बुटवलमा पृथ्वीनारायण शाहको सालिक अनावरण

बुटवल। पृथ्वी जयन्तीको अवसर पारेर बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । शुक्रवार बुटवल–बेलहिया सडक खण्ड अन्तरगत बुटवल–१० मा स्थापना गरिएको शाहको पूर्ण कदको सालिक अनावरण गरिएको हो ।
सालिक बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । सालिक निर्माणका लागि बुटवल उपमहानगरले १० लाख तथा वडा नम्बर १० ले ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ भने अन्य रकम स्थानीय पृथ्वीचोकबासी र शुभचिन्तकबाट सङ्कलन गरिएको छ । सालिक राप्रपाका स्थानीय नेता रूपसिंह थापा, निलम अधिकारी लगायतको उपस्थितिमा अनावरण गरिएको हो ।
स्थानीय नेता थापाले पछिल्लो समयमा राज्यको नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख भएको भन्दै इतिहासबारे जानकारी दिने उद्देश्यले सडक किनारमा सालिक निर्माण गरिएको बताए ।
करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको थापाले जानकारी दिए। ढलोटबाट निर्माण गरिएको उक्त सालिक सात फिट उचाइको रहेको छ।