शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
तरुलका कुरा

नेपालमा पाइन्छ थरीथरीका तरुल : कुन तरुल कस्तो ?

सोमबार, ०१ माघ २०८०, ११ : २४
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । नेपालमा थरीथरीका तरुल पाइने गरेको छ । मालेपाटे रातो र सेतो, सर्लाही रातो र सेतो, कल्छे, जाँते, चकुनचौर स्थानीय गरी तरुलका सात वटा जात पाइने गरेको हो । 

 देशभरबाट विभिन्न २० भन्दा बढी स्थानबाट स्थानीय जातका तरुल संकलन गरी जात निर्धारण गरिएको बागवानी अनुसन्धान केन्द्र अन्तर्गत पर्ने पोखरास्थित माले पाटनका वरिष्ठ प्राविधिक अधिकृत डा. सरोज अधिकारीले जानकारी दिए । ‘तरुलमा खासै अनुसन्धान भइसकेको छैन,’ उनले भने, ‘आर्थिक वर्ष २०७७/०७८ माले पाटनबाट तरुलको अध्ययन अनुसन्धान सुरु गरेका छौँ ।’ ती जातहरू चरित्रिकरण गरेर सात थरीमा वर्गीकरण गरेको उनको भनाइ छ । 

कुन तरुल कस्तो ? 

सात थरीका तरुल फरक फरक गुणयुक्त भएको अधिकारीले बताए । उनका अनुसार कुनै उपभोगको दृष्टिकोणले खाँदा मिठो हुने, कुनै उत्पादन बढी दिने तरुल भेटिएका छन् । तनहुँ क्षेत्रबाट भेटिएको जाँते तरुल खाँदा मिठो र यसलाई लगाउन पनि सजिलो हुने अधिकारीले रातोपाटीलाई बताए । ‘जाँते तरुल खन्न पनि सजिलो छ, यो धेरै गहिराइमा जाँदैन र उत्पादन पनि धेरै छ,’ उनले भने । 

उनका अनुसार पोखराबाट मालेपाते सेतो र रातो तरुल भेटिएको छ । यो तरुल उत्पादन धेरै हुने उनले बताए । तर यसको गहिराइ धेरै तलसम्म जाने भएकाले खन्नलाई कठिनाइ हुने उल्लेख गरे । 

सर्लाहीबाट संकलन गरिएको सर्लाही रातो र सेतो तरुल छ । अधिकारीका अनुसार सर्लाही रातो र सेतो तरुल उत्पादनको दृष्टिकोणले राम्रो पाइएको छ ।  अधिकारीका अनुसार खानालाई मिठो तर उत्पादन खासै नहुने कल्छे जातको तरुल पनि छ । ‘कल्छे तरुल उत्पादन छैन, खानालाई मिठो र लगाउन सजिलो छ ,’ उनले भने, ‘यो खासै गहिराइसम्म जाँदैन उत्पादन गर्न सजिलो छ ।’ उनले चकुनचोर जात पनि तरुल रहेको उल्लेख गरे । 

तरुलको थप अनुसन्धान गरिँदै 

केन्द्रले खानालाई मिठो, उत्पादन लिन सजिलो हुने तरुलको अनुसन्धान गरिरहेको छ । उनले हालसम्म भेटिएका तरुलमध्ये जाँते तरुल खाना मिठो, उत्पादन बढी , खन्न सजिलो हुने बताए । ‘खानालाई मिठो किसानलाई लगाउन सजिलो हुने,  तरुलको धेरै गहिराइसम्म जाँदा खेरी खन्नलाई लेबरिङ् बढी हुन्छ ,’ उनले भने, ‘हालसम्म भेटिएको तरुल मध्ये हामीले जाँते तरुल राम्रो भेटेका छौँ, यसलाई प्रमोसन गर्ने गरी तयारी गर्दैछौँ ।’

उनले तरुल बिरुवा सार्न कठिनाइ भएको बताए । ‘तरुलको प्रसारण विधि, नयाँ बेर्ना बनाउन अलिकति कठिन किसिमको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षबाट बिरुवा प्रसारण छिटो अर्थात् कटिङ विधिबाट गर्ने तयारीमा छौँ ।’ 

नेपालमा हालसम्म तरुल वा कन्दमूलको क्षेत्र र उत्पादनको यकिन तथ्यांक भेटिँदैन । अधिकारीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा १३ सय २३ हेक्टर क्षेत्रफलमा तरुल खेती गरिएको थियो । सो बापत १९ हजार ७ सय ६६ मेट्रिक टन तरुल उत्पादन भएको थियो । सो समयमा प्रतिहेक्टर १४.९४ मेट्रिक टन उत्पादन भएको थियो । उनका अनुसार एउटै तरुल करिब १० देखि १२ केजी सम्म उत्पादन भएको देखिन्छ । किसानले क्षेत्र बढाउने उत्सुकता देखाएका अब तरुलको क्षेत्रफल विस्तार पनि गरिने जनाए । 

‘कन्दमूललाई हेलाको दृष्टिकोणले हेरिन्छ’

नेपालमा कन्दमूलमा खासै अनुसन्धान तथा तथ्यांक भएको पाइँदैन । कन्दमूल बालीलाई हेलाको दृष्टिकोणले हेरिएको विज्ञले बताएका छन् । नेपालमा हाल पाइने तरुल, सखरखण्ड, पिँडालु लगायत केही स्थानीय केही आयातित रहेको विज्ञहरूको भनाई छ । ‘केही स्थानीय र बाहिरबाट आयात भएको देखिन्छ ।’ राष्ट्रिय आलु बाली संरक्षण कार्यक्रमका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. प्रकाश भट्टराईले बताए ।

तरुल, सखरखण्ड, पिँडालु लगायत कन्दमूल स्वास्थ्यको लागि निकै फलदायी हुने भए पनि पर्व विशेष उपभोग गर्ने गरिन्छ । त्यस कारण यो बाली माग, उत्पादन के–कति हुने सरकारी तथ्यांकमा नभेटिएको भट्टराईले रातोपाटीलाई बताए ।

सखरखण्डको अनुसन्धान भएर सुन्तले सखरखण्ड १ र २ जात उन्मोचन भइसकेको भट्टराईले बताए । ‘सुन्तले सखरखण्ड १ एउटा पहेँलो गुडी पनि पहेँलो छ, अर्को सुन्तले सखरखण्ड २ बोक्रा रातो र गुडी पहेँलो छ ।’ उनले भने, ‘तिनीहरूबाट भिटामिन लगायत विभिन्न पौष्टिक तत्त्व पाइन्छ ।’

बाहिरबाट ल्याएका ४२ देखि ४३ जातका सखरखण्डको बीउ संरक्षण गरिएको भट्टराईले बताए । स्वास्थ्यको दृष्टिकोणले कन्दमूल राम्रो हुने भएकाले यस बालीलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने विज्ञहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप