वातावरण बनाइदिए १० वर्षमा १० हजार विद्युत् उत्पादन सम्भव छ : ऊर्जा व्यवसायी
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको विद्युत् खरिद–विक्री सम्झौता यतिबेला चर्चाको विषय बनिरहेको छ । धरैले विद्युत् व्यापार सम्झौतालाई नेपालको विकास र समृद्धिको जगका रूपमा बुझेका छन् । उक्त सम्झौताले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्रिनेसमेत धेरैको आङ्कलन छ ।
केहीले उक्त सम्झौतालाई विगतकै सम्झौताहरूको निरन्तरताको रूपमा बुझेका छन् । भारतले विभिन्न सर्तहरू राखेर विद्युत् खरिद गर्न तयार भएको टिप्पणीसमेत हुने गरेको छ । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) र ऊर्जा व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।
अन्तर्क्रियामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले देश विकास र समृद्धिको पहिलो आधार जलस्रोत नै रहेको बताए । उनले देशका युवाहरू सबै पलायन भइरहेको अवस्थामा पहिलो प्राथमिकतामा जलस्रोतलाई राखेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेपालमा जलस्रोतका अपार सम्भावना रहेको र छिमेकी देश भारत र बंगलादेशमा बजार रहेको उनले बताए ।
‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने भनेर सम्झौता भएको छ । बंगलादेशले ५ हजार मेगावाट विद्युत् लाने इच्छा जाहेर गरेको छ ।’ उनले भने, ‘४० मेगावाट चाहिँ बंगलादेशलाई पनि सुरु गर्नका लागि त्रिदेशीय सम्झौता हुने क्रममा रहेको छ । हामीमा जलस्रोतको अपार सम्भावना छ र छिमेकीमा बजार छ ।’
सरकारले १० हजार मेगावाट भारतलाई बेच्ने, ५ हजार मेगावाट बंगलादेशलाई बेच्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत गर्नेगरी योजना ल्याएको उनले बताए । उनले उक्त योजना कार्यान्वयन र विद्युत् उत्पादन सम्भव छ त ? भन्ने प्रश्न अहिले खडा भएको बताए । उनले जलविद्युतको एक सय १३ वर्षको इतिहासमा २ हजार आठ सय ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको बताए । तर, सरकारले १२ वर्षमा २८ हजार ७ सय मेगावाट बनाउने भनेर योजना बनाएको उनले बताए ।
निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा गरिएको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्न सकेको खण्डमा यो सम्भव रहेको उनको भनाइ छ । उनले सरकारले सबैभन्दा पहिला वन मन्त्रालयका नीति र ऐनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । अहिले सबैभन्दा ठुला समस्या वनसँग सम्बन्धित कानुन रहेको उनको भनाइ छ । जलविद्युतको तालुकदार मन्त्रालय ऊर्जा मन्त्रालय भएको बताउँदै उनले सो मन्त्रालयमा सहसचिवको नेतृत्वमा सबै मन्त्रालयका अधिकृतहरू राखेर वान–डेस्क–सिस्टमको विकास गरेर काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
सरकारले निजी क्षेत्रलाई वातावरण बनाइदिएको खण्डमा लक्ष्य पूरा हुने उनको भनाइ छ । अहिले पीपीएको पर्खाइमा रहेका र पीपीए भएका आयोजना २२/२३ हजार मेगावाट विद्युत् आयोजना निजी क्षेत्रसँग रहेको बताए । उपयुक्त वातावरण बनेको खण्डमा ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारा यथार्थमा परिणत हुने उनले बताए । अन्य देशहरू पनि प्राकृतिक स्रोत साधनको प्रयोग गरेर नै धनी भएका उनले बताए । उनले नेपालले पनि जलस्रोतलाई अधिकतम प्रयोग गर्न सक्नुपर्ने बताए ।
त्यसैगरी, ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राज्य विकासका लागि र जनताको दुःखमा संवेदनशील बन्न नसकेको टिप्पणी गरे । उनले अहिलेको अवस्थामा राज्यले पहिला यो देशमा केही गर्न सकिन्छ र केही हुन्छ भन्ने आशा आम नागरिकमा जगाउन जरुरी रहेको बताए । यदि आशा जगाउन नसकेको खण्डमा निकट भविष्यमै युवा विहीन नेपाल हेर्नुपर्ने उनले बताए ।
भारतसँगको विद्युत् व्यापार सम्झौता नेपालको समृद्धि र विकासका लागि महत्त्वपूर्ण रहेको उनले बताए । उनले उक्त सम्झौताले जलविद्युतको क्षेत्रमा आशाको विन्दु जगाएको बताए । इपान लगायत जलविद्युतका क्षेत्रका लगानी कर्ताले धेरै लामो समयदेखि जलविद्युत उत्पादनबारे बोलिरहेको भए पनि भारतको सहमतिविना त्यो सम्भव नदेखेको उनले बताए । बजार सुनिश्चित भएपछि लगानी भित्रिनेमा आफू विश्वस्त रहेको उनले बताए ।
‘कुलमानजीले हामीलाई ९ रुपैयाँ एभरेजमा नेपालीलाई बिजुली बेच्नुहुन्छ । भारतमा साढे १० रुपैयाँ नेपालीमा एक्सपोर्ट गर्नुहुन्छ । कत्ति राम्रो अवस्था आएको छ ! १० वर्षमा १० हजार मेगावाट भनेर इपान र म आफैँले बोलिराखेको १२÷१४ वर्ष भयो ।’ उनले भने,‘तर, भारतको सहमतिविना यो सम्भव थिएन । अहिले भारत खुलेर आएको अवस्था छ ।’
सरकारले १० हजार मेगावाट उत्पादन १० वर्षमा नभएर ७ वर्षमा उत्पादन गर्ने लक्ष्य राख्नुपर्ने उनले बताए । उनले १० हजार मेगावाटको भाषण गरेर मात्रै नहिँड्न नेताहरूलाई सुझाव दिए ।
नेताहरूले भाषण मात्रै गरेर हिँडेको खण्डमा राज्य देखाएको सपना र अवसर शून्यतामा जाने खतरा रहेको उनको भनाई छ । नेपालले नीति परिवर्तन नगरेसम्म यो सम्भव नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म