आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

अर्थराजनीतिमा क्वान्टम सिद्धान्तको प्रयोग

आइतबार, २९ पुस २०८०, १० : १२
आइतबार, २९ पुस २०८०

वर्तमान युग विज्ञान र प्रविधिको युग हो । वैश्विक समाज विज्ञान र प्रविधिबाट सञ्चालित छ । त्यस कारण समाजको अध्ययन, मूल्याङ्कन, विश्लेषण र व्याख्या वैज्ञानिक दृष्टिकोणबाट गर्नु पर्छ । यसरी विज्ञानको आँखाबाट समाजलाई हेर्ने, बुझ्ने, परिवर्तन गर्ने र उन्नत गन्तव्यतर्फ डोर्‍याउनका लागि अर्थराजनीतिलाई विज्ञानसम्मत बनाउनुपर्छ । 

विज्ञानका दार्शनिक कार्ल पोपरका अनुसार यदि विज्ञान गलत साबित हुन तयार हुँदैन भने त्यो विज्ञान हैन, धर्मशास्त्र हो । त्यो अधिभूतवादी दर्शन हो । विज्ञान हुनका लागि गलत साबित हुने सामर्थ राख्नुपर्छ । तर धर्मशास्त्र र अधिभूतवादी दर्शनले गलत साबित हुने सामर्थ राख्दैनन् । त्यस कारण विज्ञानले अन्तरिक्ष र प्रकृतिमाथि क्रमशः विजय हासिल गर्दै प्रकृति, मानव समाज र चिन्तनका क्षेत्रका नयाँ नयाँ रहस्य उदघाटन गर्दै तीव्र विकास गर्दै गएको छ भने धर्म र अधिभूतवादी दर्शन अस्तित्व बचाउको अवस्थामा पुगेका छन् । 

दर्शनको तुलनामा विज्ञान सत्य हुन्छ । मानिसका चर्म चक्षुले विशाल ब्रह्माण्डलाई देख्न सक्दैन । सूक्ष्म अणु र परमाणुलाई पनि देख्न सक्दैन । केवल मध्यमस्तरका वस्तुलाई मात्र देख्न सक्छ । त्यस कारण विज्ञानको ज्ञान नभएका मानिसहरूको ज्ञान मध्यमस्तरको मात्र हुन्छ । 

क्वान्टम सिद्धान्तको खोज सन्, १९०० मा जर्मन वैज्ञानिक म्याक्स प्लाङ्कले गरेका थिए । जसले सूक्ष्म घटनाको व्याख्या र विश्लेषण गर्छ अर्थात् सूक्ष्म जगतमा घट्ने घटनाहरूको अध्ययन गर्ने वैज्ञानिक सिद्धान्त क्वान्टम सिद्धान्त हो । बृहत् स्तरको घटनाको अध्ययन सापेक्षताको सिद्धान्तले गर्दछ भने मध्यम स्तरको घटनाको अध्ययन यान्त्रिक सिद्धान्तले गर्दछ । त्यस कारण क्वान्टम सिद्धान्त बृहत् विज्ञानको एउटा सानो अंश मात्र हो । 

क्वान्टम सिद्धान्तको अध्ययनले मात्र बृहत् वा समग्र विज्ञानको ज्ञान हासिल गर्न सकिँदैन । क्वान्टम पदार्थ, ऊर्जा वा हरेक परिघटनाको सबभन्दा सानो एकाइ हो । जस्तै प्रकाशको सबभन्दा सानो एकाइ फोटोन । पदार्थको सबभन्दा सानो एकाइ क्वार्क वा क्वान्टा । समयको सबभन्दा एकाइ सेकेन्ड इत्यादि । यही अति सानो कण वा एकाइको गतिबाट नै क्वान्टम मेकानिक्सको अवधारणको सूत्रपात भएको हो । क्वान्टम मेकानिक्स आधुनिक भौतिकशास्त्रको आधारभूत अङ्ग हो । जुन अति साना कणसँग सम्बन्धित छ र अनिश्चितता र सम्भावनालाई स्वीकार गर्दछ । क्वान्टम मेकानिक्स सबभन्दा आधारभूत तहमा कणको गतिशीलताको अध्ययन हो । जसले आणविक र परमाणिक स्तरमा पदार्थ र ऊर्जाको यथार्थ वर्णन गर्दछ । 

सारमा पारमाणिक वा सोभन्दा सानो स्तरमा पदार्थ र ऊर्जाको प्रकृति र व्यवहार नै क्वान्टम मेकानिक्स वा क्वान्टम फिजिक्स हो । सुरुमा यो सिद्धान्तप्रति असहमति जनाउँदै आइन्स्टाइनले भनेका थिए– भगवानले पासा खेल्नु हुन्न । 

  • क्वान्टम सिद्धान्तका नियमः

विछिन्नताको नियमः शक्ति वा वस्तु अविछिन्नताका रूपमा हैन विछिन्नताका रूपमा रहेको हुन्छ भन्ने रहस्यको उद्घाटन क्वान्टमको यो नियमले गरेको हो अर्थात् असङ्ख्य सूक्ष्म कणहरूको संयोजनले एउटा पदार्थको निर्माण भएको हुन्छ । 

यो नियम वैज्ञानिक म्याक्स प्लाङले प्रतिपादन गरेका थिए । यसका लागि उनलाई सन् १९१८ मा नोबेल पुस्कार दिएको थियो । 

कण तरङ्ग द्वैतताको नियमः शास्त्रीय विज्ञानले कण र तरङ्गलाई अद्वैत रूपमा हेर्दथ्यो । क्वान्टम सिद्धान्तले मात्र कण र तरङ्ग जस्ता सूक्ष्म वस्तुलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने सामर्थ राख्यो । 

तरङ्ग शक्तिको रूप हो भने कण पदार्थको रूप हो अर्थात् कण र तरङ्गमा भेद हुन्छ । त्यसैले यो नियमलाई कण तरङ्ग द्वैतताको नियम भनियो । यो नियम फ्रान्सेली वैज्ञानिक लुई डी ब्रोग्लीले पतालगाएका थिए । यसका लागि उनलाई सन् १९२९ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो । 

अनिश्चितताको नियमः शास्त्रीय विज्ञानले प्रकृतिका घटना र विज्ञानका नियमहरू निरपेक्ष र सुनिश्चित हुन्छन् भन्ने मान्यता राख्दथ्यो । तर क्वान्टम सिद्धान्तले सूक्ष्म जगतमा सुनिश्चितताको नियम लागु हुँदैन भन्ने प्रमाणित गर्‍यो अर्थात् सुनिश्चितताको सट्टा अनिश्चितता वा सम्भाव्यताको नियम स्थापित गर्‍यो । 

यो नियम जर्मन वैज्ञानिक वेर्नर हाइजनवर्ग सन् १९२७ मा प्रतिपादन गरेका थिए । जसका लागि उनलाई सन् १९३२ मा नोबेल पुरस्कार प्रदान गरियो । यी तीनवटा नियमको योग नै क्वान्टम सिद्धान्त हो । 

  • क्वान्टम सिद्धान्तको परिणामः

खास गरी सन् १९९० को दशकदेखि विश्वमा प्राविधिक क्रान्तिको दशक सुरु भयो । जसमध्ये तीनवटा क्रान्तिलाई प्रमुख मान्न सकिन्छ । जुन क्रान्तिले विश्वलाई एक प्रकारले प्रकाश सापेक्ष गतिले रूपान्तरण गर्‍यो भन्दा सायद अत्युक्ति नहोला । 

नानो टेक्नोलोजीः जसले नयाँ उन्नत र शक्तिशाली औद्योगिक सामग्रीको आविष्कारमा क्रान्ति ल्यायो । जस्तै स्मार्ट फोन, ल्याक्टप, मेडिसिन, ऊर्जा इत्यादि । 

डीएनए अणुमा आधारितः जसले जैविक टेक्नोलोजीमा अद्भुत क्रान्ति ल्यायो । यसले जैविक जानकारीको भण्डारण गर्छ । यो प्राणीमा भएको आनुवंशिक अणु हो । जसले जीवलाई बढ्न, विकास गर्न र पुन उत्पादन गर्न आवश्यक निर्देशन गर्छ । 

सिलिकन चिप्सको टेक्नोलोजीमा आधारितः यसले सूचना र प्रविधिमा नवीन क्रान्ति ल्यायो । जसका कारणले एआईसम्मको विकास सम्भव भयो । यसरी विज्ञान र प्रविधिको क्षेत्रमा क्वान्टम सिद्धान्तले नयाँ क्रान्तिको सूत्रपात गर्‍यो । हरेक क्रान्ति मुलुक विशेष हँुदै वैश्विकस्तरमा फैलिने हुँदा र क्रान्तिको सिङ्गो व्यवस्थापन हरेक देशको सरकारले गर्ने भएको हँुदा क्रान्तिले अर्थराजनीतिलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । 

यो दृष्टिकोणबाट हेर्दा क्वान्टम सिद्धान्तले अर्थराजनीतिलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । क्वान्टम सिद्धान्त यसका नियम र यसले ल्याएका परिणामको माध्यमबाट विश्व राजनीतिमा जस्तो प्रभाव पर्‍यो त्यसको वाछिट्टा नेपाली राजनीतिमा पर्नु स्वाभाविक हो । विज्ञानको ज्ञानले वैज्ञानिक दृष्टिकोण बन्दछ र वैज्ञानिक दृष्टिकोणले लेस भएको नेतृत्वले मात्र मुलुकको अर्थराजनीतिलाई विज्ञान सम्मत ढङ्गले नेतृत्व प्रदान गर्न सक्छ । उदाहरणका लागि विश्व पुँजीवादले पटक पटक सङ्कट बेहोरेको छ । तर हरेक सङ्कटपछि झनै परिष्कृत भएर आफूलाई विकास गर्दै लगेको छ । जसको लुकेको रहस्य भनेको विज्ञानसम्मत आफ्नु अर्थराजनीतिलाई ढाल्दै लैजानु हो । जस्तै ई गभर्नेन्स, डिजिटल इकोनोमी, रोबर्टिक्स । सरकारको प्रमुख कार्य अर्थ राजनीतिको प्रगतिशील व्यवस्थापन गर्नु हो । 

अर्थशास्त्र र राजनीतिको अन्तरसम्बन्ध नै अर्थ राजनीति हो । बृहत् अर्थमा राज्य, समाज, व्यक्ति र बजार व्यवस्थाबिचको अन्तत्र्रिmयात्मक सम्बन्धलाई अर्थराजनीति भनिन्छ । राज्य र बजारबिचको अन्तर्विरोधलाई अर्थराजनीतिको माध्यमबाट समाधान गर्नु पर्छ । प्रशासन, राजनीति र आर्थिक उन्नतिलाई जनताको भलाइसँग जोडनुपर्छ । देश विकासका लागि राजनीति, अर्थतन्त्र र प्रशासन उन्नत र परराष्ट्रनीति सन्तुलित हुनुपर्छ । तर नेपाली अर्थराजनीतिलाई किन आजको विज्ञान र प्रविधिको युगमा पनि विज्ञानसम्मत बनाउन सकिएन । यसका कारणको पहिचान गरी निराकरणका उपाय खोज्न आवश्यक छ । यसका कारण र निराकरणका उपायहरू देहाय बमोजिम देखिन्छन् । 

पुराना धारणा परित्याग गर्न नसक्नुः राज्य सञ्चालनको मुख्य तत्त्वहरूमा अर्थराजनीति, प्रशासन र परराष्ट्र नीति पर्दछन् । विश्वव्यापी रूपमा विज्ञान र प्रविधिमा जसरी परिवर्तन आयो, विश्व अर्थतन्त्र, शासन प्रणाली, शासकीय स्वरूप, मार्केट प्रोफाइलिङ, वैश्विक व्यवस्था प्रणाली, सानो सरकार र चुस्त प्रशासनको साथै सन्तुलित र सम्बद्धतासहितको परराष्ट्र नीति तथा चार्म अफेन्सिबसहितको कूटनीतिमा व्यापक रूपमा विज्ञानसम्मत परिवर्तन आएको छ । तर हाम्रो राजनीतिक नेतृत्व वृद्धतन्त्र उन्मुख, परम्परागत सोच तथा दृष्टिकोणबाट ग्रसित, शास्त्रीय राजनीतिक चिन्तन, मार्क्सवाद, समाजवाद, समाजवादउन्मुख, राजतन्त्रसहितको लोकतन्त्र, सार्क, असंलग्न आन्दोलन, अमुक सिद्धान्त जस्ता अधिभूतवादी चिन्तनले ग्रस्त छ । मुलुकलाई अग्रगमनतर्फ लैजानका लागि सर्वप्रथम यी पश्चगामी चिन्तनबाट मुक्त हुनुपर्छ । वैश्विक सापेक्षतामा आधारित एजेन्डा ले निर्दिष्ट गरेको सन्तुलित विकासको नयाँ मोडल अपनाउनुपर्छ । 

द्वैततालाई स्वीकार गर्नेः द्वैततको अर्थ बहुलता, विविधता वा भेद हो । यो क्वान्टम सिद्धान्तको महत्त्वपूर्ण नियम हो । समाजमा रहेको बहुविविधता, राजनीतिक प्रणालीमा रहेको बहुविचार, विश्व अर्थतन्त्रमा रहेको बहुढाँचा, बहुध्रुवीय विश्वराजनीति र परराष्ट्र नीतिलाई स्वीकार गर्नुपर्छ । जसरी पदार्थ र चेतनाको बिचमा, व्यक्ति र समाजका बिचमा, नेतृत्व र प्रणालीको बिचमा भेद छ । तर सँगै रहन्छन । एक्लाएक्लै भएमा दुवैको अस्तित्व रहँदैन । साथै हरेक घटनालाई एक रेखीय दृष्टिकोणबाट हैन बहुरेखीय दृष्टिकोणबाट हेर्ने धारणा बनाउनुपर्छ । वर्तमान समस्याको समाधान पुराना नेताको पुराना किताबमा खोज्ने हैन, आधुनिक विज्ञानमा खोज्नुपर्छ । 

अवास्तविकता वा सम्भाव्यतालाई स्वीकार गर्नुः क्वान्टम सिद्धान्त अनुसार हरेक सत्यहरू निरपेक्ष सत्य हैन । सापेक्ष सत्य मात्र हो । वास्तविकता हैन लगभग मात्र हो । समाज विकास क्रममा पुँजीवादबाट समाजवाद आउँछ भन्नु एउटा सम्भावना मात्र हो । सुनिश्चित वा ग्यारेन्टी हैन । गुरुत्वाकर्षणको सिद्धान्त पृथ्वीमा मात्र लागु हुन्छ । अन्तरिक्षमा लागु हँुदैन । 

समाजवाद वा कुनै वादबिना पनि मानव समाज उन्नतिको शिखरमा पुग्न सक्छ । कुनै वाद वा सिद्धान्त अन्तिम होइन । तर सुस्पष्ट र विज्ञानसम्मत दृष्टिकोण र खाका भने हुनुपर्छ । त्यस कारण राजनीतिक दलहरू अमुक वाद र सिद्धान्तको जडताबाट मुक्त हुनुपर्छ । जड वाद, सिद्धान्त वा दर्शन अवास्तविक सत्य र सम्भावना मात्र हुन भन्नेमा प्रस्ट हुनुपर्छ । हरेक आन्दोलन वा परिवर्तनले दोबाटो वा चौबाटोमा मात्र पुर्‍याउँछ । कुन बाटोबाट अघि बढ्ने भन्ने आधुनिक विश्व परिवेश र विज्ञानसम्मत धारणा वा दृष्टिकोण बनाउनुपर्छ । 

विज्ञानमा आधारित ज्ञानबिनाको राजनीति प्रियतावाद हो । पेसा र व्यापार हो । जसले समाजलाई कुनै गन्तव्यमा पुर्‍याउँदैन । राजनीतिक नेतृत्वलाई मात्र पद, प्रतिष्ठा र समृद्धिको गन्तव्यमा पुर्‍याउँछ । 

तर विडम्बना नेतृत्वले आफ्नो कुत्सित उद्देश्य पूरा गर्नका लागि सुनियोजित रूपमा राजनीतिमा अध्ययन तथा विज्ञानप्रतिको धारणा नकारात्मक बनाउँदै लगेका छन् । आलोचनात्मक चेतको हत्या गरेर दास मनोवृत्तिको विकास गरेका छन् । हरेक विषयको पदेन विज्ञताको पदवी धारण गरेका छन् । अमुक वाद र दर्शनलाई बजारीकरण गर्दै ठगी गरेका छन् । यी सबै विकृति र विसङ्गतिको मूल कारण नेतृत्वको स्वार्थपूर्ति र जनताको गलत नेतृत्वलाई निरपेक्ष रूपमा सही देख्ने गलत चिन्तन पद्धति हो । त्यस कारण यी यावत विकृतिबाट मुक्तिको बाटो मुलुकको अर्थराजनीतिमा क्वान्टम सिद्धान्तको प्रयोग हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप