यति एयर दुर्घटनाको एक वर्ष : सेती खोँच पुगेर भक्कानिए आफन्त
पोखरा । पोखराका चिरञ्जीवी पौडेल सोमबार बिहानै सेती खोँच पुगे । उनका भाइ त्रिभुवन पौडेलको अघिल्लो माघ १ गते त्यही खोँचमा जहाज दुर्घटनाबाट ज्यान गएको थियो । दुर्घटनाको १ वर्षपछि भाइलाई श्रद्धाञ्जली दिन पुगेका चिरञ्जीवी केही मिनेटमै फर्किए ।
‘म त बस्नै सकिनँ । तुरुन्तै भागेँ । श्रद्धाञ्जली दिन्छु भनेर गएको थिएँ, सबै मान्छेहरू रोइरहेको देखेपछि अनेक सोंचहरु आयो,’ उनले भने, ‘आँखाभरि आशु लिएर फर्किने बाहेक के गर्न सकिन्छ र ? हामीलाई अझै त्यहाँ पुग्ने वातावरण नै बनेको रहेनछ । मलाई त बरु यस्ता कार्यक्रम नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ त्रिभुवन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए ।
सेती खोँचमा आफन्त सम्झिन पुगेका पोखराकै बुद्धि ठकुरीको मानसपटलबाट अझै आफ्नी भतिजीको याद निस्किएको छैन । उनकी भतिजी संगीता शाही पनि त्यही दुर्घटनामा परिन् । बिहानै बुद्धिले दुर्घटना स्थलमा पुगेर भतिजीको नाममा बत्ती बाले र आत्म शान्तिको कामना गरे । ‘कहालीलाग्दो घटना भयो । मानवीय त्रुटिले घटना भएको भन्छन् । विभिन्न बहाना बनाएर दुर्घटनाको रिपोर्ट निकालिन्छ,’ उनले भने, ‘हाम्रा आफन्त रिपोर्टले फर्किन्छन् र ? यस्ता घटना क्षम्य छैनन् । सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।’
सोमबार बिहानै दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त दुर्घटना स्थलमा पुगे । उनीहरुले सामूहिक रूपमा शान्ति पूजा गरे । गत वर्ष माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि पोखराले विभिन्न व्यक्तित्वसँगै सम्भावनाहरुमा पनि ‘ब्रेक’ लागेको छ । केही अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले यहाँको रुटलाई लिएर उडान भर्न इन्कार गरेका छन् । विदेशी पर्यटकहरु जहाज मार्फत पोखरा आउन पनि डराएका थिए । जसका कारण पोखराको पर्यटनमा निकै ठूलो क्षति भएको छ । पोखराले दुर्घटना स्थललाई पार्कको रूपमा निर्माण गर्न लागेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा पोखरामा स्मृति स्तम्भ निर्माण गरिएको छ । दुर्घटनाको एक वर्षपछि स्तम्भ निर्माण गरिएको हो । उक्त स्तम्भको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोही ठाउँमा पुल र पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । ‘दुर्घटना उत्सव होइन । सम्झिरहँदा पनि मन पोल्छ,’ उनले भने, ‘तर स्मृति सकिँदैन । उहाँहरुको स्मृतिमा पोखरा महानगरले झोलुंगे पुल र पार्क निर्माण गर्दै छ ।’ स्तम्भसहित वरपर तारबार गर्न १० लाखको बजेट विनियोजन भएको र काम गरिरहेको मेयर आचार्यले बताए ।
विमान दुर्घटना स्थलमा मृतकको सम्झनामा स्मृति पार्क र सेती खोँचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको उनले सुनाए । ‘दुर्घटना स्थलमा वारिपारि गर्न मिल्ने गरी विमानकै आकारमा पुल निर्माण गर्न लागेका छौँ,’ उनी भन्छन्, ‘यसका लागि यति एयरलाइन्ससँग पनि समन्वय गर्छौँ ।’ विमान दुर्घटनाको लगभग १ वर्षपछि छानबिन समितिले प्रतिवेदन पनि बुझाएको थियो । प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ । आचार्यले आगामी दिनमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताए ।
दुर्घटनापछि स्थानीयहरु अहिले पनि त्रसित छन् । ‘जहाज खसेको यहीँ हो भनेर सोध्छन् । हो भन्छौँ, हेरेर जान्छन्,’ स्थानीय जमुना बस्नेत भन्छिन्, ‘अहिले पनि यताबाट जहाज आयो भने मन झसङ्ग हुन्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता