर्दै जानुहोस् न’ भन्ने तर व्यवहारमा त्यो नदेखाउने गर्नुहुन्छ रे नि ! 

त्यस्तो होइन, म उहाँहरूसँग प्रस्तुत हुँदा प्रतिपक्षको नेता हो भन्ने तरिकाले कहिल्यै प्रस्तुत हुने गरेकै छैन । मेरा तर्फबाट खुलस्त नै छ तर उहाँहरूको मनसाय अर्कै छ । 

अनेकथरीले अलग–अलग भन्ने गरेर हो कि अहिलेको मुख्यमन्त्रीको समय पूरै अलमलमा बितेको देखियो । सरकारको योजना के हो ? भन्दा केही छैन । भूकम्पमै प्रदेश सरकारको भूमिका खासै देखिएन । रणनीतिक काम गरौँ भन्दा उहाँहरू ध्यान दिनुहुन्न । 

भुरीगाउँ तेलपानी सडक परापूर्वकालदेखिको हाम्रो बाटो, दुई प्रदेश (कर्णाली–लुम्बिनी) जोडिन्छ, अहिले बजेट छैन । रिङरोड भनेर महेन्द्रजीले विभिन्न मोडल ल्याउनुभयो, दिग्भ्रमित पार्ने काम भए, आज बजेट छैन । 

व्यवस्था नै फेलियर त हुन्न तर व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई सरकारमा रहेकाहरूले आधारचाहिँ दिए, यो दुःखद कुरा हो ।

राराको साइकल लेन बनाउने योजना ठुलो योजना हो तर अहिले हबिगत के छ ? ४० करोड बढीको ठेक्का भयो तर अस्ति म आफैँ गएर हेरेँ, निकै दयनीय अवस्था छ । कानुनको व्यवस्था के छ ? कसरी काम गर्ने, प्राविधिक कुरा के छ ? पूर्वगृहकार्यबिना काम गरे रिजल्ट आउने जिरो नै हो । राजनीतिक नेतृत्वले मात्रै फैसला गरेर हुन्न, कर्मचारीतन्त्र पनि जोडिएको हुन्छ । त्यसलाई समेत विकासको कुरामा जोडेर हिँडाउने कुशलता निकाल्नुपथ्र्यो, त्यो अहिलेको मुख्यमन्त्रीमा देखिएन । 

  • प्रदेशले कुनै काम गर्न सकेन, प्रदेश संरचना हुनु र नहुनुको अर्थै भएन भनेर खारेजीका आवाज उठेकै छन्, तपाईंले भनेजस्तै कुनै काम नगर्ने प्रदेशको व्यवस्था नै धरापमा पर्छ कि ?

व्यवस्था नै फेलियर त हुन्न तर व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई सरकारमा रहेकाहरूले आधारचाहिँ दिए, यो दुःखद कुरा हो । 

सरकारमा रहनेहरूले योजना, कार्यक्रमका आधारबाट अघि बढ्नुपर्नेमा पद बाँड्दैमा समय बिताइरहेका छन् । यस्तै कुराले जनतामा निराशा पैदा गर्‍यो । गठबन्धनभित्रकै मान्छेहरू सन्तुष्ट छैनन्, यही अवस्था रह्यो भने कांग्रेस सकिन्छ भनेर महामन्त्रीहरूले आवाज उठाइरहेकै छन् त ! त्यस कारण गठबन्धन रहेसम्म विकास हुन्न नै । हामीले प्राप्त गरेको लोकतन्त्रप्रति प्रश्न उठाउनेको संख्या बढ्ने भयो । असन्तोषका आवाज उठ्नेबित्तिकै गोली हान्नुपर्ने अवस्था देखिएकै छ, दुईजनाले अस्ति भर्खरै गोली खाए त !

यद्यपि त्यस्तो हुन नदिनका लागि सरकारमा रहेकाहरूले जुन काम गर्न सक्नुपथ्र्यो, त्यो गर्न नसक्दा अरुलाई होइन, स्वयं आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई निराश बनाउने काम भइरहेको छ । 

  • त्यसो गरेको भए तपाईं यसअघि नै कर्णालीको नेतृत्वमा पुग्नुहुन्थ्यो ? 

सकिन्थ्यो र थाह पनि थियो ।

  • विकृत राजनीतिलाई अँगाल्न चाहनुभएन कि ?

हो, भोलि पनि सकिन्न । कुर्सी नै सबै कुरा होइन, तपाईंले प्राप्त गरेको जिम्मेवारी कसरी प्रयोग गर्नुहुन्छ ? आज राजनीतिलाई व्यवसायका रूपमा लिने हुँदा त्यस्तो गरेको देख्छु । त्यसै कारण कर्णालीको विगत पनि खेर गयो, आज पनि खेर गयो । जो साथीहरूले सरकार चलाइरहनुभएको छ, जोसुकै पात्र फेरिए पनि उहाँहरूले सकारात्मक सन्देश दिनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो भएकाले अब यो अवस्थाबाट कर्णाली बर्बाद हुने भयो भन्ने कुराको निष्कर्ष एमालेले निकालेर हुँदैन, माओवादी–कांग्रेसले निकाल्नुपर्छ र नयाँ बाटो कोर्ने ठाउँमा ती दलहरू पुगे भने फेरि सहकार्य हुने कुरा निर्माण गर्न सकिन्छ ।

कर्णालीको विकास र निर्माण भएन, यसरी हुँदैन भन्ने कुरा माओवादी–कांग्रेसले बुझ्नुपर्‍यो । माओवादी–कांग्रेसका लागि समय बिताउने कि कर्णालीका निम्ति बिताउने विलम्ब नगरीकन छलफल गर्नुपर्ने ठाउँमा कर्णाली पुगेको छ ।

अझै पनि यहाँ कर्णालीको नेतृत्वमा पुग्ने आकाङ्क्षा कायमै छ ?

मलाई के लाग्छ भने साथीहरूले दुई कार्यकाल जसरी बिताउनुभयो, त्यसलाई बदल्न सकिन्छ । बदल्न सक्ने हामीसँग जनशक्ति छ, भिजन, सोच र दृष्टिकोण पनि छ । व्यक्तिगत मनोकाङ्क्षाबाट भने टाढा रहनुपर्ने हुन्छ । अहिलेकै अवस्थामा पनि सकारात्मक सन्देश दिन सकिन्छ । अहिले मान्छेहरूले अनुमान पनि गरिरहेकै छन्, त्यसले पाएको भए केही हुन्थ्यो कि भनेर तर त्यसैका नाममा लालायित हुनुपर्ने अवस्था म देख्दिनँ । एक व्यक्तिको निर्णयमा भर पर्ने कुरा पनि भएन । अहिले एमालेको मात्र एकल निर्णयले केही हुँदैन । 

कर्णालीको विकास र निर्माण भएन, यसरी हुँदैन भन्ने कुरा माओवादी–कांग्रेसले बुझ्नुपर्‍यो । माओवादी–कांग्रेसका लागि समय बिताउने कि कर्णालीका निम्ति बिताउने विलम्ब नगरीकन छलफल गर्नुपर्ने ठाउँमा कर्णाली पुगेको छ । दलीय व्यवस्थामा सिंगो कर्णालीलाई एउटा व्यक्तिका कारण अवरुद्ध गर्ने कुरा राम्रो मानिँदैन ।

  • यही कार्यकालभित्र कुनै कारण राजनीतिक कोर्स चेन्ज भएर कर्णालीको नेतृत्वमा एमाले आउने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

आज गठबन्धनभित्रको अवस्था जे छ, त्यसैलाई निरन्तर सामना गर्ने कुरा संघ र प्रदेश दुवैमा देख्दिनँ । प्रदेशमा अझ छँदै छैन । केही न केही उथलपुथल ल्याउँछ । पार्टीले सुझबुझका साथ बेलैमा बुझे ती पार्टी पनि रहन्छन्, पार्टीको भूमिका पनि कायम रहन्छ, सहकार्य पनि कायम हुने परिस्थिति निर्माण रहन्छ । ती पार्टीले विलम्ब गरे पनि तिनलाई परिस्थितिले बुझाउनुपर्ने हुन्छ । अलि दिनमा कर्णालीको पनि अधिवेशन हुन्छ, कामहरू गर्नुपर्ने हुन्छ, यस्तै नालायकी काम गर्दै जानेलाई कोठाभित्र समर्थन गरे पनि सार्वजनिक ठाउँमा कोही कसैले समर्थन गर्दैन । 

  • तपाईंको कर्णाली बनाउने भिजन के हो ?

ठुलो भूगोल, कम जनसंख्या भएको र साधन–स्रोत सीमित भएको ठाउँमा छान्ने योजना थोरै हुनुपर्छ । जुन कुरा त्यो ठाउँका लागि प्राथमिकता परेको हुनुपर्छ । त्यसले परिणाम देखिन्छ र जनतामा भरोसायोग्य प्रोजेक्टका रूपमा परिणत गर्न सकिन्छ । 

आज मान्छेहरू पर्खिने पक्षमा छैनन् । प्लस टु पढेकाहरू कोही यहाँ बस्न चाहन्नन् । हाम्रो ठाउँमा केही हुन्न, केही गर्दैनन्, यिनले भन्ने कुरा देखियो । यहाँ भएकाहरूले प्रचार गरेर नयाँ पार्टीले जितेका होइनन्, बाहिर गएकाले प्रचार गरेर जितेका हुन् । 

कर्णालीमा भूगोल ठुलो छ, पूर्वाधारको विकास भएको छैन । पैसा थोरै छ, त्यही पैसा कार्यान्वयन भएको छैन । यस्तो ठाउँमा योजनाहरू थोरै रणनीति र परिणाम निस्कने गरी कार्यान्वयनमा लैजानुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप