शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

यमनमा अमेरिका र बेलायतको आक्रमण, तेलको भाउ २ प्रतिशतले बढ्यो

शुक्रबार, २७ पुस २०८०, १० : ५१
शुक्रबार, २७ पुस २०८०

सिंगापुर । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो ।

बिहानी कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ डलर ९४ सेन्टमा पुगेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि यूएस टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ दशमलव १ प्रतिशतले ७३ डलर ५५ सेन्टमा उक्लिएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार बिहान १०ः४५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७८ डलर ७२ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआई पनि प्रतिब्यारेल ७३ डलर ३६ सेन्टमा आएको थियो । अघिल्लो दिन पनि तेलको दुवै बेञ्चमार्क झन्डै १ प्रतिशतले बढेका थिए । योसँगै लगातार दोस्रो हप्ता पनि तेलको भाउ बढ्ने क्रममा छन् ।

अक्टोबरयता मध्य पूर्वमा इजरायल र हमासबीच जारी युद्धमा अहिलेसम्म अन्य देशहरु सहभागी भएका थिएनन् । यमनमाथि अमेरिका र बेलायतको आक्रमण सो युद्धमा अहिलेसम्म देखिएको नाटकीय प्रदर्शन थियो । यमनभर नै विस्फोट सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यो आक्रमणलाई अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्यान्डले  पनि समर्थन गरेको बताइएको छ ।

लाल सागरमा हुथी आक्रमणले युरोप र एसियाबिचको मुख्य व्यापारिक मार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । विश्वको कूल व्यापारमा लाल सागरबाट हुने ढुवानीको १५ प्रतिशत हिस्सा रहेको छ । अक्टोबरयता नै हुथी समूहले इजरायलविरुद्ध लडिरहेको प्यालेष्टाइनी सशस्त्र समूह हमासको समर्थनमा लाल सागर भएर जाने ढुवानी जहाजहरूमाथि आक्रमण गरिरहेको छ । ढुवानी कम्पनीहरूले लाल सागरको बाटोबाट ढुवानी बन्द गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप