बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा निर्वाचनमा बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

शुक्रबार, २७ पुस २०८०, २० : १९
शुक्रबार, २७ पुस २०८०

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको ४ सिटका लागि दर्ता भएका १५ जनाको उम्मेदवारी कायमै रहेको छ । निर्धारित समयमा कुनै पनि उम्मेदवारको मनोनयनमाथि दाबी विरोध नपरेपछि उनीहरुको उम्मेदवारी कायमै रहेको हो । 

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागी बागमती प्रदेशबाट ६ दलका १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत सोमबार मनोनयन दर्ता गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनका लागि बागमतीको ४ सिटका लागि सत्ता गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित एमाले, राप्रपा र नेमकिपाका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक एक जनाले उम्मेदवारी दिएका छन् । यस्तै एमालेका ४, राप्रपाका ३ तथा नेमकिपाका ४ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रियसभा सदस्य पदको रिक्त रहेको १९ पदमध्ये बागमती प्रदेशमा ४ पदका लागी निर्वाचन हुन लागेको हो । जसमा अन्य, महिला, अल्पसंख्यक/अपांगता भएका र दलित गरी ४ पद रहेको छ ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार रहेका छन् ।

एमालेकातर्फबाट महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन भने राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता/अल्पसंख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार बनेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल ३४७ जना मतदाताले मतदान गर्ने छन् । जसमा प्रदेश सभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २३७ जना रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ रहने छ ।

राष्ट्रिय सभामा रहेका एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि फागुन २० गतेबाट सकिने भएपछि निर्वाचन हुन लागेको हो । जसमा बागमती प्रदेशबाट ४ जना सांसदको पदावधि सकिँदै छ ।

बागमतीबाट पदावधि सकिने सांसदाहरुमा स्वतन्त्रबाट खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंह बहादुर विश्वकर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप