भागबन्डा मुक्त बन्ला त विश्वविद्यालय ?
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । छ दशक लामो इतिहास भएको यो विश्वविद्यालय गणतन्त्र नेपालको स्थापनापछाडि राजनीतिक भागबन्डामा फसिरहेको छ ।
यो मात्रै होइन अरू ११ वटा विश्वविद्यालय र ४ वटा प्रतिष्ठानहरू पनि राजनीतिक भागबन्डाको सिकार बनिरहेकै छन् । भर्खरै त्रिभुवन विश्वविद्यालयले योग्यता, क्षमता र कार्यपत्रसहितको योजनामा आधारित भएर खुला र स्वच्छ प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट गरी अगाडि बढ्ने रणनीति बनाएको छ ।
के साँच्चै कुनै दल विशेषको प्रभावमा नपरी यो प्रक्रिया अगाडि बढ्ला त ? प्राज्ञिक मर्यादा कायम गर्ने सक्षम नेतृत्व त्रिभुवन विश्वविद्यालयले पाउला त ? कर्मचारी, शिक्षक भर्नालगायत शैक्षिक गुणस्तरका कार्यक्रममा सुधार होला ?
विसं २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएयता धेरै चुनैती र अवसरको सामना गर्दै अगाडि बढेको छ । विश्वविद्यालयले अनगन्ती अनुभव हासिल गरिसकेको छ भने देशको नेतृत्व तहमा रहेको प्रमुख कमजोरी भनेको यसले कहिल्यै अनुभवबाट पाठ सिक्न सकेन वा चाहेन, सधैँ आफूलाई शासक वर्गमै राख्ने प्रयत्न गरिरह्यो । जुन हाम्रो मुलुकका लागि दुर्दसा बनिरह्यो । विश्वविद्यालय त्यो संस्था हो, जसमा सबै प्रकारका विद्याको उच्च कोटिका शिक्षा दिइन्छ, परीक्षा लिइन्छ तथा मानिसलाई विद्यासम्बन्धी उपाधि आदि प्रदान गरिन्छ ।
युनिभर्सिटीमा प्रवेश गर्नु भनेको ज्ञानका लागि आफ्ना इच्छा पूरा गर्ने अवसरको संसारमा प्रवेश गर्ने दिशामा कदम बढाउनु हो । उच्च शिक्षाले हामीलाई प्रदान गर्न सक्ने अवसर र विकल्प विश्वविद्यालयमा उपस्थित हुन चाहने सबैका लागि मूलभूत सपना र भविष्य निर्माण गर्ने उद्देश्यसहित निरन्तर अध्ययन, अनुसन्धान, खोजी र चिन्तन गर्ने थलो हो । देशमा जागिर खाने जनशक्ति उत्पादन मात्र गर्ने होइन, त्यसको अतिरिक्त ज्ञानको खोजी गर्ने दक्ष प्राज्ञ तथा वैज्ञानिक उत्पादन गर्ने पनि हो ।
आज त्रिभुवन विश्वविद्यालय र अरू विश्वविद्यालय यो चरणमा छन् त ? राजनीतिक भागबन्डा मुक्त विश्वविद्यालय होला त ? प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्गठनको सोच यो उचाइमा तत्कालै बदलिएला त ? यी विविध प्रश्नका बिचमा आज विश्वविद्यालय उभिएको छ ।
- अस्तव्यस्त उच्च शिक्षा
नेपालको उच्चा शिक्षा अस्तव्यस्त र दयनीय अवस्थामा छ । हारवर्ड विश्वविद्यालय स्थापना हुँदा जम्मा चर जना विद्यार्थीबाट सुरुवात भएको थियो । हाल करिब २४ हजार विद्यार्थी अध्ययनरत छन् । अक्सफोर्ड विश्वविद्यालयमा जम्मा २६ हजार विद्यार्थी अध्ययन गर्छन् । तर त्रिभुवन विश्वविद्यालयमा करिब ७० प्रतिशत अर्थात् ४ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
कुरा सङ्ख्याको होइन गुणस्तरको हो । गुणस्तरीय शिक्षा प्रदान गरियो भने दक्ष र प्राज्ञिक तथा वैज्ञानिक उत्पादन गर्न सकिन्छ, जसले देश विकासमा टेवा पुग्छ । २०४७ सालको राजनीतिक व्यवस्था परिवर्तनसँगै राजनीतिक आवरणका नियुक्तिपछाडि थिङ्क ट्याङ्कका रूपमा स्थापना भएका अनुसन्धान केन्द्रहरू आर्थिक विकास तथा अनुसन्धान केन्द्र सेडा, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकास्ट, एसियाली अध्ययन केन्द्र सिनास र शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिड र अरू अनुसन्धानका कार्यक्रम मृत आवस्थाबाट गुज्रिरहेका छन् ।
शिक्षाको विकास, अन्वेषण तथा अनुसन्धानका निम्ति स्थापना भएका केन्द्रहरू नै पूर्ण रूपमा सक्रिय छैनन् भने उच्च शिक्षामा देशले कसरी फड्को मार्न सक्ला भन्ने चिन्ता अवश्य पनि छ । केन्द्रीय विभागहरू राजनीतिक खिचातानी र दैनिक कामकारवाहीमा मात्र व्यस्त समय बिताउनु त्रिविको दुर्भाग्य हो ।
- विश्वविद्यालय र विकृति
मुलुकको भविष्य बोकेको विश्वविद्यालय विकृतिको थुप्रो बन्नु हाम्रा निम्ति दुर्भाग्य हो भने प्राज्ञिक, गुणस्तरीयता ह्रास आउनु र दलीय भागबन्डाको सिकार हुनु र अनुसन्धानमूलक शिक्षालाई बेवास्ता गर्नु मुलुकलाई अधोगतितिर धकेल्नु हो । त्रिविभित्र गोल्डमेडलिस्ट बनाउन आर्थिक चलखेलमा फस्नु, परीक्षा प्रणाली कमजोर हुनु, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा दिन नसक्नु, राजनीतिक खिचातानीले तालाबन्दी, निषेध, दलीय प्रभावमा मात्र काम गर्नु, भ्रष्टाचारमा पदाधिकारी फस्नु, हाजिरी मेसिन बोकेर हिँड्नु, स्थायी बन्न प्रतिस्पर्धा होइन आन्दोलनलाई माध्यम बनाउनु, त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानि हुने स्थितिको निर्माण गर्नु विकृति हो ।
विश्वविद्यालय हाताभित्र न्यूनतम रूपमा हुनुपर्ने सभा, सम्मेलन हल, आधुनिक कक्षाकोठा, खोज तथा अनुसन्धान ल्याब, पुस्तकालय, व्यवस्थित क्यान्टिन, शौचालय र अथितिगृह नभेट्नु यसको कमजोरी हो ।
- योग्यता र क्षमताको स्थान
विश्वका हारवर्ड युनिभर्सिटी, अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी होस् या संसारका अन्य मुलुकका विश्वविद्यालयमा योग्यता, क्षमता, कार्यकुशलता र स्वच्छ प्रतिस्पर्धात्मक आधारमा उपकुलपति नियुक्ति हुने गरेको छ । तर नेपालमा भने अमुक राजनीतिक दलको कार्यकर्ता भर्ती गरी भागबन्डामा उपकुलपति नियुक्ति गर्ने परम्परा छ । यसले आज नेपालका सबै विश्वविद्यालयको गुणस्तर, भौतिक संरचना र दक्ष जनशक्तिका हिसाबले जीर्ण अवस्थामा छन् ।
भारतमा जेएनयू युनिभर्सिटीमा आफ्नै नियमअनुसार योग्यता र क्षमताका आधारमा उपकुलपति नियुक्त हुन्छन् । नेपालमा सरकारको नेतृत्व गर्ने दलबाट प्रभावित भई उपकुलपति नियुक्ति हुने गलत परम्परा छ । अहिले ध्वस्त हुँदै गएका विश्वविद्यालयमा स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति गरिने विषयले स्थान पाउँदै जाने आशा पलाएको छ । तर के साँच्चिकै कार्यान्वयन होला त ? त्रिविले विज्ञापन आह्वान गरेको भए पनि छनोट प्रक्रिया निष्पक्ष होला त ? के राजनीतिक दल र सरकार इमानदार होलान् त ? यिनै प्रश्नका बिचमा विश्वविद्यालयले नयाँ नेतृत्व पर्खिरहेको छ ।
- बदलिनुपर्छ अब राजनीतिक सङ्गठन
त्रिभुवन विश्वविद्यालयमा क्रियाशील प्राध्यापक सङ्घ सङ्गठन, कर्मचारी सङ्घ सङ्गठन तथा विद्यार्थी युनियनले आफूलाई कसरी परिभाषित गर्ने, आफ्ना विगतका कार्यबाट कति पाठ सिक्ने र आफ्ना क्रियाकलापको जिम्मेवारी कति लिने ? विश्वविद्यालयलाई नयाँ ढङ्गबाट निर्माण र सञ्चालन गर्न फरक टिप्पणी गर्नुभन्दा त्यस क्षेत्रका जिम्मेवार पदाधिकारीले सोच्नु, बोल्नु र कार्यान्वयनमा जान उचित हुने छ ।
पछिल्लो चरणमा विश्वद्यालयका धेरैजसो पदाधिकारी भ्रष्टाचार आरोपमा मुछिन थालेका छन् । बेथितिका नमुना बन्न थालेका छन् । त्यसपछि विद्यार्थीबाट अपमानित हुने स्थितिमा पुगिरहेका छन् । तर यस्ता क्रियाकलापमा सुधार ल्याउन सकिरहेका छैनौँ ।
यसमा जिम्मेवार, राजनीतिक नेतृत्वको अक्षमता र दूरदर्शिता अभाव त हुँदै हो तर प्राज्ञिक जमात पनि एकपछि अर्काे गर्दै सोही भड्खालोबाट जोगिन सकेन । यस कारण पदाधिकारी बन्ने लोभले दल र नेताका पछि लाग्न पुगेका प्राज्ञिक जमातले पनि विश्वविद्यालयको साख र गुणस्तर कायम गर्न देखिएको चुनौतीको जिम्मेवारी लिनै पर्छ ।
- कस्ता हुन आवश्यक छ हाम्रा विश्वविद्यालय ?
संसारको सबैभन्दा पुरानो विश्वविद्यालयका रूपमा मोरोक्कोको कुरुइन विश्वविद्यालय मानिन्छ । यो सन् ८५९ मा स्थापना भएको थियो । युरोपमा भने इटालीको बोलोग्ना विश्वविद्यालयलाई सबैभन्दा पुरानो मानिन्छ । यति पहिले स्थापना भएका विश्वविद्यालय वर्तमान समयमा पनि किन र कसरी विश्वभर स्थापित शैक्षिक एवं प्राज्ञिक गतिविधिको केन्द्र बनिरहन सफल भए भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
नेपालमा राणाशासनको अन्त्यपछि विसं २०१३ मा कलेज अफ एजुकेसनको स्थापना भयो । त्यसपछि विसं २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । धेरैपछि २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय बन्यो । यसको एउटै उद्देश्य संस्कृत भाषा, साहित्य एवं दर्शनका माध्यमबाट हिन्दु धर्मको रक्षा गर्ने देखिन्थ्यो ।
विश्वसनीय शैक्षिक एवं प्राज्ञिक कार्यक्रम र निश्चित उद्देश्य भएको विश्वविद्यालय मात्र सफल हुन सक्छ । नेपाली बौद्धिक समाजमा विगत लामो समयदेखि विश्वविद्यालयका सन्दर्भमा नियमित रूपमा छलफल, बहस र अन्तत्र्रिmयाहरू भइरहेका छन् । धेरैजसो मुद्दाहरू विश्वविद्यालयको नेतृत्व र व्यवस्थापनसँग सम्बन्धित रहे । हुन त विश्वविद्यालय स्थापना गर्ने वेलामा हामीले विश्वविद्यालय किन, कसरी र कसका लागि स्थापना गर्ने भन्ने विषयमा ध्यान पु¥याउन सकेनौँ तर विश्वविद्यालय गुणस्तरीय बनाउनका लागि निम्न पक्षलाई समेट्न आवश्यक पर्छ–
१. विश्वसनीय शैक्षिक कार्यक्रम र उद्देश्य,
२. भौतिक तथा प्राविधिक पूर्वाधारले सुविधा सम्पन्न,
३. अध्ययन, अनुसन्धान एवं प्रकाशनमा दृढता,
४. अनुसन्धान र शिक्षणमा स्तरीयता,
५. केन्द्रीकृत अनुसन्धान केन्द्र र अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार,
६. शिक्षामा पर्याप्त बजेटको व्यवस्था,
७. विद्यार्थी सङ्ख्यामा होइन गुणस्तरमा ध्यान जानुपर्ने र
८. विश्वविद्यालयलाई शैक्षिक हब बनाउने कार्ययोजना जस्ता कुराले सम्पन्न हुनु पर्छ ।
- कार्यान्वयन हुन्छ त ?
प्रधानमन्त्री तथा कुलपतिको निर्देशनमा बनेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति छनोट कमिटीले स्वच्छ र निष्पक्षताका आधारमा विज्ञापन आह्वान गरिरहँदा आशाका किरणसँगै शङ्का पनि उब्जेको छ । सरोकारवाला पक्ष विद्यार्थी सङ्गठन, कर्मचारी, प्राध्यापक र समुदायको वर्षाैंको दबाब र सङ्घर्षबाट एउटा निष्कर्षमा विश्वविद्यालय र सरकार पुगेको छ । तर छनोट प्रक्रियासँगै मापदण्डमा पुनः राजनीतिक दलकै मानिस ल्याउने हो भने आशा र नयाँ उत्साहमा रहेको विश्वविद्यालयको वातावरणमा पुनः निराशाबाहेक केही रहने छैन ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सरोकारवाला पक्षले यो स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति गर्ने कार्य निष्कर्षमा नपुग्दासम्म वाचडगको भूमिका खेल्न आवश्यक देखिन्छ । नेपाल सरकारले सफा नीतिका साथ यो निर्णयलाई कार्यान्वयन गर्न चाहेको हो भने नेपालको शिक्षा र यसले समाजमा पर्ने सकारात्मक सूचकाङ्कले पक्कै पनि विश्वसामु नेपालको विकासको नयाँ आयामको उपस्थिति हुने नै छ । तर फेरि पनि राजनीतिक गन्ध नियुक्तिमा देखियो भने विश्वविद्यालय टप सङ्कटमा पर्ने निश्चित छ ।
- अन्त्यमा
प्रविधिको विकासले हामी एक्काइसौँ शताब्दीमा छौँ । तर नेपाली विश्वविद्यालयमा प्रयोगशाला र तिनको उचित व्यवस्थापन एवं विकास र आधुनिकीकरण हुन सकेको छैन । विश्वविद्यालयका उपकुलपतिलाई अधिकार सम्पन्न बनाउँदै उपकुलपतिमा स्वतन्त्र प्राज्ञिक व्यक्तिको नियुक्ति अपरिहार्य भएको छ ।
विश्वविद्यालयले विद्यार्थी र शिक्षकलाई नियमित प्राज्ञिक अनुसन्धानमा जोड दिन सकेनन् भने यिनले प्रमाणपत्र उत्पादन गर्नेबाहेक विश्वविद्यालयको समाज रूपान्तरण र निर्माणमा खासै ठुलो योगदान दिन सक्ने देखिँदैन । प्राध्यापकलाई नियमित कक्षाबाहेक छुट्टै बसेर अध्ययन, अनुसन्धान गर्ने व्यवस्थापनसहितको वातावरण छैन । विश्वविद्यालय स्वयंले स्तरीय जर्नल नियमित रूपमा प्रकाशन गरेको भेटिन्न । अझ विडम्बना के छ भने सेवा आयोग र बढुवामा यस्ता जर्नललाई मूल्याङ्कनको मापदण्ड बनाइने काम गरिन्छ ।
अध्ययन र अध्यापनमा मोबाइल, कम्प्युटर र इन्टरनेट अधिकतम उपयोग कसरी गर्ने भन्ने जस्ता विषयमा खास गरी हाम्रो जस्तो अविकसित राष्ट्रका विश्वविद्यालयले बृहत् चिन्तनमनन गर्र्नु आजको आवश्यकता हो । अहिलेको समयमा पनि कक्षाकोठामा हुने हाजिरीका आधारमा मात्र विद्यार्थीको मूल्याङ्कन गरिरहनु कति उचित होला ? नेपालका विश्वविद्यालयले अब यसबारे पनि सोच्ने बेला भयो कि ? आशा गरौँ स्वच्छा प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपतिको नियुक्ति राजनीतिक पूर्वाग्रहबिना निष्पक्ष र प्राज्ञिक व्यक्तिको प्रतीक्षामा विश्वविद्यालय, प्रशासन, विद्यार्थी र प्राध्यापकहरू पखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै