मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
मेलम्ची आयोजना

काठमाडौँ आइपुग्यो मेलम्चीको पानी, सिंहदरबारमा धारा खोलेर प्रधानमन्त्रीले वितरण शुभारम्भ गर्दै

आइतबार, २९ पुस २०८०, १६ : ५९
आइतबार, २९ पुस २०८०

काठमाडौँ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् । सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले रातोपाटीलाई जानकारी दिए ।

जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका प्रमुख अन्सारीले भने, ‘भोलिदेखि काठमाडौँको खानेपानी सिस्टममा दैनिक १७ करोड लिटर पानी आउँछ । सबै पानी सबैतिर एकैचोटी वितरण गर्न सकिँदैन, एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ । सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ ।’

एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने अन्सारीले जानकारी दिए । मेलम्ची खोलाबाट गत बुधवारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिवार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको उनले बताए । सुन्दरीजलमा पानी प्रशोधन भएर सो परिणामको पानी वितरण प्रणालीमा जाने अन्सारीले जानकारी दिए ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । त्यसपछि दिउँसो र राती गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजना भन्दा अगाडि नै पानी ल्याउन सफल भएको अन्सारीले बताए ।

उनले भने, ‘अहिले हामीले पठाउन थालेको पानी अब लगातार आउँछ । पछि केही मर्मत गर्नुपर्ने भविष्यको कुरा त अनिश्चित हुन्छ । अब वर्षा अघिसम्म लगातार नै पानी आउँछ । बर्सातमा हाम्रो मुख्य संरचना सुरुङ जोगाउनका लागि दुई–तीन महिनाचाहिँ पानी नआउने हुन्छ । अब बर्सातअघि चाहिँ निरन्तर पानी आउँछ ।’

काठमाडौँमा मेलम्चीको पानी आउन अव भौतिक रूपमा समस्या नभए पनि यसअघिको निर्माण व्यवसायी सीएमसीले स्थानीय ठेकेदार र व्यवसायीलाई रकम तिर्न बाँकी रहेकोले सो समस्या समाधान गर्न बाँकी रहेको छ ।

मेलम्ची खानेपानी काठमाडौँमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ । बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटक पटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोपछि काठमाडौँमा मेलम्चीको पानी नियमित रूपमा आउन सकिरहेको छैन । अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौँ आएसँगै बर्सातमा रोकिएको थियो । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप