चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्छ : राष्ट्रपति
काठमाडौँ, १ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका रहने बताएका हुन् ।
“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन् । पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ”, राष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ ।
सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्साउने उनको भनाइ छ । “हाम्रा धेरै पर्वहरू यसैगरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ”, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समयमै कानुन नबनाउँदा संघीयता कार्यान्वयनमा समस्या देखियो : अध्यक्ष दाहाल
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- आशातीत प्रगति हुन सकेको छैन तर निराश भइहाल्ने अवस्था छैन
-
कानुन विपरीत चलाए कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
-
मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन
-
माओवादी केन्द्रले फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने
-
क्यानडाले बदला लिए थप कर लगाइनेछ : राष्ट्रपति ट्रम्प