डिप्रोक्स लघुवित्तको मधेश प्रदेशमा खराब कर्जा १ अर्ब बढी
बारा । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको मधेश प्रदेशमा मात्रै खराब कर्जा १ अर्ब बढी भएको पाइएको छ । डिप्रोक्स लघुवित्त संस्थाको मधेश प्रदेशमा ६६ हजार सदस्य छन्, जसमा ३७ हजार ऋणी सदस्य रहेको संस्थाले जनाएको छ । सो संस्थाको मधेश प्रदेशमा ८ अर्ब लगानी, ९ अर्ब बचत परिचालन र १ अर्बभन्दा बढी खराब कर्जा रहेको संस्थाका मधेश प्रदेश प्रमुख देशवन्धु चौधरीले जनाएका छन् ।
राष्ट्र बैंकको परिभाषामा कर्जाको साँवा र ब्याज ३० दिनभित्र बुझाउने सदस्यलाई एकदमै असल, ९० दिनभित्र बुझाउनेलाई असल र ९० दिनसम्म नबुझाउनेलाई ऋणीलाई खराब कर्जा मानिन्छ ।
लघुवित्तहरुले समूह जमानीमा बिना धितोमा १५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म लगानी गर्न सक्दछन् । ऋण लगानीमा बिना धितो र धितोमा दुबैमा जोखिमको अवस्था उस्तै रहने संस्थाका मधेश प्रदेश प्रमुख चौधरीको भनाई छ ।
‘लिएको कर्जा तिर्दिन र तिर्नुहुँदैन भन्नु गलत हो, जो सुकैले ऋण लिएको भए पनि तिर्नुपर्छ, सामाजिक सञ्जालमा जे जस्तो प्रचारबाजी भए पनि कर्जा नतिरे भोलिको दिनमा आफू र आफ्नो सन्ततिलाई समस्या गर्छ’ चौधरीले भने, ‘यो प्रदेशमा हाम्रो ८ अर्ब लगानी छ, बचत परिचालन ९ अर्ब हाराहारीमा छ भने खराब कर्जा १ अर्ब बढी छ’
संस्थाले देशभरबाट १०३ जनालाई खराब ऋणीलाई कालोसूचीमा राखेको छ । लगातार ५ वर्षसम्म भाका नाघेको सावाँ, व्याज नतिरेको सदस्यहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया छ ।
लघुवित्तका सम्बन्धमा पछिल्लो समय सामाजिक सञ्जालमा फैलँदै गएको नकारात्मक प्रचारबाजीका कारण कर्जा लिएका सदस्यहरूमा ऋण तिर्नुपर्दैन भन्ने गलत भ्रम फैलिएको चौधरीको भनाई छ ।
‘लघुवित्तको विरुद्ध दुर्गा प्रसाईँको आन्दोलनले समस्या हामीलाई मात्रै होइन अरूलाई पनि पारेको छ, तराईमा हाम्रो संस्था खुलेको २३ वर्ष भयो, पुराना लघुवित्तको तुलनामा नव आगन्तुक लघुवित्तहरूलाई धेरै समस्या छ’ चौधरीले भने ।
कोभिड–१९ पछि लघुवित्तहरूमा कर्जा लिएका सदस्यहरूले समयमै ऋण नतिर्ने समस्या सुरु भएको हो । खराब कर्जा समयमै व्यवस्थापन गर्न नसके वित्तीय संस्थाहरू नै घाटामा जाने र यसको प्रत्यक्ष/अप्रत्यक्ष असर सबैतिर पर्ने देखिने संस्थाले जनाएको छ ।
२०५७ पुस २८ गते स्थापना भएको सो संस्थाले आज शनिवार २३ औ वार्षिकोत्सव मनाएको छ । बारा–पर्सामा मात्रै ३५ हजार सेयर सदस्य रहेको सो संस्थाको मुख्य कार्यालय बारामा छ । २ देखि २५ जनाको समूह बनाएर संस्थाले समूह जमानीमा लगानी गर्ने गर्दछ ।
डिप्रोक्स लघुवित्त संस्थाको मधेश प्रदेश कार्यालयका अनुगमन अधिकृत सूर्यबहादुर विष्टले पछिल्लो समय कोभिड–१९, आर्थिक मन्दी र सामाजिक सञ्जालमा अराजक व्यक्तिहरूका कारण नियमित किस्ता ब्याज बुझाउने सदस्यहरूमा पनि अनुशासनमा कमी आएको बताएका छन् ।
‘विगतमा हाम्रो संस्थाको ९९ प्रतिशत असुली थियो, अहिले बारा, पर्सामा मात्रै २५ देखि ३० करोड खराब छ’ अनुगमन अधिकृत विष्टले भने, ‘लघुवित्तमा कोही सदस्यको ऋण छ, भने कोही सदस्यको बचत रकम छ, यदि कसैले कर्जा तिर्दिन भन्नु बचतकर्ताको पैसा फिर्ता गर्दिन भनेको जस्तै हो, सदस्यहरूको संस्थामा राखेको सम्पत्ति सुरक्षित हुनुपर्छ’
सदस्यहरूले लघुवित्तबाट लिएको कर्जा तिर्नु ऋणीको दायित्व हो भने संस्थामा सदस्यहरूले राखेको बचत छ भने फिर्ता दिनुपर्ने विष्टको भनाई छ । ‘हाम्रो सुरुमा जोखिम कर्जा हो तर असुलीको लागि नीतिगत व्यवस्थाबाट नै असुली गर्ने हो, समूह जमानी हुन्छ’ विष्टले भने ।
पछिल्लो समय ग्राहक सदस्यहरूको समस्यालाई हेरेर, विगतमा किस्ता तिरेको रेकर्ड, आर्थिक अनुशासन हेरेर लगानी लाई लगानी नरोकेको संस्थाले जनाएको छ । संस्थाले आज २३ औँ वार्षिकोत्सव अवसर आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य सक्कलीदेवी अहिरिनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । संस्थाले विशेषगरी कृषि, पशुपालन, फलफूल, तरकारी खेती, किराना पसल, व्यापार व्यवसाय लगायतमा लगानी गर्दै जनाएको छ । कार्यक्रममा डिप्रोक्सको मधेश प्रदेशका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । रक्त सङ्कलनका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
-
रामेछापमा फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
-
कोशी प्रदेश सरकारले माओवादीका पालामा ल्याएको बजेट पुनरावलोकन गर्ने
-
वरुणको नक्कली भ्याट प्रकरण : सञ्चालकहरूले स्वीकारेका थिए कर छली
-
होसियार,गुगल म्यापको भरपर्दा पुगिएला मृत्युको मुखमा
-
२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा