आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
भक्का दिवस

के हो भक्का संस्कृति ? कहिलेदेखि मनाउन थालियो भक्का दिवस ?

आइतबार, २९ पुस २०८०, १६ : ३३
आइतबार, २९ पुस २०८०

विराटनगर । कोच राजवंशी समुदायको संस्कृतिको रूपमा विकास भइरहेको भक्का दिवस आज झापामा भव्य रूपमा मनाइएको छ । २०७४ साल पुस २९ गतेबाट कोचिला गाभुर फ्रन्टले सुरु गरेको भक्का दिवसको यो सातौँ संस्करण हो । भक्का दिवसकै अवसरमा झापाको भद्रपुर नगरपालिका, कचनकवल र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका छन् ।

विर्तामोडस्थित डुमरलाल राजवंशी रंगशालामा आयोजित भक्का दिवसमा हजारौँ मानिसको सहभागिता छ । ‘यहाँ ३० औँ हजार मानिसको सहभागिता छ । प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेतीसहित, एलपी सावा, भूमि राजवंशी, निमशरी राजवंशीलगायत सहभागी भए,’ सहआयोजक संस्था राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले भने ।

उनका अनुसार भक्का खाने चलन पौराणिककालदेखि हो । पूर्वजहरुले माघे सङ्क्रान्तिको अघिल्लो दिन छोरीचेलीलाई घरमा बोलाएर भक्का खुवाउने चलन थियो । त्यसकारण माघे सङ्क्रान्तिको अघिल्लो दिन पुस २९ गते नै दिवस मनाउन थालिएको उनको भनाइ छ ।

 

bhakka (5)

भक्का सनातन संस्कारसँग पनि जोडिएको छ । ‘महाभारतकालमा भीष्मपितामहले देहत्याग गर्दा मेरो शरीरमा भएका असङ्ख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जाँदैछु । मलाई चामलबाट चढाएको भक्का चढाइदिनू भन्नुभयो,’ राजवंशीले भने, ‘आफूलाई चढाएको भक्का जसले खान्छ, उसलाई मेरो शक्ति प्राप्त हुन्छ भन्नुभएको थियो । त्यहीदेखि भक्का संस्कृतिको रूपमा अझै मजबुत भएको मानिन्छ ।’

झापाका तीन पालिकाले भक्का दिवसमा सार्वजनिक बिदा दिनु र विगत तीन वर्षदेखि प्रधानमन्त्रीस्तरबाट शुभकामना व्यक्त हुनुले यो दिन सर्वस्वीकार्य दिवस बनेको राजवंशी बताउँछन् । ‘अहिले राज्यले पनि बजेट विनियोजन गर्ने र योजना बनाउने गरिरहेको छ । त्यसकारण अब भक्का दिवस सर्वमान्य भइसकेको छ । अहिले विभिन्न पात्रोमा पनि यो दिवस उल्लेख गरिएको छ । यसलाई राजवंशी जातिले ठुलो पर्वको रूपमा अगाडि बढाएको छ,’ उनले भने ।

आजमात्रै समारोहमा २ हजार किलो चामलको भक्का १ सय जनाभन्दा बढी दिदीबहिनी, आमाहरूले बनाइरहेका छन् । उक्त कार्यक्रमलाई ग्लोबल सेफ फाउन्डेसनले सहयोग गरेको छ र ५ सयभन्दा बढी वेटरले सहभागीलाई निःशुल्क भक्का वितरण गरिरहेका छन् ।

bhakka (4)

पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका कोच राजवंशी समुदायमा भक्का प्रचलित छ । अहिले भने सबै समुदायका मानिसहरूले भक्का खाने गर्दछन् । नेपालको भूमि पुत्रको ठुलो सभ्यता बोकेको र यो खानाको संस्कृति लोप हुँदै गएको कारण विश्वभर यो परिकार पस्किनसके नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष राजवंशीको विश्वास छ ।

जाडो महिना लागेसँगै बिहान बेलुकी तराईको लोकप्रिय खान्की भक्का बनाएर चोकहरूमा बेच्न महिला बसिरहेका भेटिन्छन् । बिहानीको चिसो मौसममा तातो भक्कालाई नास्ताको रूपमा पनि खाने गरिन्छ । हिउँद महिना लागेसँगै चोकहरूमा वरिपरि बसेर भक्का खानेको भिड बिस्तारै बढ्दै गएको छ ।

चामलको पिठोबाट बनाइने भक्कालाई सुपाच्य भोजनको रूपमा लिइन्छ । माटो वा अरू कुनै भाँडोमा पानी तताएर त्यसको बाफलाई स–साना प्वाल भएको माटोको प्लेटबाट बाहिर निकालेर त्यसमा चामलको पिठो राखिन्छ र सुतीको कपडाले छोपिन्छ । सोही पानीको बाफले चामलको पिठो पाकेपछि भक्का तयार हुन्छ ।

bhakka (3)

भक्कालाई चिया, धनियाँ र गोलभेँडाको अचार (चटनी), आलुचप, नुन–खुर्सानी आदिसँग खाने चलन छ । भक्का कुनै समुदायको पहिचान झल्काउने खानामात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बनेको छ । भक्का बेचेर हुने आम्दानीले यस क्षेत्रमा सयौँले सिजनल खर्च जुटाउने गरेका छन् । हिउँद महिनाभर भक्का बेचेर घरको गर्जो टार्नेहरू यस क्षेत्रमा प्रशस्त छन् ।

धनपालथान गाउँपालिकाकी ३६ वर्षीय कृष्णदेवी पासवान विराटनगरमा ३ वर्षदेखि भक्का पकाएर बेच्ने काम गर्दै आएकी छन् । विराटनगरको मधुमारामा डेरा लिएर परिवारसँग बस्दै आएकी उनी जाडो यामभरि भक्का पकाएर बेच्छिन् र बाँकी समय मकै पोलेर परिवारको आवश्यकता पूरा गर्छिन् ।

bhakka (2)

भक्का बेच्नेहरुले पेसाको रूपमा त्यसलाई अवलम्बन गरेका छन् र त भक्कामोह भएकी प्रिया राजवंशी लगायतले विराटनगर बजारमा पनि सहजै चाहेको बेलामा खान पाएका छन् । प्रिया भन्छिन्, ‘भक्का मलाई एकदमै मनपर्छ, सानैदेखि खाएकाले पनि होला, जाडो महिना लागेपछि भक्का खाउँखाउँ लाग्छ र खान पाउँदा सन्तुष्टि मिल्छ ।’ उनले बजारमा भक्काको मूल्य अलि महँगो भएको गुनासो गरिन् ।

विराटनगर–९ मेनरोडको सडक छेउमा कृष्णी महतो पनि भक्का बिक्री गरेरै जीविकोपार्जन गरिरहेकी छन् । भक्का पकाएर बेच्न कै लागि विराटनगर–८ मधुमाराबाट उनी आउने गर्छिन् । पहिले श्रीमानको कमाइले मात्रै घर चलाउन गाह्रो पर्ने गरेको सुनाउँदै उनले अहिले आफूले भक्का बेच्न थालेपछि घर चलाउन सहज भएको बताइन् । उनी बिहान र साँझको समय भक्का बेच्ने गर्छिन् ।

bhakka (1)

बजारका तयारी खाजाभन्दा भक्का स्वास्थवर्धक भएकाले यसको मोह बढ्दो छ । विराटनगर–३  की बबिता मिश्र आफूले दैनिक रूपमा साँझ अफिसबाट फर्किँदा भक्का खाने गरेको बताउँछिन् । ‘बजारका जंकफुड भन्दा स्वास्थ्यका लागि भक्का फाइदाजनक छ । त्यही भएर अफिसमा खाजा खान्न, कतिबेला अफिस सकेर भक्का पाउने ठाउँ पुगौँजस्तो हुन्छ । भक्का दिनहुँ खान्छु ।’

चिसोको समयमा बिहान कलेज जाने शिक्षक तथा विद्यार्थीहरू, साँझ अफिस साथै आफ्नो पेसा व्यवसायबाट घर फर्कनेहरूले भक्का मिठो मानेर खाने बिक्रेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप