अनुसन्धान
लाहुरे बा लट्ठी टेक्दै आए । भवन बनाउन राखेको इँटामाथि बसे । “मेरो पनि घर यहीँ थियो ।” उनले इँटा ओसार्दै गरेको मजदुरलाई भने ।
“पहिलाको कुरा भनेर भएन बाजे । अहिले नभएपछि,” उसले भन्यो ।
आज भन्दा पैँतालिस, पचास वर्ष पहिला कृषि कार्यालयको निर्देशकले हजुरहरूको हितका लागि नै यो अफिस आएको हो, यहाँ फलफूल र तरकारी लगाएर अनुसन्धान गर्ने हो, यसबाट वरपरका किसानलाई धेरै फाइदा हुन्छ । यहाँभित्र काम पनि पाइन्छ । सरकारलाई जग्गा दिएर किसानको भलो नै हुन्छ भनेको उनले भनेको सम्झे । त्यसबेला उनले सोधेका थिए “जग्गा त दिम्ला तर बस्ने कहाँ ?”
“अलि अलि सरकारले दिन्छ, पाखाको खरबारीलाई घरबारी बनाउनुहोला ।” निर्देशकले भनेका थिए ।
उनी विगतको सम्झनामा हराएको बेला एक जना मान्छे आएर कामको गतिविधि हेर्दै निर्देशन दिन थाल्यो । सायद ऊ निर्माण व्यवसायीको मानिस थियो ।
“बाबु के बनाउन लागेका हुन् ?” उनले सोधे ।
“मन्त्रालयको भवन ।” उसले आफ्नै सुरमा बाको जवाफ दियो ।
कृषि अनुसन्धानका लागि लाहुरे बाहरूसँग लिएको जग्गामा बनेका भवनमा थपिन लागेको मन्त्रालयको भवन निर्माण कार्य हेरिरहे लाहुरेबाले ।
पोखरा–७, मासबार, कास्की ।