‘हामी कर्णालीका नेताले आफ्नो आवश्यकताको बोध केन्द्रलाई कहिल्यै गराउन सकेनौँ’
एमालेभित्र प्रभावशाली नेताको परिचय बनाएका स्थायी कमिटी सदस्य तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल देश संघीय संंरचनामा गएसँगै कर्णाली बनाउनुपर्छ भनेर प्रदेश झरेका थिए । कर्णालीमा ०७४ मा एमाले सबैभन्दा ठुलो दल हुँदा पनि पार्टी केन्द्रको उपेक्षाका कारण उनी मुख्यमन्त्री हुनबाट वञ्चित भए । ०७९ मा पनि एमाले–माओवादीबिच गठबन्धन भई सरकार बन्दा नेतृत्व माओवादीले प्राप्त गर्यो । अहिले कांग्रेसको समर्थनमा माओवादीका राजकुमार शर्मा कर्णाली सरकारको नेतृत्वमा छन् ।
शनिबार वीरेन्द्रनगर–४, भैरवस्थान स्थित उनको निवासमा हामी पुग्दा उनी कोदालोले पानी ढलो गर्दै थिए । ०७४ यता कर्णालीको राजनीति र समसामयिक विषयमा केन्द्र्रित रहेर हामीले उनीसँग संवाद गरेका छौँ । प्रस्तुत छ, उनीसँगको संवादको सम्पादित अंश :
- यहाँ केन्द्रमै स्थापित भइसकेको नेता, प्रदेश बनाउनुपर्छ भनेर तल झर्नुभयो । ०७४ मा करिब बहुमतको अवस्था हुँदा पनि नेतृत्व गर्न पाउनुभएन, त्यसपछि नेकपा विभाजन हुँदै एमाले विभाजनसम्मको बिउ कर्णालीबाटै रोपियो, दोस्रोपटक फेरि प्रदेशमै बस्नुभयो, तैपनि नेतृत्व गर्न पाउनुभएन । तपाईंकै भाग्य हो कि पार्टी केन्द्रको असहयोग हो ?
यसमा फरक तरिकाले बहस गरौँ । हिजो राजनीतिक मुद्दा प्रमुख हुँदा जहाँ जे नारा लगाए पनि हुन्थ्यो । आज राजनीतिक अभियान एक हदसम्म पूरा भएको छ । अब समृद्धि र विकास प्रमुख काम हो । राजनीति एउटै हुँदाहुँदै पनि हाम्रो भूगोलको अवस्था फरक छ । वागमतीको प्राथमिकता र कर्णालीको फरक छ । त्यस कारण पार्टीहरू यो भिन्नताअनुरूप चलेका छैनन् ।
हिजो राजनीति एउटै हुँदा जहाँ जे नारा लगाए पनि हुन्थ्यो, जो जहाँ आएर काम गरे पनि हुन्थ्यो तर आज विकास र समृद्धिका लागि माग पनि भिन्दाभिन्दै छन् । त्यस अनुसारको नीति बनाउने कुरामा नेपालका राजनीतिक दलमा परिपक्वता देखिएन । अर्को, नेता देशैभरिको हुने ध्यान एउटा निर्वाचन क्षेत्रमा केन्द्रित हुने निर्वाचन प्रणाली भयो । त्यसकारण संविधानपछि कसैको एकल बहुमत आएन । मिलेरै जाने बिडम्वना आयो ।
हिजो जो साथीहरू ‘फ्लोर क्रस’ गरेर जानुभयो, उनीहरूले मसँग माग (मन्त्री) गरिरहेका थिए, मैले हुँदैन भाइ हो भनिदिएको थिएँ । त्यसपछि उहाँहरूले पदलाई नै ठुलो ठान्नुभयो र जानुभयो ।
अहिले पनि मैले पार्टीभित्र बहस गरिरहेकै छु, त्यसो भन्दा लिडरहरूलाई कहिलेकाहीँ लाग्नुपर्ने हो– ए, यसले त यसो भनिरहेको छ । तर कतिपय हाम्रै भित्रकाहरूले फलानाको विरोधीका अर्थमा बुझ्ने, आफू राम्रो बाँकी नराम्रो हुने तरिका भयो । त्यस कारण कतिपय अभ्यास र कतिपय विषयमा कर्णालीको समृद्धि र विकासका लागि दलले नै सरकारको नेतृत्व गर्ने भएका हुनाले सोच्नुपर्ने हो, हाम्रै दलबाट भएन । अरु दल भएका बेला ठुला कुरा गर्ने होइन, आफ्नै दल सरकारमा नभएका बेला पनि यस्ता कुरा उठाउनुपर्छ, हाम्रा नेताहरूमा त्यो देखिएन । मलाई लाग्छ, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको यात्रापछि अब एमालेले बनाउने नीति विगतको भन्दा परिवर्तन हुन्छ ।
- गत निर्वाचनपछि कर्णालीमा माओवादी–कांग्रेस टेस्टेड भइसके, एकपटक यामलालज्यूलाई हेर्नुपर्छ भन्ने आवाज पनि उठेका थिए तर तपाईंको पार्टी केन्द्रले नै तपाईंलाई नेतृत्वमा सहयोग गर्न चाहेन भन्ने कुरा सुनिन्थ्यो !
त्यस्तो होइन, व्यक्तिका कुराले दलीय व्यवस्थामा अर्थ राख्दैन । प्रदेशमा जे भने पनि निर्णय गर्ने ठाउँमा कसले के कुरा राख्यो, त्यो प्रमुख हो । अहिले (०७९) पनि माओवादीले दावा गर्ने र कतिपय तथ्य–तथ्यांकले पुष्टि हुने प्रदेश यही हो नि ! अहिले पनि भ्रम छ, कर्णाली भनेको माओवादीकै हो भन्ने । त्यस कारण गठबन्धनको राजनीतिमा देश अगाडि बढ्दै गर्दा उत्पन्न कतिपय परिस्थिति हो । अर्को कुरा, हाम्रैमा पनि त्यहाँ नभए के भयो र ? मेरो ठाउँमा चाहियो भन्ने नेतृत्वमा रहेकाहरूको सोचका कारण पनि यो स्थिति उत्पन्न भएको हो ।
यद्यपि पहिलो कार्यकालमा पृथक् सहमति गरेकै हो । त्यतिबेला एमालेभित्र कर्णालीमा रहेको मनोविज्ञानलाई हौसला दिनका निम्ति म त्यसको अगुवा भएका नाताले मैले त्यस्तो गर्नु थियो । कतिपयलाई यसले आफ्ना लागि गर्यो भन्ने लाग्यो, कर्णालीका लागि मै निर्णायक थिएँ नि !
राजनीतिमा पदका लागि जे पनि गर्नुपर्छ भन्ने मान्यता र सोचमा म सहमत थिइनँ । त्यस्तो सोचेको भए जीवनबहादुर मुख्यमन्त्री नहुन पनि सक्थे, महेन्द्र शाही पनि नहुन सक्थे । हिजो जो साथीहरू ‘फ्लोर क्रस’ गरेर जानुभयो, उनीहरूले मसँग माग (मन्त्री) गरिरहेका थिए, मैले हुँदैन भाइ हो भनिदिएको थिएँ । त्यसपछि उहाँहरूले पदलाई नै ठुलो ठान्नुभयो र जानुभयो । कोही मन्त्री हुनुभयो, कोही बहालवाला हुनुहुन्छ, फेरि चार वर्षपछि के हालत होला, उनीहरूले जान्लान् । राजनीतिमा सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति देखापर्यो, त्यसरी पदमा जानुपर्छ भन्ने मलाई लागेन ।
- ०७४ तिर, सबै दलका नेताहरूले भन्नुहुन्थ्यो— कर्णालीको प्रतिपक्ष गरिबी हो, हामी त्यसका विरुद्धमा लड्छौँ । तर पहिलो दिनदेखि कचिङ्गल सुरु भयो । कर्णालीमै विकृत राजनीतिक गतिविधि भए, संरचना र बजेट भएर मात्र नहुँदो रहेछ, त्यसका लागि सक्षमता पनि चाहिने रहेछ तर कर्णालीका नेताहरूमा त्यो देखिएन नि ?
हो, त्यो विषय संसद्मा सुनाउने पहिलो मान्छे मै हो, तर नेतृत्वकर्ताले नीति तथा कार्यक्रम त्यो अनुसारको ल्याउनुभएन । आजको समस्या पनि यही हो । अर्को सबैलाई सँगसँगै हिँडाउन पनि सक्नुभएन । जबसम्म तपाईंले यो कुरा गर्नुहुन्न, समस्या साझा हुँदाहुँदै पनि व्यवहार भिन्न हुन्छ । त्यसलाई प्रतिविम्बत गरी नीति तथा बजेट आउनुपथ्र्यो तर ठिक उल्टो तरिकाले काम भए । त्यही बेलाका बहुचर्चित सेटिङका योजना कृषि र पर्यटन मन्त्रालयबाट हाइटेक नर्सरीको नाममा अघि सारिए । ती सेटिङका योजनालाई समर्थन गर्न सकिने कुरा थिएन । त्यसले कर्णालीको गरिबीको समस्या समाधान हुन्छ त ?
सरकार जनताको अभिभावक हो, जनताको अपेक्षालाई सम्बोधन गर्ने कुरा सरकारमा भर पर्छ । तर, सरकारले कुनै काम गर्न सकेन ।
त्यो मात्र होइन, माओवादीको एकजना प्रतिनिधिसभा सदस्य आएर यहाँ विज्ञ प्रमुख भई मुख्यमन्त्री, प्रमुख सचिवलाई दुईतिर राखी जनसरकार सञ्चालनको तरिका अपनाए । एउटै पार्टी (नेकपा) भए पनि समर्थन गर्न सकिन्नथ्यो । त्यो बेला कांग्रेस रुल्लटुल्लको अवस्थामा थियो । सत्ता पक्षको भनेर सबै कुराको समर्थन गर्न सक्ने कुरा थिएन । यी यावत् कुराले दलभित्र विचार विविधता देखियो, यद्यपि बाहिर चर्चा फरक तरिकाले भयो ।
- कर्णाली सरकारका काम–कारबाहीलाई कसरी हेरिरहनुभएको छ ?
सरकार जनताको अभिभावक हो, जनताको अपेक्षालाई सम्बोधन गर्ने कुरा सरकारमा भर पर्छ । तर, सरकारले कुनै काम गर्न सकेन । दिनानुदिन नगरी नहुने काम र विगतका सुरु भएका कामबाहेक कुनै नयाँ कुरा देखिएन । प्रदेश सरकार छ, केही हुन्छ भनेर जनताले अपनत्व लिने काम भएन । यो एक वर्ष उपलब्धिका हिसाबले चर्चा गर्ने कुनै ठाउँ छ जस्तो लाग्दैन । वर्ष दिन पूरै खेर गएको निष्कर्ष मेरो छ ।
- अहिलेका मुख्यमन्त्रीको सत्ता सञ्चालनको पाटो गतिशील नै छ कि के छ ?
दलीय व्यवस्था छ, व्यक्तिको भूमिका महत्त्वपूर्ण हुनुका साथै विशेष भूमिका पार्टीको रहन्छ । नेपालको राजनीतिमा शान्ति प्रक्रियामा सामेल भएदेखि आजका मितिसम्म माओवादी अविछिन्न सत्तामा छ । प्रतिपक्षसँग मोर्चाबन्दी गर्दागर्दै पनि मन्त्री खाएको विगत छ ।
त्यस कारण यो गठबन्धन प्रदेश बनाउन, देश बनाउन, लोकतन्त्र बचाउन भन्दा पनि आफ्नो अस्तित्व रक्षाका निमित्त देश निर्माण गर्ने जिम्मेवारीबाट एमालेलाई रोक्नका निम्ति बनेको हो ।
सुरुमा (राजकुमार शर्मा मुख्यमन्त्री हुने बेला) कर्णाली सरकार माओवादी र एमाले मिलेर बनेको हो । तर, हामीले नीति के ल्याउने, कर्णालीको विकास कसरी गर्न सकिन्छ भन्ने तहमा छलफल गर्न नपाउँदै समीकरण बदलियो र हामी सरकारबाट बाहिरियौँ ।
कांग्रेसले माओवादीलाई बोक्न नजानुपर्ने हो । वामपन्थी पार्टीहरू मिल्नु स्वाभाविक कुरा हो । भोलि इतिहासले खोतल्ला, उहाँहरूले पनि भन्नुहोला, एमालेले प्रधानमन्त्री बनाउँदाबनाउँदै प्रचण्डजी एमालेलाई छाडेर अर्को गठबन्धनमा सामेल हुनुभयो । यसरी हेर्दा माओवादी सत्ताका निम्ति जे पनि गर्ने पार्टीका रूपमा देखिन्छ । देश बनाउने कुरामा त विचारमा स्थिर हुनुपर्छ, उद्देश्यमा दृढ हुनुपर्छ । प्रचण्डजी जहाँ जानुभयो, त्यहीँ अनुकूल हुने चरित्र विगतदेखि अहिलेसम्म कायमै छ । त्यसकारण माओवादीको नेतृत्वमा विकास निर्माण हुने सम्भावना छैन ।
कर्णालीको हकमा अझ हुने कुरै भएन । हो, सुरुमा (राजकुमार शर्मा मुख्यमन्त्री हुने बेला) कर्णाली सरकार माओवादी र एमाले मिलेर बनेको हो । तर, हामीले नीति के ल्याउने, कर्णालीको विकास कसरी गर्न सकिन्छ भन्ने तहमा छलफल गर्न नपाउँदै समीकरण बदलियो र हामी सरकारबाट बाहिरियौँ । अहिले प्रतिपक्षमा रहेका हामी मात्र होइनौँ, सरकारमा सामेल भएको कांग्रेस समेतले यो सरकारबाट केही हुन्न भनेर अल्टिमेटम दिएको अवस्था छ । सल्लाह, आलोचनाबाट मानेन भनेर विरोध भइरहेको छ । नसच्चिए विकल्प खोज्न सकिने तहसम्मको कुराहरू आएकै छन् ।
स्वयं माओवादी पार्टीका नेता–कार्यकर्ता पनि सन्तुष्ट देखिन्नन् । माओवादी कर्णालीमा विगतदेखि नेतृत्वमा रहिआएको छ तर आफ्नो औचित्य स्थापित गर्न सकेन । सरकार सञ्चालनमा उहाँहरूले ल्याकत, क्षमता, औकात कहीँकतै प्रदर्शन गर्न सक्नुभएन । प्रतिपक्षमा हुँदाहुँदै कर्णालीको विकासमा हामी रचनात्मक तरिकाले प्रस्तुत भई सहयोगको वातावरण बनाउँदा पनि उहाँहरूले योग्यता, क्षमता देखाउन सक्नुभएन ।
- अहिलेका मुख्यमन्त्रीको सत्ता सञ्चालनमा क्षमता देखिएन भन्न खोज्नुभएको ?
पहिलो कुरा दृष्टिकोणमै अलमल भएको पार्टी हो माओवादी । प्रचण्डजी कहिले चुनावमा हामीलाई भोट हाल, जातका आधारमा प्रदेशको नाम राखिदिन्छौँ भन्नुहुन्छ, सरकारको प्रधानमन्त्री हुनुहुन्छ दुई लाख मान्छे उतार्ने भन्नुहुन्छ, पार्टी अध्यक्षकै हालत त्यस्तो छ भने त्यो पार्टीबाट प्रशिक्षित दीक्षित भएकाहरूको हालत के होला ?
अर्को, उहाँहरू बनाउने भन्दा बाँड्ने कुरामा केन्द्रित हुनुहुन्छ । कर्णाली सरकारले विगतदेखि नै बजेट बाँड्ने काम गर्यो, अहिले पनि त्यही उद्देश्यका साथ ल्याउनुभएको थियो, हामीले संसद्मा छलफलको विषय बनायौँ । माओवादीको दृष्टिकोण नै जहाँ गयो त्यहीँ दृष्टिकोण बनाउने भइरहेको छ । यस हिसाबले हेर्दा माओवादीले विकासको नेतृत्व गर्न सक्दैन, कर्णालीमा त असफल भइसक्यो ।
- हिजोका दिनमा कर्णालीमा निकै राजनीतिक कचिङ्गल भयो, छुट्टै प्रदेश पाउँदा पनि दलहरूले आफ्नो औचित्य स्थापित गर्न सकेनन्, दलहरू कहाँ चुके ?
कर्णाली सबै हिसाबले पछि परेको प्रदेश हो । हामी कर्णालीका नेताले आफ्नो आवश्यकताको बोध केन्द्रलाई कहिल्यै गराउन सकेनौँ र आज पनि सकिएको छैन ।
केन्द्रलाई बोध गराउने अगुवाइमा अहिले हामी छैनौँ, त्यसमा कांग्रेस–माओवादी छन् । मत भिन्नताका बाबजुद विकासका काममा सँगै हिँडेको दृष्टान्त पनि छ, पछौटे समाजबाट प्रतिनिधित्व गरेर विभिन्न पार्टीमा सामेल भएका नेताहरू हौँला तर जनताले बुझ्ने गरी सामूहिक भावना हामीले निर्माण गर्न सकिरहेका छैनौँ ।
मेरो विचारमा त्यो पद प्राप्तिका लागि नभई आफ्नो प्रदेशमा केही राम्रो कुराको थालनी गरौँ र जनतामा सकारात्मक मनोविज्ञानको विकास गरौँ भन्ने उद्देश्यले गरिएको एउटा प्रयत्न थियो ।
दलहरू एक्लाएक्लै हिँड्ने, पार्टीभित्र पनि एक्लाएक्लै हिँड्ने, यो कुनै व्यक्तिको दोष होइन कि समाजकै उपज हो । मिलेर काम गर्न झन्झटिलो मान्ने भयौँ । निर्वाचनमा जसले जति सिट ल्याएर प्रदेशको नेतृत्व गरेको छ, त्यसले सबै दलहरूलाई गोलबद्ध गराई सँगै हिँडाउन सके अहिलेकै स्रोत–साधनबाट पनि सकारात्मक सन्देश दिने गरी काम गर्न सकिन्थ्यो ।
हिजो नेकपाको सरकार हुँदा मैले केही अभ्यास गरेकै हो । महेन्द्रजीले नेतृत्व गरेर जुन अवस्था सिर्जना भएको थियो त्यसबाट हुँदैन, सुधार गर्ने तरिकाले अघि बढ्नुपर्छ भनेर अग्रसर हुँदा त्यसलाई कतिपयले अन्तर्विरोधको रूपमा बुझे, कतिले पद प्राप्तिको बाटोमा रूपमा बुझे । मेरो विचारमा त्यो पद प्राप्तिका लागि नभई आफ्नो प्रदेशमा केही राम्रो कुराको थालनी गरौँ र जनतामा सकारात्मक मनोविज्ञानको विकास गरौँ भन्ने उद्देश्यले गरिएको एउटा प्रयत्न थियो ।
विगतको तुलनामा आज पार्टीभित्र आफ्ना कुरा निर्भीकताका साथ भन्ने मात्रा घटेर गएको छ । त्यो बेला सत्ता टिकाउन प्रदेश तहको सरकारको संरचनाको दुरुपयोग गरियो, अन्त पनि यस्तै भयो । यो संरचनाको औचित्य पुष्टि हुने गरी र जनतालाई सेवा–सुविधामा राहत दिने गरी काम नगर्दा र व्यक्तिको कमजोरीका कारण आज संरचनाप्रति प्रश्न उठाउने परिस्थिति सिर्जना भएको छ ।
- त्यसको हिलो एमालेमाथि पनि छ्यापिन्छ होला, होइन ?
तुलनात्मक हिसाबले हामी लिँदैनौँ, हामीले सुधारका कुरा गर्दैै आएकै छौँ । गत वर्ष नै मन्त्रालय घटाउने कुरा गरेको पछि कांग्रेस–माओवादी टिक्न सकेनन्, आठवटै कायम गरे । सत्ता टिकाउन अनावश्यक पद सिर्जना गर्ने काम भयो, त्यसले संरचनाप्रति आक्रोश, टिप्पणी हुने परिस्थिति निर्माण भयो । नेतृत्वमा रहेका मान्छेको योग्यता र क्षमताका हिसाबले त्यो ठाउँमा पुर्याएको हो भन्ने लाग्छ । यति चाँडै प्रदेश संरचना खतमै भयो भन्ने कुरामा म सहमत छैन ।
कांग्रेस नेतृत्वको सरकार भए पनि जीवनजीले माओवादीकै लिगेसी बोकेर आउनुभयो त ! त्यसबाट सम्भवै थिएन । नयाँ तरिकाले अघि बढ्ने कुरा गर्नु नै भएन ।
- ०७४–८० सम्म आउँदा कर्णालीमा कांग्रेस–माओवादी दुवै टेस्टेड भइसके, तपाईंको विचारमा कुन दलको नेतृत्वमा सरकार अब्बल देखियो ?
नेतृत्व पृथक् हुने गरी आउने दुवैले आँटै गरेनन् । महेन्द्रजीकै निरन्तरता हो भनेर कांग्रेसको जीवनबहादुर हुनुभयो, अलग हुन सक्नुभएन । कतिपय कर्मचारी सञ्चालनदेखि दृष्टिकोणका सन्दर्भमा भिन्न देखिए पनि खासै फरक देखिएन । कांग्रेस नेतृत्वको सरकार भए पनि जीवनजीले माओवादीकै लिगेसी बोकेर आउनुभयो त ! त्यसबाट सम्भवै थिएन । नयाँ तरिकाले अघि बढ्ने कुरा गर्नु नै भएन । संसदभित्र तुलनात्मक रूपले हेर्दा माओवादीभन्दा कांग्रेस बोलीमा पक्का हो कि जस्तो कतिपय घटनाक्रमले देखाउँछन् ।
- तपाईं अनुभवी नेता, तपाईंसँग अहिलेको नेतृत्वदेखि विगतका नेतृत्वले सल्लाह–सुझाव माग्ने काम कत्तिको भयो ? तपाईंहरूले उठाएका विषय सरकारले कार्यान्वयनमा तदारुकता देखाउन सक्यो कि सकेन ?
औपचारिकता पुर्याउन, परिस्थितिको बाध्यताका बिचमा छलफल हुन्थ्यो तर अन्तर्हृदयदेखि कर्णाली बनाउने विषयमा छलफल न हिजो भयो न आज । म छलफल गराउने ठाउँमा थिइनँ । त्यसका अलाबा संसद्मा खुला रूपमा सल्लाह–सुझाव दिने काम गरेकै छु तर ग्रहण गर्ने कुरामा सरकार उदासीन रह्यो ।
गत साउनकै कुरा गर्दा, १५ लाखभन्दा तलका योजना छनोट नगर्ने कुरा उठायौँ । त्यो कुरा सरकार आफैँले नगर्नु थियो तर गर्यो । नीतिमा एक, बजेटमा अर्कै । अहिलेको सरकारलाई नीति, कार्यक्रम र बजेट के हो भन्ने कुनै मतलब छैन । आजका मितिसम्म प्रतिपक्षसँग गरिएको सम्झौताअनुरूप योजनाको टुङ्गो लगाउन लागेको छैन । ६ महिना बित्दासम्म के काम गर्ने के नगर्ने अवस्थामा सरकार रह्यो, यसबाट परिवर्तनको आशा कसरी गर्न सकिन्छ ?
- तपाईंसँग सल्लाह–सुझाव माग्दा रिजर्भ बसिदिनु हुन्छ रे, बैठकमा सहभागी हुने ‘साथीहरू हो, गर्दै जानुहोस् न’ भन्ने तर व्यवहारमा त्यो नदेखाउने गर्नुहुन्छ रे नि !
त्यस्तो होइन, म उहाँहरूसँग प्रस्तुत हुँदा प्रतिपक्षको नेता हो भन्ने तरिकाले कहिल्यै प्रस्तुत हुने गरेकै छैन । मेरा तर्फबाट खुलस्त नै छ तर उहाँहरूको मनसाय अर्कै छ ।
अनेकथरीले अलग–अलग भन्ने गरेर हो कि अहिलेको मुख्यमन्त्रीको समय पूरै अलमलमा बितेको देखियो । सरकारको योजना के हो ? भन्दा केही छैन । भूकम्पमै प्रदेश सरकारको भूमिका खासै देखिएन । रणनीतिक काम गरौँ भन्दा उहाँहरू ध्यान दिनुहुन्न ।
भुरीगाउँ तेलपानी सडक परापूर्वकालदेखिको हाम्रो बाटो, दुई प्रदेश (कर्णाली–लुम्बिनी) जोडिन्छ, अहिले बजेट छैन । रिङरोड भनेर महेन्द्रजीले विभिन्न मोडल ल्याउनुभयो, दिग्भ्रमित पार्ने काम भए, आज बजेट छैन ।
व्यवस्था नै फेलियर त हुन्न तर व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई सरकारमा रहेकाहरूले आधारचाहिँ दिए, यो दुःखद कुरा हो ।
राराको साइकल लेन बनाउने योजना ठुलो योजना हो तर अहिले हबिगत के छ ? ४० करोड बढीको ठेक्का भयो तर अस्ति म आफैँ गएर हेरेँ, निकै दयनीय अवस्था छ । कानुनको व्यवस्था के छ ? कसरी काम गर्ने, प्राविधिक कुरा के छ ? पूर्वगृहकार्यबिना काम गरे रिजल्ट आउने जिरो नै हो । राजनीतिक नेतृत्वले मात्रै फैसला गरेर हुन्न, कर्मचारीतन्त्र पनि जोडिएको हुन्छ । त्यसलाई समेत विकासको कुरामा जोडेर हिँडाउने कुशलता निकाल्नुपथ्र्यो, त्यो अहिलेको मुख्यमन्त्रीमा देखिएन ।
- प्रदेशले कुनै काम गर्न सकेन, प्रदेश संरचना हुनु र नहुनुको अर्थै भएन भनेर खारेजीका आवाज उठेकै छन्, तपाईंले भनेजस्तै कुनै काम नगर्ने प्रदेशको व्यवस्था नै धरापमा पर्छ कि ?
व्यवस्था नै फेलियर त हुन्न तर व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई सरकारमा रहेकाहरूले आधारचाहिँ दिए, यो दुःखद कुरा हो ।
सरकारमा रहनेहरूले योजना, कार्यक्रमका आधारबाट अघि बढ्नुपर्नेमा पद बाँड्दैमा समय बिताइरहेका छन् । यस्तै कुराले जनतामा निराशा पैदा गर्यो । गठबन्धनभित्रकै मान्छेहरू सन्तुष्ट छैनन्, यही अवस्था रह्यो भने कांग्रेस सकिन्छ भनेर महामन्त्रीहरूले आवाज उठाइरहेकै छन् त ! त्यस कारण गठबन्धन रहेसम्म विकास हुन्न नै । हामीले प्राप्त गरेको लोकतन्त्रप्रति प्रश्न उठाउनेको संख्या बढ्ने भयो । असन्तोषका आवाज उठ्नेबित्तिकै गोली हान्नुपर्ने अवस्था देखिएकै छ, दुईजनाले अस्ति भर्खरै गोली खाए त !
यद्यपि त्यस्तो हुन नदिनका लागि सरकारमा रहेकाहरूले जुन काम गर्न सक्नुपथ्र्यो, त्यो गर्न नसक्दा अरुलाई होइन, स्वयं आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई निराश बनाउने काम भइरहेको छ ।
- त्यसो गरेको भए तपाईं यसअघि नै कर्णालीको नेतृत्वमा पुग्नुहुन्थ्यो ?
सकिन्थ्यो र थाह पनि थियो ।
- विकृत राजनीतिलाई अँगाल्न चाहनुभएन कि ?
हो, भोलि पनि सकिन्न । कुर्सी नै सबै कुरा होइन, तपाईंले प्राप्त गरेको जिम्मेवारी कसरी प्रयोग गर्नुहुन्छ ? आज राजनीतिलाई व्यवसायका रूपमा लिने हुँदा त्यस्तो गरेको देख्छु । त्यसै कारण कर्णालीको विगत पनि खेर गयो, आज पनि खेर गयो । जो साथीहरूले सरकार चलाइरहनुभएको छ, जोसुकै पात्र फेरिए पनि उहाँहरूले सकारात्मक सन्देश दिनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो भएकाले अब यो अवस्थाबाट कर्णाली बर्बाद हुने भयो भन्ने कुराको निष्कर्ष एमालेले निकालेर हुँदैन, माओवादी–कांग्रेसले निकाल्नुपर्छ र नयाँ बाटो कोर्ने ठाउँमा ती दलहरू पुगे भने फेरि सहकार्य हुने कुरा निर्माण गर्न सकिन्छ ।
कर्णालीको विकास र निर्माण भएन, यसरी हुँदैन भन्ने कुरा माओवादी–कांग्रेसले बुझ्नुपर्यो । माओवादी–कांग्रेसका लागि समय बिताउने कि कर्णालीका निम्ति बिताउने विलम्ब नगरीकन छलफल गर्नुपर्ने ठाउँमा कर्णाली पुगेको छ ।
अझै पनि यहाँ कर्णालीको नेतृत्वमा पुग्ने आकाङ्क्षा कायमै छ ?
मलाई के लाग्छ भने साथीहरूले दुई कार्यकाल जसरी बिताउनुभयो, त्यसलाई बदल्न सकिन्छ । बदल्न सक्ने हामीसँग जनशक्ति छ, भिजन, सोच र दृष्टिकोण पनि छ । व्यक्तिगत मनोकाङ्क्षाबाट भने टाढा रहनुपर्ने हुन्छ । अहिलेकै अवस्थामा पनि सकारात्मक सन्देश दिन सकिन्छ । अहिले मान्छेहरूले अनुमान पनि गरिरहेकै छन्, त्यसले पाएको भए केही हुन्थ्यो कि भनेर तर त्यसैका नाममा लालायित हुनुपर्ने अवस्था म देख्दिनँ । एक व्यक्तिको निर्णयमा भर पर्ने कुरा पनि भएन । अहिले एमालेको मात्र एकल निर्णयले केही हुँदैन ।
कर्णालीको विकास र निर्माण भएन, यसरी हुँदैन भन्ने कुरा माओवादी–कांग्रेसले बुझ्नुपर्यो । माओवादी–कांग्रेसका लागि समय बिताउने कि कर्णालीका निम्ति बिताउने विलम्ब नगरीकन छलफल गर्नुपर्ने ठाउँमा कर्णाली पुगेको छ । दलीय व्यवस्थामा सिंगो कर्णालीलाई एउटा व्यक्तिका कारण अवरुद्ध गर्ने कुरा राम्रो मानिँदैन ।
- यही कार्यकालभित्र कुनै कारण राजनीतिक कोर्स चेन्ज भएर कर्णालीको नेतृत्वमा एमाले आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
आज गठबन्धनभित्रको अवस्था जे छ, त्यसैलाई निरन्तर सामना गर्ने कुरा संघ र प्रदेश दुवैमा देख्दिनँ । प्रदेशमा अझ छँदै छैन । केही न केही उथलपुथल ल्याउँछ । पार्टीले सुझबुझका साथ बेलैमा बुझे ती पार्टी पनि रहन्छन्, पार्टीको भूमिका पनि कायम रहन्छ, सहकार्य पनि कायम हुने परिस्थिति निर्माण रहन्छ । ती पार्टीले विलम्ब गरे पनि तिनलाई परिस्थितिले बुझाउनुपर्ने हुन्छ । अलि दिनमा कर्णालीको पनि अधिवेशन हुन्छ, कामहरू गर्नुपर्ने हुन्छ, यस्तै नालायकी काम गर्दै जानेलाई कोठाभित्र समर्थन गरे पनि सार्वजनिक ठाउँमा कोही कसैले समर्थन गर्दैन ।
- तपाईंको कर्णाली बनाउने भिजन के हो ?
ठुलो भूगोल, कम जनसंख्या भएको र साधन–स्रोत सीमित भएको ठाउँमा छान्ने योजना थोरै हुनुपर्छ । जुन कुरा त्यो ठाउँका लागि प्राथमिकता परेको हुनुपर्छ । त्यसले परिणाम देखिन्छ र जनतामा भरोसायोग्य प्रोजेक्टका रूपमा परिणत गर्न सकिन्छ ।
आज मान्छेहरू पर्खिने पक्षमा छैनन् । प्लस टु पढेकाहरू कोही यहाँ बस्न चाहन्नन् । हाम्रो ठाउँमा केही हुन्न, केही गर्दैनन्, यिनले भन्ने कुरा देखियो । यहाँ भएकाहरूले प्रचार गरेर नयाँ पार्टीले जितेका होइनन्, बाहिर गएकाले प्रचार गरेर जितेका हुन् ।
कर्णालीमा भूगोल ठुलो छ, पूर्वाधारको विकास भएको छैन । पैसा थोरै छ, त्यही पैसा कार्यान्वयन भएको छैन । यस्तो ठाउँमा योजनाहरू थोरै रणनीति र परिणाम निस्कने गरी कार्यान्वयनमा लैजानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजादैँसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र