मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

तीनपोखरी कप : विभागीय टोली एपिएफसहित चार टिम सेमिफाइनलमा

शनिबार, २८ पुस २०८०, २३ : ०४
शनिबार, २८ पुस २०८०

किमाथाङ्का । खाँदबारीमा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता सशस्त्र प्रहरीको एपिएफ पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । आज खाँदबारी रङ्गशालामा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबलमा सशस्त्र प्रहरीको एपिएफ टोली पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका हुन् ।

आज भएको पहिलो खेलमा भङ्सावरी फुटबल क्लब मोरङले मकालु फेन्स क्लब खाँदबारीलाई ट्राइवेकरमा ३–१ गोल गर्दै भङ्सावरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा इटहरी फुटबल क्लब सुनसरीले खाँदबारी युथ क्लब सङ्खुवासभालाई १-० गोलअन्तरले पराजित गर्दै इटहरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो । 

त्यसैगरी आजै भएको तेस्रो खेलमा विभागीय टोली एपिएफ पकली र तुम्लिङटार स्पोटिङ क्लब सङ्खुवासभा क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा एपिएफ टोली पकलीले पेनाल्टी सुटआउटमा १०–९ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

ट्राइबेकरसमेत बराबर भएको तुम्लिङटारले पेनाल्टीमा हार व्यहोर्नुपरेको छ । त्यस्तै हिजो भएको खेलमा सित्तलपाटी फुटबल क्लबले आयोजक तीनपोखरी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजयीले नगद रु दुई लाख २२ हजार दुई सय २२, उपविजेताले रु एक लाख ११ हजार एक सय ११ र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही रु २७ हजार सात सय ७७ पाउने छन् ।

यही पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १ गते समापन हुनेछ । तीनपोखरी समाज विकास क्लबले माघेसङ्क्रान्तिको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप