रामबहादुर बम्जन र उनका अनुयायीले भोगचलन गरेको बाराको वन क्षेत्रका संरचना हटाउने तयारी (तस्बिरहरु)
बारा । ‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र बनाएका संरचना हटाउन निकुञ्जले पहल सुरु गरेको छ ।
तत्कालीन जिल्ला वन कार्यालयको क्षेत्रधिकारभित्र रहेको हलखोरिया र आसपासको क्षेत्रमा २०६२ जेठदेखि रामबहादुर बम्जन र उनका अनुयायीले भौतिक संरचना बनाएर भोगचलन गर्दै आएका थिए । बम्जनले ध्यान गरेको स्थलमा अहिले पनि केही अनुयायीले दैनिक सरसफाइ र पूजाआजा गर्ने गर्दछन् ।
सो ठाउँमा २०७४ सालपछि निकुञ्ज कर्मचारी र सेनाको टोलीले भवनको झ्याल भत्काएको थियो । भत्किएकोे संरचनामा पनि बम्जनका केही अनुयायी बस्दछन् । बम्जन बाराको हलखोरियामा ध्यानमा बस्दा १४ वर्षका थिए ।
२०७२ सालमा हलखोरियालाई निकुञ्जको विस्तारित क्षेत्रभित्र समेटेपछि कोर क्षेत्रभित्र बनेका भवनहरुको झ्याल सेना र निकुञ्जले भत्काएको हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बम्जनको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेकाले मन्त्रालय वा विभागबाट कुनै निर्देशन आउनासाथ बाँकी भएका संरचना पनि हटाउने बताए ।
‘हुन त राष्ट्रिय निकुञ्जभित्र बनेका संरचना हटाउन हामीलाई माथिको आदेश कुर्नु पर्दैन, तै पनि यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले मन्त्रालय, विभागबाट के निर्देशन आउँछ भनेर हामी कुरिरहेका छौँ,’ खतिवडाले भने ।
राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्ज क्षेत्रभित्र कुनै पनि धार्मिक संरचना बनाउन बर्जित गरेको छ । प्रमुख संरक्षण अधिकृत खतिवडाले पुराना संरचना बस्न योग्य नभएको बताएका छन् ।
बम्जनविरुद्ध व्यक्ति बेपत्ता, यौनजन्य दुर्व्यवहार लगायतमा आरोप लागेपछि उनी बाराको हलखोरियाबाट सिन्धुली गएका थिए ।
जीतपुरसिमरा उपमहानगर– १८ का हस्तबहादुर आलेको छोरा सुरेश बहादुर आले बम्जनको आश्रम स्थलबाटै बेपत्ता भएको प्रहरीमा उजुरी छ । २०६१ सालमा बाराको निजगढ नगरपालिका वडा नं १२ रतनपुरीमा जन्मिएका बम्जन सुरुमा निजगढ रतनपुरीकै कल्की सामुदायिक वनमा ध्यानमा बसेका थिए । १० महिना सोही ठाँउमा बसेका बम्जन त्यसपछि हलखोरिया वन क्षेत्रभित्र ६ वर्ष बसेका हुन् ।
२०६२ सालदेखि बम्जनसँगै रतनपुरी आश्रमा बसेका बेदबहादुर थिङले प्रचलित कानुनले कसुरदार ठहर गरे बम्जनले कारबाही भोग्नुपर्ने बताए । ‘गल्ती गरेको छ भने कारबाही नहोस् हामी भन्दैनौँ, जुनसुकै साधु सन्त भए पनि ठोस प्रमाण नभइकन एउटा निवेदनको भरमा चाहिँ कसैलाई दोषी भन्न मिल्दैन,’ थिङले भने, ‘द्वन्द्वकालमा यहाँ लाखौँ लाख मान्छे आए÷गए, उहाँ ध्यान÷साधनामा बस्नु भएको व्यक्ति हो, आज १९ वर्ष भइसक्यो, अहिले आएर यो विषय किन सार्वजनिक गरियो भन्ने पनि प्रश्न छ ।’
थिङले बम्जनलाई गुरु मानेर बसेकोमा अहिले भएका घटनालाई लिएर दुःख लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय