शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
शिक्षा सरोकार

नेपालमा विदेशी विद्यार्थी ल्याउन के कुराले रोक्यो ?

नेपालमा कुन-कुन विषयका लागि विद्यार्थी आउन सक्छन् ?
शनिबार, २८ पुस २०८०, १९ : ५८
शनिबार, २८ पुस २०८०

काठमाडौँ । बर्सेनि लाखौँ नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि जाने गरेका छन् । २०७९ मा १ लाख १० हजार वैदेशिक अध्ययन अनुमति पत्र (एनओसीए) जारी भएको तथ्याङ्क छ । शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्याङ्क अनुसार विभिन्न ७० देशमा अध्ययन गर्न जान १ लाख १० हजार २१७ एनओसी जारी भएको थियो ।

उक्त सङ्ख्यामा एनओसी जारी भए पनि त्यसको करिब आधाको सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन् । तर, विदेशी विद्यार्थीहरू भने नगन्य मात्रामा नेपाल आउँछन् । विदेशी विद्यार्थीहरू सामान्यतया मेडिकल शिक्षा पढ्न आउने गरेका छन् । त्यो बाहेक खासै विदेशी विद्यार्थी नेपाल आउन सकिरहेका छैनन् ।

नेपालबाट जति सङ्ख्यामा विद्यार्थी विदेश गइरहेका छन्, त्यही आधारमा विदेशी विद्यार्थी नेपाल ल्याउन सकिने शैक्षिक परामर्श व्यवसायीहरू बताउँछन् । नेपाललाई शैक्षिक हब बनाउन सकिने उनीहरूको भनाइ छ ।

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (फेकन) का अध्यक्ष राजु निरौलाले नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए । धेरै कुराका लागि नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने उनको भनाइ छ । त्यसका लागि नेपालका विश्वविद्यालय तथा कलेजहरूको भौतिक पूर्वाधारदेखि लिएर अन्य संरचनालाई समेत व्यवस्थित गर्नुपर्ने उनले बताए ।

त्यस्तै विदेशी विद्यार्थी नेपाल ल्याउन नीतिगत समस्या रहेको निरौला बताउँछन् । कानुनी रूपमा विदेशी विद्यार्थीलाई नेपाल ल्याउन झन्झटिलो रहेको भन्दै उनले ती विषयहरूलाई सम्बोधन गर्न सकेमा सहजै विदेशी विद्यार्थी नेपाल आउन सक्ने बताए ।

त्यस्तै विदेशी विद्यार्थी नेपालमा पढ्न आउन भिसा समस्यासमेत देखिएको छ । विद्यार्थी भिसाबाट नेपाल आउन पाइँदैन । भिजिट भिसामार्फत नेपाल आएर ६ महिनापछि विद्यार्थी भिसामा परिवर्तन गर्नुपर्ने हुन्छ । विदेशीहरूले त्यसरी भिजिट भिसामार्फत नेपाल आएर पछि भिसा परिवर्तन गर्नुपर्ने झन्झट गर्न नचाहने अध्यक्ष निरौलाको भनाइ छ ।

‘विदेशी विद्यार्थी ल्याउन पहिलो समस्या भनेको नीतिगत देखियो । कानुनमा विभिन्न समस्या देखिन्छ । दोस्रो भनेको विद्यार्थीले नेपालमा विद्यार्थी भिसा पाउँदैनन् । यदि कुनै विद्यार्थी नेपालमा आएर पढ्नुपर्‍यो भने उसले ६ महिनाको लागि भिजिट भिसा पाउँछ,’ अध्यक्ष निरौलाले भने, ‘भिजिट भिसा पाइसकेपछि उसले सोसल सेक्यूरिटीहरूसँग कुरा गर्न पाउँदैन । इन्सुरेन्स पोलिसीबिना पढ्नुपर्ने देखिन्छ । विद्यार्थीले रिस्क लिएर पढ्न चाहँदैन । त्यसैले सबैभन्दा पहिला भिसाको पार्टबाट हेर्नुपर्छ । नेपाल सरकारले विद्यार्थी भिसा भनेर लागु गरिदिनुपर्छ ।’

  • नेपालमा कुन कुन विषयका लागि विद्यार्थी आउन सक्छन् ?

अध्यक्ष निरौलाका अनुसार नेपाल शैक्षिक हबको रूपमा विकास गर्न सकिन्छ । विभिन्न विषयका लागि विदेशी विद्यार्थीहरूलाई नेपाल ल्याउन सकिने उनको भनाइ छ ।

नेपाल बुद्ध धर्मको लागि हब मानिन्छ । बर्सेनि लाखौँ बुद्धिस्टहरू नेपाल भ्रमणका लागि आउने गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुद्धिजम् कार्यक्रमको पठनपाठन हुँदै आएको छ ।

त्यसका लागि विभिन्न देशबाट समेत अध्ययन गर्न आउने गरेका छन् । त्यस्तै नेपाली विषय पढ्नका लागि भियतनामबाट मात्रै बर्सेनि १ हजार भन्दा बढी विद्यार्थी ल्याउन सकिने अध्यक्ष निरौलाको भनाइ छ ।

नेपालमा हाइड्रोइलेक्टिस, रक प्लान्टिङ प्रोग्राम, माउन्टेनरिङ प्रोग्राम, टुरिज्म प्रोग्राम, आयुर्वेदिक मेडिसिन जस्ता कार्यक्रमका लागि विदेशी विद्यार्थी ल्याउन सकिन्छ ।

काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा. निर्मलमणि अधिकारीले नेपालमा मेडिकल शिक्षाको हकमा विदेशी विद्यार्थी आइरहेको बताए । तर, अन्य विषयका लागि समेत विद्यार्थीहरू ल्याउन सकिने उनको भनाइ छ ।

‘विदेशी विद्यार्थीहरू विभिन्न रोगहरूको अध्ययन गर्न आउन सक्छन् । त्यस्तै प्राविधिक क्षेत्रमा हेर्दा नेपालसँग प्राकृतिक भौगोलिक जैविक विविधता भएको हुनाले एउटै ठाउँमा बसेर धेरै कुराको अनुभव लिन सकिने हुँदा इन्जिनियरिङ लगायतका विषय अध्ययनका लागि विद्यार्थी आउन सक्छन्,’ अधिकारीले भने ।

नेपालको असली शक्ति भनेको वैदिक, सनातन, बौद्ध किरात, लगायतका विश्वका अति प्राचीन सभ्यताहरूको केन्द्र रहेको उनको भनाइ छ । हिमालय क्षेत्र भनेको ज्ञानको केन्द्र रहेको बताउँदै विदेशीहरूलाई यस्ता विषयमा पढ्न र अध्ययनका लागि ल्याउन सकिने उनको तर्क छ ।

विदेशी विद्यार्थीहरूलाई नेपालमा ल्याउन थुप्रै खालका चुनौती तथा समस्या रहेको अधिकारीले बताए । ‘केही चुनौती छन् । के हाम्रा विश्वविद्यालयहरूले समयमै परीक्षा गर्छन् ? के हाम्रा विश्वविद्यालयहरूले जनरलको पब्लिकेशनलाई महत्त्वमा राखेका छन् । संसारमा पाठ्यक्रम कस्तो बनिरहेको छ ? त्यसलाई आधार मानेर आफूलाई परिमार्जित र परिस्कृत गरिरहेका छन् ? प्राध्यापकहरूको वृत्ति विकासको लागि प्रशस्त लगानी गरेका छौं कि छैन भनेर हेर्नुपर्ने हुन्छ,’ उनले भने ।

नेपाल आउनमा निरुत्साहित हुने अर्को कुरा भनेको राजनीति पनि रहेको उनको भनाइ छ । नेपालका विश्वविद्यालयहरूमा धेरै राजनीति, तालाबन्दी, कोर्ष समयमै नसक्ने समस्या, परीक्षा समयमै नहुने जस्ता कुराले पनि विदेशीहरूलाई ल्याउन गाह्रो हुने उनको तर्क छ । त्यसका लागि नेपाल सरकार तथा सम्बन्धित विश्वविद्यालयहरूले समस्याको पहिचान गर्दै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

  • मेडिकल शिक्षा पढ्न आउँछन् धेरै विदेशी

नेपालमा मेडिकल शिक्षा पढ्न धेरै विदेशी विद्यार्थी आउने गरेका छन् । जसमध्ये धेरैजसो भारतीय विद्यार्थी छन् । तीबाहेक अन्य देशका विद्यार्थी पनि नेपालमा एमबीबीएस, बीडीएस लगायतका विषय पढ्न आउने गरेको चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव कृष्णप्रसाद काप्रीले बताए ।

यो वर्ष ५६२ जना विदेशी विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि नेपाल आएका छन् । जसमा धेरैजसो भारतीय विद्यार्थी छन् । विदेशीको लगानीमा खुलेका मेडिकल कलेजहरूले विदेशी विद्यार्थीलाई प्राथमिकता दिन्छन् । उनीहरूले विदेशी विद्यार्थी र नेपाली विद्यार्थी गरेर पढाउनुपर्ने हुन्छ । ती बाहेकका कलेजहरूलाई समेत निश्चित कोटा विदेशी विद्यार्थीका लागि छुट्याएको हुन्छ ।

त्यसरी नेपाल पढ्न आउने विद्यार्थीहरूको हकमा आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने वा सम्बन्धित देशमा रहेको राष्ट्रियस्तरको प्रवेश परीक्षा पास गरेको हुनुपर्छ । त्यसपछि मात्रै नेपालमा मेडिकल शिक्षा पढ्न पाउने उनको भनाइ छ ।

तोकिएको कोटामा विद्यार्थी भर्ना भएनन् भने त्यहाँ नेपाली विद्यार्थीको लागि खुला गरिने काप्रीको भनाइ छ । मेडिकल शिक्षामा जसरी केही अन्य विषयमा समेत विदेशी विद्यार्थीहरू पढ्न आउने गरेका छन् । तर, कतिको सङ्ख्यामा विदेशी विद्यार्थी छन् भन्ने यकिन तथ्याङ्क सम्बन्धित विश्वविद्यालयसँग छैन ।

काठमाडौँ विश्वविद्यालयमा अहिले ६ प्रतिशत विदेशी विद्यार्थी अध्ययनरत छन् । हालसम्म पासआउट भएका करिब ४२ हजारमध्ये १३ प्रतिशत विद्यार्थी विदेशी रहेको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । गत मङ्सिर २७ गते भएको काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा भारत, श्रीलंका र माल्दिभ्स गरी ३ देशका ११३ विद्यार्थी दीक्षित भएका थिए ।

काठमाडौँ विश्वविद्यालयमा भारतीयसहित श्रीलंका, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेको पाइएको छ ।

यता त्रिभुवन विश्वविद्यालयमा भने कति विद्यार्थी अध्ययन गरिरहेका छन् यसको यकिन तथ्याङ्क छैन । विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालले सम्बन्धित विभागबाट कति विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन भन्ने तथ्याङ्क पाइने बताए ।

  • कति आउँछन् विदेशी विद्यार्थी ?

नेपालका विश्वविद्यालय, प्रतिष्ठान तथा कलेजहरूमा कति विदेशी विद्यार्थी पढिरहेका छन् भन्ने यकिन तथ्याङ्क त छैन तर, अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा ९७८ जना विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्नका लागि आएका छन् । जसमा अस्ट्रेलिया, अमेरिका, जापान, जर्मन, साउथ कोरिया, श्रीलंका, चीन, म्यानमार, भुटान, फ्रान्स, बेलायत लगायतका देशबाट आएका थिए ।

त्यस्तै सन् २०२२ मा ९२५ जना विदेशी विद्यार्थी नेपालमा अध्ययनका लागि आएको अध्यागमन विभागको तथ्याङ्क छ । सन् २०२१ मा ८५९ र सन् २०२० मा ८७८ जना विदेशी विद्यार्थी नेपाल आएको देखिन्छ ।

  • के छ सरकारको योजना ?

अहिले विश्व ग्लोबलाइजेशनको युगमा छ । कोही पनि सीमित परिधिभित्र बस्न चाहँदैनन् । बर्सेनि धेरै विद्यार्थी विदेश गइरहेका छन् । यस्तो अवस्थामा विदेशी विद्यार्थीलाई समेत नेपालतर्फ आकर्षित गरेर सन्तुलन कायम गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारले समेत प्लानिङ गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सह–सचिव शिवकुमार सापकोटाले बताए ।

विदेशी विद्यार्थीलाई आकर्षित गरेर नेपाललाई शैक्षिक हब बनाउनुपर्छ भन्नेमा सरकारको दुई मत नरहेको भन्दै उनले त्यसका लागि विश्वविद्यालयहरूले आवश्यक तयारी गर्नुपर्ने बताए ।

‘हाम्रा विश्वविद्यालयहरूले कसरी विद्यार्थी आकर्षित गराउने भन्ने योजना बनाउनुपर्छ । त्यसका लागि विश्वविद्यालयहरू स्वायत्त छन् । नीतिगत वा केही समस्या प¥यो भने सहजीकरणका लागि सरकारले सहयोग गर्छ,’ प्रवक्ता सापकोटाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप