मुस्ताङमा आलु उत्पादन घट्यो

म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए ।
केन्द्रका अनुसार गत वर्ष नौ हजार ६ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक टन आलु उत्पादन भएको छ । “यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन”, प्रमुख बस्ताकोटीले भने, “डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो ।”
स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । गत वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो ।
मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ । आलु प्रतिकिलो सरदर रु ५० का दरले बिक्री हुन्छ ।
यहाँ गत वर्ष रु ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली रु ३१ करोड ८१ लाख बराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ ।
“प्रतिपाथी रु एक सय ५० का दरले आलु बिक्री हुने गरेको छ”, किसान थकालीले भने–, “एक पाथीमा करिब तीन केजी आलु हुन्छ ।” बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन् । यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग सहरमा बढी हुने गरेको छ ।
आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ । आलु खेतीका लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी रु सात हजार पाँच सय अनुदान छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग