नियात्रा साहित्यको चम्किलो कृति– डोल्पो ! ओ डोल्पो !!
‘यदि तपाईंले डोल्पो ! ओ ! डोल्पो पढ्नुभयो वा डोल्पोसँग सम्बन्धित यस्तै कुनै पुस्तक पढ्नुभयो भने डोल्पोको परिदृश्यले तपाईंलाई पक्कै चिमोट्ने छ । पढ्दै जाँदा एउटा सुन्दर धरातलमा उभिएर लालित्यपूर्ण स्पर्श वा आलिङ्गन गरेको मात्र होइन ब्रह्माण्डको एउटा छुट्टै ग्रहको धरातलमा घुमिरहेको महसुस हुन सक्छ ।’
नेपाली साहित्यमा यात्रा त्यति पुरानो होइन । उसो त १६ औँ शताब्दीबाट यात्रा साहित्यका विषयमा थुप्रै पुस्तक नलेखिएका पनि होइनन् तर ताना शर्माको ‘बेलायततिर बरालिँदा’ पुस्तक प्रकाशन भएपछि पहिलो पटक नेपाली साहित्यमा नियात्रा शब्द प्रयोग भएको पाइन्छ । वर्तमान समयमा डा. दामोदर पुडासैनी ‘किशोर’ पनि यात्रा साहित्यमा प्रख्यात नाम हो । कविताबाट साहित्य यात्रा आरम्भ गरेका पुडासैनीको ‘यात्राका प्रेमिल तरङ्गहरू’ (२०६५) पहिलो नियात्रा सङ्ग्रह हो । हालसम्म उहाँका ८ वटा नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् । तीमध्ये डोल्पो ओ ! डोल्पो !! नवीन नियात्रा सङ्ग्रह हो ।
- विषय प्रवेश
धवलागिरि हिमालको उत्तरतर्फ र चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणतर्फको क्षेत्रमा डोल्पो जातिको बसोबास छ । सामाजिक रूपमा बहुपति प्रथा अँगालेका र मानिस मरेपछि लासलाई काटेर गिद्धलाई खुवाउने यी दुई प्रथा अवलम्बन गरेका डोल्पो जातिको वास्तविकताका विषयमा गहन चर्चा परिचर्चा भएको पाइँदैन । डोल्पो जातिका मानिसका थुप्रै विशेषता छन् । डोल्पो क्षेत्रको यात्रा साहित्यका विषयमा फ्याट्टफुट्ट लेखिएका छोटाछोटा आलेख तथा लेख थुप्रै भेटिन्छन् । जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ त्यस क्षेत्रको यात्रामा आधारित नेपाली यात्रा साहित्यको पहिलो पुस्तक हो । शर्माको नियात्रा सङ्ग्रह ‘कौतुकमय डोल्पो’ प्रकाशन भएको झन्डै आधा शतक बितिसकेपछि पुडासैनीको डोल्पो ओ ! डोल्पो !! प्रकाशित भएको छ । ३६ वटा नियात्रा समावेश भएको यो नियात्रा सङ्ग्रहले यात्रा साहित्यमा एउटा जबर्जस्त स्थान ओगट्नेमा दुई मत नै छैन ।
काठमाडौँको गोङ्गबुबाट २०७४ साल साउन १९ गतेका दिनबाट यस नियात्रा सङ्ग्रहमा सङ्ग्रहित नियात्राहरूको आरम्भ हुन्छ । जुनदिन पुडासैनीले डोल्पा जाने योजना बनाएका हुन् । वर्षातको झरीसँगै काठमाडौँदेखि डोल्पासम्मको यात्रा सोच्न पनि कठिन हुन पुग्छ । यात्राका लागि वर्षातको समय बिरलै यात्रीले मात्र छनोट गर्दछन् । त्यसमाथि वर्षातको समयमा पहाडी तथा हिमाली क्षेत्रको यात्रा झन् कठिन हुन्छ । लेखक पुडासैनीको साउन २१ गते काठमाडौँबाट यात्रा आरम्भ हुन्छ र असोज ६ गते डोल्पाको जुफाल विमानस्थलबाट फर्केर नेपालगञ्जको राँझा विमानस्थलमा पुगेपछि डोल्पो क्षेत्रको यात्रा समापन हुन्छ । करिब ५० दिन डोल्पामा बिताएका पुडासैनीले विभिन्न ३६ शीर्षकमा आफ्नो यात्रालाई साहित्य शब्दका माध्यमबाट पस्किएका छन् ।
डोल्पोको वास्तविकता बुझिसकेपछि डा. पुडासैनीले पुनः डोल्पोलाई सम्झिँदा विस्मय व्यक्त गरेका छन् । यो कुरा पुस्तकको मूल शीर्षकबाट पनि थाहा पाउन सकिन्छ । डोल्पो ओ ! डोल्पो !! यो शीर्षकले मानव मस्तिष्कमा भनौँ वा मानसपटलमा नै सिधा सिधा प्रश्न, भाव तथा कौतुहल जगाउँछ । साउनको मुसलधारे वर्षा, अस्वस्थ आकाशमा काठमाडौँदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा, वर्षाले धरतीको छाती चिरिरहेका बेला डोल्पाका विभिन्न गाउँहरूको यात्रा कसरी सम्भव हुन्छ ? यो प्रश्न उठ्नु स्वभाविक नै हो । पुस्तकमा डोल्पो क्षेत्रलाई सुन्दरताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । लेखकले डोल्पा जिल्लाभरिका ऐतिहासिक प्रसङ्गहरूलाई समेटेर यात्रालाई यात्राका रूपमा नभई कथानक भाषामा मिथकीय शब्दहरूको प्रयोग गरेर रोचक बनाउने प्रयास गरेका छन् । देशको राजधानी तथा प्रमुख सहरहरूबाट पुछारमा रहेको डोल्पाक्षेत्र पृथ्वीको केन्द्रबिन्दु नजिक पर्दछ । प्रविधिको नवीनत प्रयोग, विकासको उत्कर्षले विनाश निम्त्याइरहेको समयमा डोल्पा भने पूर्ण रूपमा भर्जिन क्षेत्र हो, जसको गर्भमा लाखौँ करोडौँ प्रकृतिका जडीबुडीका साथसाथै वन्यजन्तु रमाइरहेका छन् ।
अनेकतामाथिको एकता भने झैँ डोल्पा क्षेत्रका विविध संस्कृतिलाई नियात्रामा समावेश गरिएको छ । डोल्पा क्षेत्रका फूल जस्ता पहाडका चट्टानहरू, नौनी जस्ता हिमालहरू र शृङ्गारले सजिएकी नवदुलहीका नयनजस्ता फाँटका बारेमा आफ्ना अनुभूतिसमेतलाई समेटेर नियात्रालाई रोचक बनाइएको छ । जिल्ला सदरमुकामदेखि पैदल हिँडेर १२–१३ दिनपछि मात्र पुगिने हत्केलाका मासु जस्ता गाउँ, कोइलाभित्र लुकिरहेको हिरा जस्ता मान्छेका बारेमा पनि विश्लेषण गरिएको छ । विशेषतः डोल्पाको जनजीवन, भूगोल, सामाजिक सांस्कृतिक अवस्था, सांस्कृतिक रहनसहन, प्रथापरम्परा, सुसंस्कृति तथा विकृति, सामाजिक नीति र विकास, सहभागिता र सुशासन, राज्यको उपस्थितिमा नागरिकको शुभेच्छालगायतका सर्वपक्ष डोल्पो ओ ! डोल्पो !! पुस्तकका विषयवस्तु हुन् । सरसर्ती नक्सामा हेर्दा वा आकलन गर्दा डोल्पो जस्तो देखिन्छ, भित्री कथा अवश्य पनि त्यस्तो छैन । उसो त पृथ्वी पनि अन्तरिक्षबाट हेर्दा आकाशमा झुन्डिएको अन्डाकार पिण्डको रूपमा देखिन्छ तर पृथ्वीमै पाइला टेक्दा पृथ्वी फरकै भएको महसुस हुने गर्दछ । यस्तै हो बाहिरबाट देखिने बोक्रा (कभर) र भित्रको गुदी वास्तवमा फरक हुने गर्दछ । मान्छे बाहिरबाट हेर्दा सशरीर देखिन्छ यदि मान्छेको चिरफार गरेर भित्री शरीर हेर्ने हो भने त्यतिबेला मान्छे मान्छे नै रहँदैन । यसकारण बाहिरबाट हेर्दा जस्तो देखिन्छ, त्यो हेराइ अथवा दृष्टिको भरमा कुनै स्थान तथा वस्तुको भित्री तुलना गर्न मिल्दैन ।
भेरी नदी आसपासमा एकतमासले फुलेका फूलहरू र बस्तीहरूको एक आपसमा जोडिएको मित्रता, प्राकृतिक सुन्दरताको संयोजन र मानवीय क्रियाकलापको परिणाम, सुन्दरताको आवरण र वास्तविक सुन्दरता, प्रकृति प्रतिको मानिसको विश्वास र प्रकृतिले मानव समुदायलाई प्रदान गरेका तमाम उपहारहरू, विश्वासभित्रको अन्धविश्वास र अन्धविश्वास भित्रको विश्वास, अन्धविश्वासले विज्ञानमाथि थपिदिएका चुनौती जस्ता विषय पनि यो पुस्तकमा समावेश छन् । मानव सभ्यताका मूल्यवान् चीजवस्तु जो हामीलाई बाँच्नका लागि प्रेरणा दिइरहन्छन् र जसले मानव प्रेम, करूणा र स्नेहलाई थप सशक्त बनाएको छ ती पक्षहरूसमेत यहीँ भेटिन्छन् । ऐतिहासिक राज्य व्यवस्थामा राजाहरूको शासन पद्धति, विकसित समाजको राजनीतिक अवस्था, न्याय व्यवस्थाको विकास र वर्तमान अवस्था, नेपाली समाजले भोग्दै आएका समस्याबाट प्रताडित डोल्पो, राजनीतक द्वन्द्वबाट देशले प्राप्त गरेको परिणाम र डोल्पोले भोग्नुपरेका समस्याहरू–जो हामीले बाह्य रूपबाट देखेभन्दा भिन्न र अझ मौलिक छन् ती विषयवस्तु पनि डोल्पो ओ ! डोल्पो !! भित्रका नियात्रामा पाइन्छन् । ३६ वटा शीर्षकमा लेखिएका नियात्राहरू महाकाव्यका सर्ग जस्तै भनौँ कि प्रकृति र समाजको यथार्थताको संयोजन गराएर लेखिएको कुनै उपन्यासभन्दा कम छैन । कुनै कुनै नियात्राले पढिरहेकै बेलामा गला अवरुद्ध गरेर नयनबाट जल बगाउन बाध्य पार्दछन् भने कुनै कुनै नियात्राले आराले चिरिएको हृदयलाई सिलाएर घाउँमा मलमपट्टी गर्ने अभ्यास गरिरहेका छन् । यो कुरा यसको परिचयात्मक शब्दले भन्दा पठनले प्रमाणित गर्दछ ।
नेपाली साहित्यमा पठन संस्कृति हराउँदै गएको र स्तरीय पुस्तकहरूको परिचर्चा हुनुभन्दा सञ्चार साधनको प्रयोग एवं पहुँच भएका लेखकहरूको लेखनको परिचर्चा हुँदै आएको कुरालाई डोल्पाबासी लेखकहरूले अघि सारेका छन् । लोक साहित्यको स्तरीयतामाथि आधुनिक साहित्यले साहित्यको परिभाषालाई नै विकृत गरिरहेकाले यसबाट सजग हुनुपर्ने सन्देश यस पुस्तकमा डोल्पाका लेखकहरूले दिएका छन् । डोल्ला जस्तो विकट ठाउँमा बसेर साहित्यका विविध विधाका पुस्तक लेखेर वा लोक साहित्यको सङ्कलन गरेर प्राप्ति केही पनि हुनेवाला छैन । किनकि राज्य व्यवस्थाबाट नै यसप्रति कुनै किसिमको चासो छैन । त्यसैले लेख्नुभन्दा हलो जोत्नु बेस छ भनेर डोल्पाका साहित्यकारहरूले गुनासोसमेत पोखेका छन् ।
त्यस्तै यस नियात्रा सङ्ग्रहभित्रका नियात्रामा धार्मिक आस्था र विश्वासका मिथकहरूसँगै तिब्बती संस्कृतिका किस्साहरूको समेत पृष्ठ पोषण गरिएको छ । हिमाली क्षेत्रको पेसा, व्यवसाय तथा रोजगारीको अवस्था, तिब्बती व्यापार, औषधी उपचार, कृषि उत्पादनका विषयहरू पनि यहाँ प्रशस्त उल्लेख गरिएका छन् । बुद्धका चार आर्य सत्यहरू, बौद्ध परम्परा, बौद्ध उपचार पद्धतिलगायत बौद्ध धर्मावलीसम्बन्धी पनि केही हरफ लेखिएका छन् । धर्मशास्त्रलाई पश्चिमा समाजमा फस्टाएको आधुनिक परीक्षण पद्धतिसँग जोडिएको छ भने समाजका विविध विकृतिको नियात्राकारले भण्डाफोर गरेका छन् । भूतप्रेतमा विश्वास नै नगर्ने नियात्राकारको मध्याह्नको समयमा हिँड्दाहिँड्दै भूतसँग भेट हुन्छ यो रोचक किस्सालाई उनले भूतसँगको भेटलाई डार्क वाचर्ससँग दाज्न खोजेका छन् । प्रकृति चित्रण अन्तर्गत डोल्पाको सम्पूर्ण भौगोलिक बनावटका साथै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र तालको भ्रमण गर्दा भनौँ वा त्यहाँका नाक ठोक्किने भिरहरूको यात्रा गर्दाका बखत आफूले प्राप्त गरेको आनन्दानुभूतिहरूलाई नियात्राकारले पुष्पगुच्छा जस्ता शब्दद्वारा वर्णन गरेका छन् । डोल्पाबाट फर्केर नेपालगञ्जको राँझा विमानस्थलमा झर्दै गर्दा नियात्राकार डोल्पोप्रतिको अगाध प्रेमले प्रकृतिको वायुसँग अङ्कमाल गर्दै आह्लादित भएका छन् ।
- रहस्यमय डोल्पाको ऐतिहासिक विश्लेषण
डोल्पो ओ ! डोल्पो !! भित्र डोल्पाका थुप्रै रहस्यात्मक मिथकहरूको संयोजन गर्दै आधुनिक विश्लेषण गरिएको छ । विज्ञानलाई चुनौती दिने किसिमका परम्परा र आधुनिक समाजलाई चुनौती दिने किसिमका संस्कृति डोल्पाभित्र छन् । तीनै परम्परा र संस्कृतिको ऐतिहासिक विश्लेषण गरी नवीन यात्रा साहित्यको रूपमा प्रकाशित डोल्पो ओ ! डोल्पो !! भित्रको लेखनशैली र प्रस्तुतिका विषयमा केही विवेचना गर्दछु । ३६ वटा नियात्रामध्ये आकर्षणको अन्तध्र्वनिबाट यस नियात्रा सङ्ग्रहको शुभारम्भ हुन्छ । धौलागिरि हिमालको उत्तरी भूभागमा अवस्थित क्षेत्रलाई ‘धोल्पा’ ‘धवलापा’ तथा ‘धोलापा’ समेत भनिन्थ्यो । जसलाई वर्तमान समयमा डोल्पा भनिन्छ । यात्रा सुरु हुनुको प्रारब्धमै लेखक यस्तो गहिरो भावमा पग्लिएका छन् कि उनलाई आफूलाई सम्हाल्न नै गाह्रो परेको देखिन्छ । डोल्पोलाई उनले अर्गानिक सुन्दरीको उपमा दिएका छन् । एक्ली छिन् तर उदास छैनन्, म समीपमा पुग्ने इच्छा तीव्र गर्दछु । यस्तो व्यग्र प्रतीक्षा छ कि मिनेट सेकेन्ड बिताउन पनि वर्षाैं बिताएको आभासमा लेखकमा देखिएको छ । हरेक नयाँ ठाउँको भ्रमण गर्नु पूर्वको समयमा सबै यात्रीहरूमा उत्कट इच्छाले सताउने गर्छ, जो स्वाभाविक नै हो । तर यहाँ लेखक अति बढी नै भावविह्वल भएका छन् उनले डोल्पालाई भेट्नुपूर्व नै डोल्पो, प्रिय डोल्पो शब्दको प्रयोग गरिसकेका छन्। यस प्रकारको लेखनशैलीले नै प्रकृतिमाथि न्याय गर्दछ । प्रकृतिप्रतिको प्रेम यसबाट झल्किन्छ । एक दिन तय भएको यात्रा प्रतिकूल मौसमका कारण रद्द भई दोस्रो दिनमा सारिएको थियो । एक दिन मात्र पर्खने धैर्यता लेखकमा देखिन्न । यसबाट के स्पष्ट हुन्छ भने लेखक लेखनका लागि मात्र नभई यात्राका लागि समेत उपर्युक्त पात्र हुन् र उनले यात्रामा साहित्यलाई बोक्न सक्ने जीवन्तता आफूभित्र राखेका छन् ।
तेस्रो दिन जब काठमाडौँबाट यात्रा सुरु हुन्छ, धमिला आँखाहरूले उपत्यकाको आकाशमा जहाजबाट कसैको बाटो हेरिरहेका थिए । तर लेखकको मनमथिङ्गलमा डोल्पो थियो । त्यो दृश्यमा होइन शब्दमा र कौतुहूलतामा । जहाजमा चढेर नेपालको हिमाली क्षेत्रको अवलोकन गरिरहँदा यसले विश्वविजयीको शङ्खनाद फुकिरहेको महसुस हुने गर्दछ । यो कुरालाई आत्मसात गरिएको देखिन्छ । जहाजबाट यदि डोल्पोलाई नियाल्ने हो भने लाग्ने छ कि त्यहाँ रूखहरू, फूलहरू, आकाश, धरती पानी सबै सबै चट्टानले बनेका छन् । ठुला ठुला घाँसेमैदानहरू, निर्जन फाँट तथा ताल र जङ्गलहरू ती सबैमा ढुङ्गाको अवशेष छ भन्ने आभास पहिलो पटक यात्रा गर्ने यात्रीलाई हुन सक्छ तर त्यसो होइन । प्रतीकात्मकता दर्साउनका लागि यस्तो उल्लेख गर्न भने सकिन्छ । डोल्पा क्षेत्रको विषयमा बेलायती लेखक जेम्स हिल्टनले सन् १९३३ मा आफ्नो उपन्यास ‘लस्ट होराइजन’ मा विश्लेषण गरेका छन् । उनले भनेका छन् कि ‘जादुगरी र संस्कारले समृद्ध उपत्यका, शान्त सज्जनहरूद्वारा डोर्याइएको उज्यालो स्थल, सधैँ आनन्दको वर्षा हुने, सधैँ सुन्दर दृश्यहरूको चहलपहल भइरहने, प्राकृतिक रूपमै सर्वाेच्चानन्दमा डुबिरहेको तर संसारबाट एक्लिरहेको एकान्तवासको सौन्दर्यशाली भूस्वर्ग डोल्पा अर्थात् साङ्ग्रिला हो ।’ जेम्सको यस प्रकारको वर्णनले भूमिमा स्वर्ग भेटिन्छ भने त्यो स्वर्ग नै साङ्ग्रिला अर्थात् डोल्पा हो । विदेशी लेखकले लेखेका पुस्तकहरूको समेत अध्ययनगरी आफ्नो अनुभवानन्दी समावेश गरेर डोल्पो ओ ! डोल्पो !! को नवीन ढाँचामा पृष्ठपोषण गरिएको छ । जसले गर्दा इँटाहरूको सङ्ग्रहमा घर निर्माण गरेपछि इँटा रङ्गकै रङ्ग रोगन गरी घरलाई थप सुन्दर बनाए जस्तै पुस्तकलाई थप सुन्दर बनाउने हरप्रयास लेखकले गरेका छन् । घटनाक्रमहरू कत्ति पनि बनावटी छैनन् । बरू यी घटनाक्रमले चसक्क छाती नजिकै घोच्ने गर्दछन् । त्यहाँको प्रकृति जति सुन्दर, स्वच्छ एवं हराभरा छ संस्कृति किन स्वच्छ र सुन्दर नभएको होला भनेर बेला बेलामा उत्सुकताका साथ प्रश्न गरिएको छ । यसबाट के बुझिन्छ भने लेखक प्रकृतिको मनमोहकतासँग जति नजिक छन्, मानव सभ्यताका सुन्दर पक्षसँग पनि त्यति निकटताको सम्बन्ध राख्छन् ।
नदीको कटान र नदी माथिको अतिक्रमण सहरी क्षेत्रमा मात्र नभई डोल्पामा समेत ज्वलन्त छ, जसको परिणाम शुभ आउने छैन तर पनि मानिसहरूले भेरी नदी अतिक्रमण गरी भएभरको जायजेथा जोडेर नदीको किनारामा घर बनाउन छोडेका छैनन् । यसले गर्दा उठिबास हुन बेर छैन । भेरी कसैलाई नसोधी उर्ली भने ! कसको हालत के हुन्छ ? नदीले कसैलाई नसोधी सुसाउन पाउनु उसको अधिकार हो । ऊ एउटा जीवित मानिस हो भन्ने दार्शनिक उदाहरण यहाँ पस्किएका छन् । यस प्रकारको चिन्तन एवं चिन्ता लेखकीय मनमा उत्पन्न भएको छ । देशले भोगेको सास्ती अर्थात् राजनीतिक अशान्तिले मच्चाएका युद्धका घाउहरू दुनैमा आज पनि जीवित छन् । देशले दसवर्षे जनयुद्ध भोगिरहँदा डोल्पामा युद्धको असर लगातार १४ वर्षसम्म परिरह्यो । माओवादी युद्धले नवीन रूप लिएको डोल्पा क्षेत्रमा गरेका युद्धले जन्माएका घाउहरू आजसम्म जस्ताका त्यस्तै छन् । ती घाउमा कुनै पनि प्रकारको मलमपट्टी नभएको दाबी गरिएको छ ।
धामी परम्परामा विश्वास राख्ने कर्णालीको डोल्पाले पनि धामी परम्पराप्रति अगाध विश्वास राख्छ । यसले संस्कृति र विकृति दुवै कुरालाई अगाडि बढाउँछ । स्थानीयका अनुसार ‘धामी नहुने हो भने त्यहाँ दुर्गति भइसक्थ्यो । घरमा हुने श्रीमान् श्रीमतीको झगडादेखि सामाजिक झगडा मिलाउनेसम्म, ऋण लिने बेलाका साक्षीदेखि तिर्नेबेलाका साक्षीसम्म धामीलाई नै राख्ने गरेको पाइन्छ । बिहे गर्ने हो या घर निर्माण गर्ने हो ? खेतीपाती सुरु गर्ने हो कि जडीबुटी खोज्न जाने हो ? ती सबै कार्यमा धामीलाई सोधिन्छ । राज्यको उपस्थिति होइन धामीको उपस्थिति हरेक कार्यमा हुनु जरूरी भइसक्यो ।’ केही रोचक तर संस्कृति र विकृति दुवै कुरामा अडिएको डोल्पा क्षेत्रका एकसेएक रोचक कुरा नियात्रामा समेटिएका छन् । डोल्पाको विषयमा बाहिरबाट यात्रा गर्न गएका यात्रीले जति बुझेका हुन्छन् । त्योभन्दा लाख गुना बढी त्यहाँको वास्तविकता बुझेका हुँदैनन् भनी स्थानीयले डा. पुडासैनीलाई भनेका छन् । ‘यो अनकन्टार ठाउँ एउटा भिन्नै ग्रह हो । यो मङ्गल ग्रहजस्तै रहस्यमयी छ । यसका बारेमा कसैले बुझे ठान्छ भने पनि उसले अझै लाख गुना बढी बुझ्न बाँकी नै रहन्छ ।’ यही हो डोल्पाको विशेषता । देखिने भन्दा नदेखिने करोडौँ कुरा डोल्पाका गर्भमै खेर गइरहेका छन् । मूल्यवान् औषधीयुक्त जडीबुडी, अमृतराशि स्याउसँगै बहुमूल्य रत्नहरू यहाँ त्यत्तिकै बिलाउने गर्दछन् भनेर स्थानीयले भनेका छन् । राज्यको उपस्थितिको सवालमा जिउँदो मान्छेले राहत पाउने विषय त चालनीमा पानी भरे जस्तै हो तर मरेको मान्छेले अवश्य राहत पाउँछ । यहीँ सही विश्लेषण हो लागेको छ मलाई पनि । डोल्पामा कुनै समस्या परेर राज्यलाई पुकार्ने हो भने राज्यले आवश्यक विधि प्रक्रिया पुर्याएर उपस्थित हुने बेलासम्म मान्छेको मृत्यु भइसक्छ । यी कथाहरू व्यथाहरू डोल्पाका दैनिकी हुन् तर पनि यी सुनौला छन्, दैनिक घटिरहन्छन् ।
डोल्पाका पर्वत पर्वतमा मानवीय सभ्यताका अनुपम छटाहरू छरिएका छन् । तिब्बती संस्कृति र डोल्पाको स्थानीय संस्कृति, बहुपति प्रथा, प्रशासनिक पहुँचलगायतका विषय पनि यहाँ समावेश छन् । जिल्ला सदरमुकामबाट माथिलो डोल्पा पुग्न धेरै दिन लाग्ने गर्दछ । यस्तो अवस्थामा राज्यको उपस्थिति कस्तो रहला ? हवाईजहाजबाट डोल्पा पुर्याइएका ८–१० थान बोलेरो जिपहरू सदरमुकाम र त्यसको आसपासका क्षेत्रमा दैनिक ८–१० किलोमिटर गुड्छन् । त्यहाँ बस छैनन् तर बसपार्क छ– डा. पुडासैनीले व्यङ्ग्य प्रहार गरेका छन् । एकआपसमा मित्रता बढाउनका लागि मितेरी लगाउने र साइनो गाँस्ने प्रचलन डोल्पामा हालसम्म जीवित छ । यसर्थ अझैँ पनि डोल्पाका मान्छे सहरी क्षेत्रका मानिस जस्तै एकलकाँटे बनेका छैनन् । उनीहरू झन् सामाजिक छन् । त्यस कारण त डोल्पा सुन्दर छ । मित्रताको साइनो जोडेर उनीहरू एउटै मालामा अनेक रङका फूलहरूलाई उन्न खोज्दछन् । वैवाहिक जीवनका लागि जातीयतामा भन्दा प्रेममा बढी विश्वास राख्छन् जुन निकै आधुनिक परम्पराबाट चलायमान छ । डा. पुडासैनीले उल्लेख गरेका कतिपय कुराहरू जनकलाल शर्माले लेख्नुभएको कौतुकमय डोल्पोमा मिल्दाजुल्दा छन् । शिक्षामा पछाडि भए पनि हाल सञ्चालित विद्यालयको वातावरण शान्त, अध्ययन गर्नका लागि उपर्युक्त र सौहार्द शैक्षिक वातावरण भएकाले डोल्पा जस्तो दुर्गम क्षेत्रमा विद्यायले अँगालेका विषयलाई अरूले पनि अङ्गाल्नुपर्नेमा लेखकले जोड दिनुभएको छ ।
से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र ताल घुम्दाको अनुभूतिलाई अमिलो पिरो अचारका रूपमा प्रस्तुत गरिएको छ । यहाँ रोचक कुरा के छ भने आजसम्म यकिन रूपमा से–फोक्सुण्डो तालको गहिराइ नापिएको छैन । भनिन्छ त्यो तालमा कसैले नुहाएका छैनन् तर डा. पुडासैनीले त्यो तालमा डुबुल्की मार्नुभयो । यसको अनुभूतिसमेत यही पुस्तकमा मिश्रण गरिएको छ । नियात्रालाई अनुभूतिको मिश्रणबाट संयोजन गरिनु नै उत्तम हो । प्राकृतिक सुन्दरताको गहन विश्लेषण गरिएको यस नियात्रा सङ्ग्रहको अन्तिमतिर क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउँदा, भास्को डी गामाले भारत आउने बाटो पत्ता लगाउँदा भनौँ कि मार्काेपोलोले चीन पत्ता लगाउँदा भनौँ त्यतिबेला उनीहरू जति खुसी थिए आज मलाई त्योभन्दा बढ्ता खुसी लागेको छ भनेर लेखकले व्यक्त गरेका छन् ।
स्वर्ग भनेको अन्तरिक्षमा झुन्डिएको एउटा छुट्टै भूभाग नभई पृथ्वी भित्रकै कठिन ठाउँभित्रको सौन्दर्य हो । जसको आधार डोल्पा पनि हो । विकासका अनेक सम्भावना बोकेको भए पनि अविकासको फलामी घुम्टो ओढेर बसेको डोल्पाक्षेत्र विकसित देशको भूमि हुन्थ्यो भने विकासको मूल, अर्थतन्त्रको मूल, अधिक विश्वविद्यालय भएको स्थान, अमृतमय जडिबुडीका लागि तोकिएको संरक्षित स्थान, प्रमुख पर्यटकीय नगरी डोल्पा नै हुन्थ्यो । माथिल्लो डोल्पा र मध्य डोल्पामा बसोबास गर्ने मानिसहरू हिमाललाई देवताको प्रतिमाका रूपमा पूजा गर्दछन् । यसले प्रकृतको सम्मान र प्रकृतिप्रतिको श्रद्धाको वकालत गर्दछ । प्रकृति नै मानव जीवनको आधार हो भन्ने पूर्वीय वाङ्मय र विज्ञानको नवीन दृष्टिकोणलाई यो पक्षले आत्मसात गरेको छ । यो नवीन कला हो, जसले मानवलाई अझै प्रकृतिप्रेमी र अनुशासित बनाउनमा मद्दत गर्दछ । डोल्पाको खानी खनिज तथा महत्त्वपूर्ण चिज डोल्पामै लुकेर रह्यो जसले स्थान पाएन । गहनाका रूपमा प्रयोग नभएसम्म सुनको सुन्दरता पनि देखिँदैन यसकारण डोल्पा क्षेत्रको खानी खनिज, पशुपालन, फलफूललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हामी सबैले भूमिका खेल्नुपर्छ भनेर डा. पुडासैनीले सहयोगका लागि आआफ्नो क्षेत्रबाट जुट्न सबैप्रति आग्रहको भाव राखेका छन् ।
हेनरिच हेरियर, फादर जोहनन् ग्रुबेर, गोसेझिन्, पिटर म्याथिस्सेन लगायतका विदेशी लेखकहरूले आआफ्ना पुस्तकमा अदृश्य चुम्बक जस्ता पहाड, जो आकर्षणका केन्द्रहरू हुन् भनेर डोल्पाको पर्यावरणको मुक्तकण्ठले प्रशंसा गरेका थिए । ती धेरै कुरा यस नियात्रा सङ्ग्रहमा उल्लेख गरिएका छन् । यसर्थ यो नियात्रा सङ्ग्रह सदैव नवीन रहने छ भन्ने विश्वास राख्न सकिन्छ ।
नियात्राहरूमा विविध पक्षलाई सूक्ष्मभन्दा सूक्ष्म ढङ्गले केलाइएको छ । विशेष गरी सांस्कृतिक महत्त्वका विषयमा अलिक बढी नै जोखिमपूर्ण ढङ्गले कलम चलाएको देखिन्छ । उसो त धार्मिक मान्यता र आस्थालाई आधुनिकताले लेपन गर्न पनि खोजिएको छ । यी कुराले कता कता नियात्रालाई बटार्न समेत खोजिएको छ तर नियात्राकारले चलाखी अपनाउँदै यस्ता दृश्यमा लामो हरफ भने लेखेका छैनन् । नियात्रामा एउटा कुराको भने अभाव छ ।
नियात्राकारले डोल्पा जाने मनस्थिति कहिले र कसरी बनाउनु भयो वा भनौँ डोल्पाप्रतिको कौतुहूल कसरी पैदा भयो ? यो विषय कही पनि उल्लेख भएको छैन । एकैचोटि कार्यालयीय काम परेपछि डोल्पा जान अरू कुनै पनि कर्मचारीले जान मन नगरेको अवस्थामा डा. पुडासैनीले डोल्पा जाने निर्णय गर्नुभयो भनौ भने यो डोल्पाको सौन्दर्यता र समग्र नियात्रामाथि नै उनले न्याय गरेका छैनन् भन्ने बुझ्दा हुन्छ । यदि त्यसो नभई पहिलादेखि नै डोल्पा जाने व्यग्र प्रतीक्षा थियो तर अवसर कार्यालयीय कामले जुराएको हो भने त्यो डोल्पाजाने कौतुहूल कसरी जागृत भयो ? यो विषय पुस्तकको सुरुमै उल्लेख हुनुपथ्र्याे तर भएको छैन । अर्कातिर नियात्रामा राजा विक्रम शाहीको कथा नियात्राकारलाई नरसिंह दाइले सुनाउनु भएको छ । तर राजा विक्रम शाहीको कथा नियात्रामा उल्लेख भएको छैन् । पूर्वीय वाङ्मयमा रामायण नामक जुन ग्रन्थ छ त्यस ग्रन्थमा रावणद्वारा हरण गरिनु भएकी माता सीतालाई भगवान् रामले युद्ध जितेर फिर्ता ल्याउनु भएको छ । पन्ध्रौँ शताब्दीको सुरुवातमा सिकार खेल्ने क्रममा राजा विक्रम शाही खुबै सुन्दर रानीको अर्का राज्यका राज झम्पनले अपहरण गर्नु भएको थियो । राजा विक्रम शाहीले लगातार दुई पटक झम्पनसँग युद्ध हारेका थिए । तर तेस्रो पटक युद्ध जितेर आफ्नी रानीलाई फिर्ता ल्याउनु भएको थियो । हो यस प्रकारका इतिहासका किस्सा सुनिसकेपछि नियात्राकारले यी किस्साहरूलाई नियात्रामा उल्लेख गरी नवीन दृष्टिले विश्लेषण गर्नुपथ्र्याे त्यो भने भएको छैन ।
समग्रमा डा. दामोदर पुडासैनी ‘किशोर’ को डोल्पो ओ ! डोल्पो !! नियात्रा एउटा यात्रा साहित्य मात्र नभई काव्यिक चेतनायुक्त, सशक्त एवं नवीन दृष्टान्त दिनसक्ने अँधेरी रातको चाँदनी र बादल चिरेर जमिनसम्म पुगेको सूर्य जस्तै चम्किलो ऐतिहासिक साहित्यिक कृति हो । जहाँ विकृतिमाथि प्रहार र सुसंस्कृतिमाथि श्रद्धाको बोध गराउन सक्ने मर्म बोकेका बान्कीसमेत सङ्ग्रहीत छन् । प्रत्येक नियात्रा भिन्नाभिन्नै भए पनि एकआपसमा बलियोसँग बाधिएका छन् । डोल्पाको प्रकृति र संस्कृतिसँग साइनो गाँसी डोल्पोभित्रका विकृतिका पक्षहरूलाई तत्कालै हटाउनु पर्ने र त्यस क्षेत्रका सुसंस्कृत पक्षहरूलाई सबैले अबलम्बन गरी मानव हृदयलाई प्रेमले प्रफुल्लित बनाउनुपर्नेमा जोडदिएका छन् । यसले अन्तर्राष्ट्रिय मानव समुदायलाई नै अझ सशक्त, जिम्मेवार र गहन बनाउनमा मद्दत गर्ने छ भन्नेमा म पूर्ण रूपमा आस्वस्त छु ।
काव्यात्मक भाषाले सुसज्जित यस नियात्रा सङ्ग्रहले हरेक पाठकको मन जित्नेमा कुनै द्विविधा नै छैन । यस कृतिले यात्रा साहित्यको बौद्धिकता निखारताको प्रस्फुटन झल्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
क्रिकेटर शेख दाजुभाइको विवाह सम्पन्न
-
मधेसी दलहरू एकता होइन, मोर्चा बनाउन सकारात्मक
-
सभापति पोखरेलका स्वकीयको ठगी धन्दा : चेकको अर्धकट्टीमा भुक्तानी लिएको भन्दै हस्ताक्षर !
-
लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक
-
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड