*राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन दल जनमत पार्टीको उम्मेदवारी कायमै
बुटवल । राष्ट्रियसभाको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा सत्ताको साझेदार दल जनमत पार्टीको उम्मेदवारी कायम नै रहेको छ । उक्त पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले मनोनयन दर्ता गरेपछि पनि गठबन्धन दलहरू तर्फबाट फिर्ता ल्याउने विषयमा प्रयास नभएपछि उम्मेदवारी कायमै रहेको हो ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार हिजोदेखि उम्मेदवारी फिर्ताको समय सकिएको छ । राप्रपाको तर्फबाट उम्मेदवारी दिएका निरनजन थापाले फिर्ता लिए पनि सत्तारुढ दलका चौधरीको भने कायम रहेको हो । लुम्बिनीमा दुई सिटको लागि अव ६ जना मैदानमा रहने छन् ।
सत्ता गठबन्धनले माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटालाई उम्मेदवारी बनाएको छ । उनीहरूलाई जिताउनको लागि बिहीबार सत्ता गठबन्धन दलको प्रदेशस्तरीय बैठकले राष्ट्रियसभा निर्वाचन परिचालन समिति गठन गरेर जिल्ला जिल्लामा जाने निर्णय छ । तर उक्त बैठकमा सहभागी नभएको गठबन्धन दल जनमत पार्टीले भने आफ्ना उम्मेदवार बालगोविन्द चौधरीको पक्षमा मत माग्ने तयारी गरेको छ ।
बालगोविन्द चौधरीले सत्ता गठबन्धनबाट कुनै छलफल र वार्ता नभएको भन्दै आफ्नो उम्मेदवारी कायम राखेको रातोपाटीलाई बताए । उनले भने –'मेलै उम्मेदवारी मनोनयन भएपछि गठबन्धन दलले कुनै प्रयास नै गरेनन् । म जति हुन्छ मेरो भोट माग्छु ।'
प्रदेशमा सत्ता गठबन्धन दलहरूको हिजो देउखुरीमा बसेको बैठकमा समेत जनमत पार्टीका प्रतिनिधि सहभागी भएका छैनन् । राष्ट्रियसभाको लागि जनमत पार्टीको यहाँ २१२ मत रहेको छ । उक्त पाटीका सांसद प्रदेश सरकारको मन्त्री समेत बनेका छन् ।
सत्ता गठबन्धन दल माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जनमत पार्टीको उम्मेदवारीलाई निष्कृय बनाउनको लागि प्रदेशबाट भन्दा केन्द्रबाट थप पहल हुनुपर्ने बताए । उनले त्यस लागि यहाँ सक्ने प्रयास भएको र केन्द्रलाई जसरी भए पनि सहमति ल्याउन आग्रह गरेको रातोपाटीलाई बताए ।
उनले भने- 'हामी यहाँ एक छै एक भएर जान चाहन्छौ त्यस कारणले तपाईँहरू जहाँ जे गरेर हुन्छ मिलानहोस् भन्ने आग्रह गरेका छाैँ, त्यो मिल्छ ।'
जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले पार्टीको सत्तारुढ दलहरूको बेबस्ता गरेको भन्दै आफूहरूले उम्मेदवारलाई भोट माग्ने र जति आउँछ त्यसमा बस्ने रणनीति बनाएको रातोपाटीलाई बताए । उनले भने– 'हामीलाई कुनै वास्ता गरिएको छैन, तर हाम्रो पनि मत छ । अरूलाई किन हाल्ने ? '
जनमत पार्टीले लुम्बिनी प्रदेश र मधेस प्रदेशमा राष्ट्रियसभाको लागि उम्मेदवारी दिएको हो । उक्त पार्टीबाट उम्मेदवारी दिएको बालगोविन्द चौधरीले पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य हुन् ।
नवलपरासीको सरवाल गाउँपालिका निवासी चौधरीले पार्टीको स्थापना देखी सक्रिय रहेका नेता हुन् । उनले पार्टीको नवलपरासी जिल्ला संयोजकको भूमिका समेत निर्वाह गरेका थिए । लुम्बिनीमा अब चौधरीसँगै एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीबिच प्रतिस्पर्धा हुने छ ।
महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी,गठबन्धनबाट नेपाली काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहकाबिच प्रतिस्पर्धा हुने छ । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको लागि मतदान हुँदै छ । लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य, २१८पालिकाका जनप्रतिनिधिको ८७५३ अङ्क मत भार रहेको छ । (समाचारमा जनमत पार्टी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज
-
बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
-
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति