सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

दर्शकको माग ‘पर्खी बसेँ तिमीलाई २’

शनिबार, २८ पुस २०८०, १३ : ४७
शनिबार, २८ पुस २०८०

काठमाडौँ । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सिक्वेलको माग गरेका छन् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमलाई दर्शकले यो माग गरेका थिए । निर्माता राजाराम बुढाथोकी, निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, वितरक करण श्रेष्ठसहितको टिमलाई दर्शकले सिक्वेल बनाउन आग्रह गरे ।

फिल्म हेरेर निस्किँदै गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए । धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको भन्दै उनीहरूले तारिफ समेत गरे । निर्देशक श्रेष्ठले हल प्रतिक्रिया शतप्रतिशत सकारात्मक रहेको बताए ।

‘म केही समयको अन्तरालमा निर्देशक बनेर आएको थिएँ । युवापुस्ताको प्रेमलाई मैले बुझे अनुरूप प्रस्तुत गरे । यसलाई दर्शकले रिलेट गर्नुभयो, म एकदमै खुसी छु’, निर्देशक श्रेष्ठले भने, ‘मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुग्नु मेरो सफलता हो । हाम्रो फिल्मको व्यापार अपेक्षाकृत छ ।’ दर्शकले नै दर्शक अब हलसम्म ल्याउने श्रेष्ठको धारणा छ ।

निर्माता बुढाथोकीले बिहीबारसम्म भएको डर हटेको प्रतिक्रिया दिए । उनले आउँदो केही दिन हलमै पुगेर दर्शकसँग प्रतिक्रिया लिने बताए । ‘नयाँ कलाकार लिएर आउँदा डर नभएको होइन, तर त्योभन्दा बढी रहेको आत्मविश्वासले काम गर्यो । नाम नयाँ तर नव कलाकारको काम पुरानै जस्तै छ’, निर्माता बुढाथोकीले भने, ‘स्पेसल स्क्रिनिङ र हल प्रतिक्रियाले म ढुक्क भएँ ।’

अभिनेता श्रेष्ठले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राले बल्ल सार्थकता पाएको बताए । ‘मैले पाइरहेको प्रतिक्रियाले उत्साह थपेको छ’ उनले भने । अभिनेत्री बुढाथोकीले प्रत्यक्षसँगै सोसल मिडियामार्फत पाइरहेको प्रतिक्रियाले आगामी यात्रा तय गर्न सहज हुने बताइन् ।
काठमाडौँ उपत्यकाका वितरक करण श्रेष्ठले पहिलो दिन फिल्मको व्यापार उत्साहजनक रहेको जानकारी दिए । ‘पहिलो दिन दर्शकको उपस्थिति राम्रो छ । हेर्नेले सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । यसले आगामी दिनमा दर्शकको चाप बढाउनेमा विश्वस्त छु’, वितरक श्रेष्ठले भने ।

माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा ल्याइएको फिल्म रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण भएको हो ।  फिल्ममा शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । 

फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप