माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”
उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए ।
त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो ।
मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनले भने, ‘सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ ।”
सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताए ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरु गरिएको हो ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिए ।
कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उनको भनाइ छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू