बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘विवाहपूर्व वडा कार्यालयबाट सिफारिस लिने व्यवस्था आवश्यक’ : मन्त्री सुरेन्द्रराज आचार्य

शनिबार, २८ पुस २०८०, १५ : ५५
शनिबार, २८ पुस २०८०

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालबाट पूर्ण रूपमा बालविवाह अन्त्य गर्नका लागि विवाहपूर्व वडा कार्यालयबाट सिफारिस लिने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । 

नेपालमा बालविवाह अझै हट्न नसकेको सन्दर्भमा स्थानीय तहका वडा कार्यालयहरूले उमेर पुगेका व्यक्तिलाई मात्र विवाहको सिफारिस दिने व्यवस्था आवश्यक रहेको बताएका हुन् । त्यसका लागि आफूले भूमिका खेल्ने उनको भनाई छ । 

शनिवार रातोपाटीसँग कुरा गर्दै मन्त्री आर्चायले भने– ‘नेपालमा बालविवाह अन्त्य गर्ने एउटा मात्रै उपाय छ, त्यो भनेको बिहे गर्ने केटा र केटीको नागरिकता हेरेर वडा कार्यालयबाट सिफारिस दिने व्यवस्था । यसो हुँदा मात्र बालविवाह रोक्न सकिन्छ । बाल विवाह रोक्नलाई धेरै सङ्घ–संस्थाले प्रयास गरिरहेका छन्, यसका लागि राज्यको पनि धेरै खर्च भएको छ । नागरिकता देखाएर वडा कार्यालयको सिफारिसका आधारमा बिहे गर्ने व्यवस्था मिलाउने हो भने यो समस्या समाधान हुन्छ ।’

वडा कार्यालयलाई यति काम गर्न कुनै झमेला नहुने बताउँदै उनले बिहेका लागि दश–पन्ध्र दिन तयारीमा लाग्नेहरूले आफ्नो स्थानीय तहमा गएर सिफारिस लिन गाह्रो नपर्ने बताए । यो व्यवस्था गर्ने हो भने गाउँघरमा उमेर नपुगी बिहे गर्न पाइँदैन भन्ने सन्देश जाने बताउँदै यदि यो उपाय नलगाउने हो भने बालविवाह रोक्न गाह्रो हुने उल्लेख गरे । यदि नागरिकता नलिएका व्यक्ति छन् भने पनि वडा कार्यालयमा जन्म दर्ता हुने भएकाले सिफारिस लिनका सहज हुने मन्त्री आर्चायको भनाई छ । 

उनले भने– ‘वडा कार्यालयमा व्यक्तिको जन्म दर्ता पनि हुन्छ, वडाले त्यत्तिकै सिफारिस दिँदैन किनभने उ पनि फस्छ । मैले बालविवाह रोक्नका लागि एउटा बाटो मात्रै बताएको हो । अब यस विषयमा छलफल होला । यो विषयमा कानुन बनाउने हो भने बल्ल नेपालबाट बालविवाह अन्त्य हुन्छ ।’

केही दिनअघि एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले पनि बाल विवाह रोक्नका लागि विवाह पूर्व विदेशमा जस्तो लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप