बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

‘पीडितहरूको पक्षमा चर्को आवाज उठाउने मैले कसरी पीडित बनाउन सकुँला र ?’

शनिबार, २८ पुस २०८०, १८ : ३१
शनिबार, २८ पुस २०८०

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको भन्दै आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सभापति लामिछानेले विगतदेखि विभिन्न खालका पीडितहरूको पक्षमा बोल्दै आएको व्यक्ति आज पीडक बन्न नसक्ने बताए । कसैले आफूविरुद्ध प्रतिशोध साँधे पनि त्यसको मतलब नगरी देश र समाजका साझा समस्या समाधानका लागि लागिपरेको उल्लेख गरे । 

उनले भने–‘मान्छेहरूले कति चाँडै बिर्सिएका होलान्, कोही मान्छे अन्यायमा पर्दा, देशका कुनै कुना काप्चामा होस वा विदेशमा रातारात पुगेर तिनको आवास बनेको हिजैजस्तो लाग्छ । म कहिलेकाहीँ विगतका संग्रह पनि हेर्ने गर्दछु । हरेक मान्छे पीडामा पर्दा राज्यले नसुनेर के भयो र ? न्यायालयले नसुनेर के भयो र ? जनप्रतिनिधि, सरकारी अड्डाले नसुनेर के भयो र ? हाम्रो रवि दाइ छ रवि भाइ छ भनेर हरेक पीडामा परेका मान्छेहरू लामबद्ध भएर आउनुभएको थियो ।’

उनले अगाडि भने–‘पाँच सात वर्ष नेपाली नागरिकलाई सेवा गरेर त्यही विरासतमा टेकेर राजनीतिमा आएको हुँ । म कसरी पीडक हुन सकुँला र ? पीडितहरूको पक्षमा चर्को आवाज उठाएर आएको मैले कसैलाई कसरी पीडित बनाउन सकुँला र ? तर बारम्बार हेडलाइन बनेर आइसकेपछि कतिपय मान्छेलाई यो पनि त्यस्तै रहेछ भन्ने लाग्छ, तपाईंको नेता पनि देखिइहालियो नि पत्रिका पढ्नुभएन ? भनेको कहिलेकाहीँ सुन्छु । म सधैँ खुला छु, म कहिल्यै लुकेर हिँडेको छैन ।’ 

उनले हिजो आफू सञ्चारकर्मी भएका बेला पनि पीडितहरूको समस्या उजागर गरेर समाधान गर्दै हिँडेको बताए । उनले आज पनि आफ्ना सांसदहरू समस्या समाधानका लागि जिल्ला जिल्लाका चोक चोकमा उपलब्ध भएको उल्लेख गरे । 

सभापति लामिछानेले हिजो कैयौँ सहकारी पीडितहरूलाई लिएर पीडकहरूलाई पानी मुनी गए पनि नछोड्ने भनेर राज्यलाई चुनौती दिई कैयौँ पीडितहरूको आँशु पुछेर दर्जनौँको घरबार बनाइदिएको दाबी गरे । उनले आज पनि कोही सहकारी, लघुवित्त पीडितहरूले आन्दोलन थालेमा पीडकहरूको विरुद्धमा उनीहरू आफू मात्र नभई सिङ्गो पार्टी अग्रपङ्क्तिमा आउन तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप