माओवादीको विधान मस्यौदा : कसरी गरिन्छ नेताहरूको कार्य विभाजन ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका हरेक तहका समितिले आफ्ना पदाधिकारी र सदस्यको कार्य विभाजन आफैँ गर्नेगरी प्रस्ताव गरिएको छ । माओवादीको संशोधन मस्यौदा विधान–२०८० को धारा ४५ मा यसबारे आवश्यक व्यवस्था गरिएको हो ।
‘कार्य विभाजन, जिम्मेवारी पालना, अनुगमन तथा मूल्याङ्कन’ शीर्षकमा प्रस्तावित मस्यौदा विधानमा भनिएको छ, ‘सबै तहका समितिले कार्य विभाजन गर्दा सामान्यतया एउटा मुख्य र आवश्यकताअनुसार सहायक जिम्मेवारी तोक्नेछन्, तर पार्टी समितिको हकमा एक व्यक्ति एक समितिको मान्यतालाई अवलम्बन गर्नुपर्नेछ ।’
यस्तै केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गर्दा सामान्यतः केन्द्रीय कार्यालय, केन्द्रीय विभाग, जन वर्गीय, पेसागत, मोर्चा तथा सामाजिक संगठन, मातहत समिति, उपत्यका विशेष समिति र प्रवास समितिको काममा प्रमुख तथा उपप्रमुख वा इन्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी केन्द्रीय समितिले तोक्ने विधानमा प्रस्ताव गरिएको छ ।
यसैगरी सबै तहका समितिमा कार्य विभाजन गर्दा पार्टी संगठन र राजकीय कामको आलोपालो गरिने उल्लेख छ । कुनै पनि सदस्यलाई राजकीय कार्य विभाजन गर्दा दुई कार्यकालभन्दा बढी नगरिने मस्यौदा विधानमा प्रस्ताव गरिएको छ ।
पार्टी इन्चार्जको व्यवस्थाबारे प्रस्तावित मस्यौदा विधानमा भनिएको छ, ‘पार्टीको नीतिगत, निर्देशन, रेखदेख र समन्वयका लागि हरेक तहको पार्टी समितिले आफ्नो पार्टीको मातहतको पार्टी समिति, आफ्नो तहमा रहेको मोर्चा, जबस, पेसागत संगठन र विभागहरूमा इन्चार्जको व्यवस्था गरिनेछ ।’
यस्तै विभाग तथा मोर्चाहरूमा इन्चार्जको काम कर्तव्य र अधिकार पनि माओवादीले प्रस्ट पारेको छ । जसमा पार्टीको तर्फबाट वैचारिक राजनीतिक नेतृत्व दिने, राजनीतिक रूपमा सम्पर्क र समन्वय गर्ने, पार्टीका नीति निर्णयहरूको सम्प्रेषण तथा स्पष्ट पार्ने, पार्टीको विचार राजनीतिअनुरूप संगठन निर्माण र विस्तार गर्ने र पार्टीका निर्णयहरू कार्यान्वयन गर्न सहजीकरण गर्ने स्पष्ट गरिएको छ ।
यस्तै धारा ४६ मा प्रत्येक समितिले आफ्नो र मातहतका समितिहरू, सदस्यहरूको कामको अनुगमन र मूल्याङ्कन गर्नुका साथै त्यसको अभिलेखीकरण गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै विधान मस्यौदामा जन वर्गीय, पेसागत, मोर्चा, सम्पर्क मञ्च, प्रवास क्षेत्र र अन्य सामाजिक सङ्गठनका कामहरूबारे पनि स्पष्ट गरिएको छ । जसअनुसार धारा ४७ मा जन वर्गीय, पेसागत, मोर्चा तथा अन्य सामाजिक सङ्गठन गठन गरी सञ्चालन गर्ने उल्लेख छ । त्यसको वैचारिक नेतृत्व पार्टीले गर्ने र जबस मोर्चाहरूमा समितिको कुल सदस्यको बढीमा एक तिहाइसम्म संगठित सदस्यहरू रहन सक्ने व्यवस्था गरिएको छ । यस्तै विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर अस्थायीरुपमा बसोबास गरिरहेका नेपालीहरूको बिचमा विभिन्न तहका सम्पर्क मञ्चहरू बनाइ सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । मञ्चहरूको गठन र सञ्चालन आआफ्नै विधानअनुसार हुने स्पष्ट गरिएको छ । सम्पर्क मञ्चहरूभित्र पार्टी समिति निर्माण र विस्तार गर्ने काम काठमाडौँ उपत्यका विशेष प्रदेश समितिले गर्ने व्यवस्था गरिएको छ ।
यस्तै प्रवासी नेपाली नागरिकहरूको बिचमा सम्पर्क र सम्बन्ध विस्तार गर्न, देशभक्ति एवम् राष्ट्रिय एकताको भावना जागृत गराइराख्न, प्रवासी नेपालीको हकहितको रक्षा गर्न र नेपालीको समस्या समाधानका लागि सहजिकरण गर्न प्रवासमा पार्टीले विभिन्न प्रकारका संरचनाहरु गठन गरी सञ्चालन गर्ने मस्यौदा विधानमा उल्लेख छ । प्रवासमा रहेका नेपालीहरु नेपालको प्रतिष्ठालाई स्थापित गर्न र विश्व समुदायको बिचमा जनस्तरमा भ्रातृत्व सम्बन्ध विस्तार गर्न प्रयत्नशील रहने स्पष्ट गरिएको छ ।