शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

हिमाल हेर्न स्याङ्बोचे काफी

शनिबार, २८ पुस २०८०, ११ : ३९
शनिबार, २८ पुस २०८०

‘नाम्चे पुगेपछि स्याङ्बोचे पुग्न नछुटाउनु होला नि । हिमाल हेर्न स्याङ्बोचे काफी छ ।’ 

‘हिँड्न नसक्नेका लागि स्याङ्बोचेसम्म पुग्दा सर्वोच्च हिम शिखरहरूको दर्शन मज्जैले हुन्छ ।’

‘स्याङ्बोचे आफैँमा प्राकृतिक सुन्दरताले भरिएको उच्च स्थानमा अवस्थित स्थल हो ।’

नाम्चेभन्दा माथिको टाकुरामा रहेको स्याङ्बोचेका विषयमा यति धेरै कुरा सुनियो । मेरा मित्रहरू र अन्य स्रोतबाट मैले यस्ता धेरै कुराको जानकारी लिएँ । कतिले मलाई भनेका थिए– ‘तपाई बेस क्याम्पसम्म नगए पनि स्याङ्बोचे अथवा तेङ्बोचेसम्म पुग्नुभयो भने त्यहाँबाट हिमालय शृङ्खला राम्रै अवलोकन गर्न सक्नु हुन्छ । त्यहाँभन्दा उतासम्म हिँडेर दुःख पाउनै पर्दैन ।’

मलाई थाहा छैन किन यसो भने साथीहरूले ? भुक्तमान खाएर भुक्तभोगी भएका हुन् भनुँ भने त्यस्तो कठिनाइको सामना गरेजस्तो लाग्दैन । नाम्चेसम्म आइसकेपछि तेर्सो र ओरालो सजिलो बाटो छोडेर उकालो निस्किनु अलि मुस्किलकै काम हुन्थ्यो । तर स्याङ्बोचे पुग्न एकाध घण्टा उकालै उक्लिनुपथ्र्यो । 

नाम्चे पुगेको रात मेरो मनमा यी कुरा बारम्बार खेलिरहे । खुट्टा दुखुन्जेल ठाडो उकालो हिँडेको थकाइले उकालो सम्झिँनै मन थिएन । स्याङ्बोचे पुग्न फेरि अर्को उकालो चढ्नुपर्ने थियो । जहाँ पुगेपछि सगरमाथालगायत अरू धेरै सर्वोच्च चुचुराहरूका लस्कर मार्ग देख्न सकिने कुरा साथीले बताएका थिए । 

FB_IMG_1700581154383

साथीले मलाई भनेको कुरा व्यर्थको थिएन । किनभने अधिकांश यात्री नाम्चेबाट सीधै तेङ्बोचेतिर लाग्छन् । योजनाबद्ध यात्रामा आएकाहरू भने स्याङ्बोचेसम्म पुगेर हिमाली सौन्दर्य हेर्न छुटाउँदैनन् । 

वास्तवमा स्याङ्बोच हिमाल हेर्नका लागि गतिलो गन्तव्य नै हो । विश्वकै उच्च स्थानमा अवस्थित ३८०० मिटर होटल र विमानस्थल यहाँ छ । तर विमानस्थल भने लामो समयदेखि सञ्चालनमा छैन । यहाँ हेलिकप्टरहरूले उडान भर्ने गर्छन् ।

होटलमा खानपानको कार्यक्रम सकिएको थियो । तर पाहुनाहरू लबीमा चिम्नीको न्यानोमा भुलिएका थिए । अनेक गफगाफमा रमाइरहेका थिए । एकातिर स्याङ्बोचेको तिर्सना, अर्कोतिर गफले पारेको असर । गुटुमुटु पोको परेको म ओछ्यानबाट उठेर लबीमा निस्किँदा देख्छु विदेशी र नेपाली यात्री गफमा चुर्लुम्मै डुबेका । मस्तले हाँसिरहेका । घरपरिवार, कार्यालय, काम तमाम सबै बिर्सेर अर्कै संसारमा भुलिरहेका । त्यहाँ एक देश मात्र होइन अनेक देशका अनेकथरि कुरा चलिरहेको थियो ।

‘एक कप तातो पानी दिनुस् न दिदी ।’ मैले होटलवाली दिदीलाई भनेँ । फेरि उनैलाई सोधेँ– ‘नाम्चेबाट कति टाढा छ दिदी स्याङ्बोचे ?’

‘टाढा छैन भाइ । नाम्चेको उकालो चढेर बिस्तारै जाँदा एक घण्टा पनि लाग्दैन । हिँड्नेहरू त आधा घण्टामै मजाले पुग्छन् । स्याङ्बोच त एकदमै रमाइलो ठाउँ हो नि । त्यहाँबाट हिमालहरू राम्ररी देखिन्छ । तपाई स्याङ्बोचे हुँदै जाने हैन र ?’ पानीको तातो कप दिँदै होटलकी दिदीले स्याङ्बोचेको निकै बयान गरिन् । तर उनले भनेका यति कुरा मेरो कानमा गुञ्जिरह्यो– ‘स्याङ्बोचे त जानैपर्छ नि भाइ । त्यहाँ पुगेपछि तपाईले उकालो चढेको दुःख सबै बिर्सिनुहुन्छ ।’

‘ओ हो, अझै उकालो हिँड्नुपर्छ ?’ मैले यति भनेर उनको कुरा मनमनै दोहोर्‍याएर सम्झेँ– ‘स्याङ्बोचे त जानैपर्छ नि भाइ । त्यहाँ पुगेपछि तपाईंले उकालो चढेको दुःख सबै बिर्सिनुहुन्छ ।’ अनि साथीले दिएको सल्लाह पनि सम्झेँ– ‘नाम्चे पुगेपछि स्याङ्बोचे पुग्न नछुटाउनुहोला नि । हिमाल हेर्न स्याङ्बोचे काफी छ ।’ 

तातोपानी पिएर ओछ्यानमा पल्टिँदा आधा रात बित्न लागिसकेको थियो । आँखा निदाउने सुरसारमा थिएन । आँखामा निस्लोट निद्राको होइन नाम्चेबजारको चहलपहल नाच्न थाल्यो । रातको नाम्चे झलमल्ल उज्यालोमा पर्यटकलाई स्वागत गर्न व्यस्त । 

आँखा नाम्चे प्रवेश हुँदा परेका दृश्यहरू चित्रित हुन थाल्छन् । नाम्चेबजार प्रवेशद्वार र त्यहाँ चित्रित बौद्ध जीवनका भित्तेचित्रका गहिरो दर्शन । त्यसपछि श्वेतचैत्य र छेउका होटल, क्याफे, ढुङ्गाका पेटी, सानो तलाउ, त्यसमा पानीको फोहोरा, कलात्मक माने, उकालो, भिरपाखाका होटल, कौसी, गार्डेन सर्वत्र पाहुनाहरूकै लर्को । आफ्नै देशमा पाहुना बनेर परदेशी जनहरूसँग रमाउनुको आनन्द पनि बेग्लै महसुस गरिरहेछु ।

photo 2

थाहा छैन कतिखेर निदाइयो ? बिहान बिउँझिँदा स्याङ्बोचे पुग्ने ध्याउन्नले उत्साहित पारिसकेको थियो । उकालोलाई लात मारेर अघि बढ्न मेरा पाइला हतारिसकेका थिए । मौसम पनि यति सफा कि आकाशका तारा पनि नियाल्न सकिने । महँगो चियाको मिठो स्वाद पिएर नाम्चेबजारको उकालो निस्किँदै गर्दा स्याङ्बोचे जानेहरूको ताँती नै भेटियो । यसले झन् फुर्ती बढ्यो । उनीहरूकै अघिपछि हुँदै जाँदा नाम्चेको रूप अनौठो र आकर्षक देखिँदै ओझेल भयो । 

अब के चाहियो त्यसपछि देखिन थाल्यो प्रकृतिको प्रेमिल परिवेश । तिनैले मायाको मिठासले स्वागत गरे । सौन्दर्य–सुखको आभास सञ्चार गराउँदै आफूमा सबै आगन्तुकहरूलाई समाहित गरे । हेर्नलाई आँखा बेफुर्सद भयो । मन रमाउनुसम्म रमायो । हृदय प्रफुल्लित भयो । उकालोको कठिन यात्रा केही कठिन भएन । मन रमाउन र आँखा तृप्त हुन पाएपछि अरू केही नचाहिने रहेछ । 

यो अर्कै संसार, अलग्गैको भूगोल अनि अनौठो सुन्दरताले सजिएको प्रकृति लाग्ने रहेछ । यति मादक प्राकृतिक थलोमा पाइला टेक्न आएर, अघाउँजी रमाउन पाएर विदेशीहरू खुसीले पागल भइरहेका । अन्त कहाँ देख्नु पाउनु र यस्तो विछत्टका विम्बहरू ! हत्तपत्त कसरी आइपुग्न सकिन्छ र यति टाढाको टाकुरामा ?

तथापि यो टाकुरा, यो रूखोसुख्खा भूतल होइन रहेछ । यो त प्रकृतिलाई नजिकैबाट नियाल्न सकिने गन्तव्य थलो रहेछ ।

पूर्वतिर हिमाली शृङ्खलाका क्षितिज । पश्चिमतिर कोङ्दे र कोङ्दे रि पर्वतको दृश्यका मनोहारी छताछुल्ल छटा । दक्षिण पूर्वमा आमदब्लम, थामसेर्कुसहितका हिम शृङ्खलाका प्रिय दृश्य । यी सबै अनुपम दृश्यमा रमाउँदै यात्राको मजा कति–कति ! 

photo 3

अब यत्तिकैमा यात्रा नरोकियोस् जस्तो । अब यसरी नै दिन कायम रहिरहोस् जस्तो । अब यहीँ विश्राम लिएर स्वर्गीय पलको रसास्वादनमा डुबिरहौँ जस्तो । कति आनन्द, कति रमाइलो ।

कसैको आँखा नपर्नु भनेको राम्रो होइन । सबैको आँखा पर्नु ठुलो कुरा हो । अझ विश्वकै आँखा पर्नु भनेको झन् धेरै भाग्यको कुरा हो । हाम्रा अथाह प्राकृतिक सम्पदा–सौन्दर्य हेर्न विदेशी पर्यटकका आँखा त्यसै कहाँ परेको हो र ! अतः हामीले गौरव गर्न पाएका छौँ । धाकधक्कु लगाउनसमेत सकेका छौँ । किनभने सर्वोच्च शिखर सगरमाथा हामीसँगै छ । अरू धेरै उच्च हिमाल छन् । यिनै हिमालय पर्वत राजको सेरोफेरोमा रमाउन पर्यटकहरू नेपाल आउँछन् ।

यो सत्य हो, विदेशीहरूको आँखा परेकैले हाम्रा हिमालहरू झन् शोभायमान भएका छन् । हामी भाग्यमानी बनेका छौँ । हामी हिमाली सौन्दर्यले धनी कहलिएका छौँ ।

एकजोर खुट्टाका पाइलाले लाखौँ तकलिफ खाँदा पनि कुनै गुनासो छैन । तर एक शब्द अप्रिय शब्द सुनेर रिस र आक्रोशको अग्नि ज्वाला बाल्न कति नसुहाउने हाम्रो बानी  ।

साँच्चै हिमाल हेर्न स्याङ्बोचे काफी रहेछ । नाम्चे आएर स्याङ्बोचे नआउनु भनेको आधा सौन्दर्यपान गर्नुबाट वञ्चित हुनु रहेछ । ‘स्याङ्बोचे पुग्न नछुटाउनुहोला नि’ भन्ने मेरा प्रिय शुभचिन्तक साथीलाई साधुवाद छ । वास्तवमा मैले हाम्रा हिमाली गौरवगाथालाई यहाँबाट राम्रै चिन्न, देख्न र मनन–महसुस गर्न पाएँ ।

क्रमशः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप