शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

कोशीबाट सभामुख फिर्ता नबोलाए राप्रपा समाप्त हुन्छ : धवलशम्शेर राणा

‘हामीलाई गणतन्त्रवादीले फसाउन खोजिराखेको देखिन्छ’
शुक्रबार, २७ पुस २०८०, १० : २७
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले कोशी प्रदेशको सभामुखबाट फिर्ता नभए पार्टी समाप्त हुने बताएका छन् । उनले राप्रपाका अम्बरबहादुर विष्टलाई कोशी प्रदेशसभाको सभामुख बनाउने निर्णयमा गलत नियत रहेको पनि जिकिर गरेका छन् ।

यो निर्णयबाट राप्रपाका सबै शुभचिन्तक चिन्तित भएको भन्दै उनले सभामुख फिर्ता हुनुको विकल्प नभएको प्रस्ट पारेका छन् । यस्तै उनले राजतन्त्र पुनर्स्थापनाका लागि योजनाबद्ध रुपमा ७७ वटै जिल्लावासीलाई जागृत गराउने बताए ।

राजा र राष्ट्रवादी व्यक्तिहरु एक ठाउँमा आएर व्यवस्था परिवर्तनका लागि केही महिनाभित्र वारपारको आन्दोलनमा जाने राणाको दाबी छ । वर्तमान व्यवस्था र व्यवस्था सञ्चालन गर्ने पात्र पूर्णरुपमा असफल भइसकेको भन्दै उनले राजसंस्था पुनर्स्थापनाको माहोल बन्दै गएको बताए । कोशी सभामुख प्रकरण र आन्दोलनबारे राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणासँग रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरेको कुराकानीको सम्पादित अंश–

राजा ल्याएरै छाड्ने हो त डाक्टरसाप ?

त्यस्तै माहोल देखिराखेको छ ।

राजतन्त्र कसरी आउने रहेछ त ?

जसरी गयो । त्यसरी फर्किन्छ ।

आन्दोलनबाटै ?

हजुुर ।

कोहीसँग मिलेर गर्ने कि ?

अहिले कोसँग मिल्ने कुरा छैन । यो व्यवस्था र यो व्यवस्था चलाउने पात्रको अकर्मण्यता र जनताको आक्रोशका कारणले अब राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना हुने संकेत देखिएको छ । जनताको चाहना पनि त्यस्तै छ ।

राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजी तपाईंहरुको मूल तीन माग देखिए । यसमा कुनचाँहि माग पूरा हुन्छ भनेर छान्न दियो भने के गर्नुहुन्छ ?

तीन वटै आपसमा मिलेका छन् । एउटालाई अलग राख्न सकिन्छ र ? गणतन्त्र फालेपछि हिन्दु अधिराज्य आउने भयो । हिन्दु अधिराज्य भनेपछि संघीयता हुने कुरा भएन ।

गणतान्त्रिक हिन्दुराज्य भन्ने आइराखेको छ । त्यसमा तपाईंहरुको कुरा के हो ?

हामी सहमत छैनौँ । हामी हिन्दु अधिराज्य खोजिराखेका छौँ । राजाको सहभागिता र अभिभावकको भूमिका, संविधानभित्र बस्ने राजसंस्था, नेपालीको छोरा र छोरीले राजनीति गर्ने हो । राजसंस्थाले गर्ने होइन । बेलायत र जापानको जस्तै संवैधानिक राजतन्त्र जस्तो । २०४७ सालको संविधानलाई टेकेर हिँड्दा पनि हुन्छ ।

राजसंस्था संविधानभित्र बस्दैन भन्ने त देखिएन र ?

त्यस्तो होइन । संविधानभित्रै बसेका थिए । प्रधानमन्त्रीले नै हामीले सकेनौँ, सरकार चलाइबोक्स्योस्, हेरिबोक्स्योस् भनेर टक्य्राइदिएको हो । राजा आफैँ खोस्न पनि गएका होइनन् ।

राजा आफैँ संविधानभन्दा बाहिर आएका होइनन् नि । शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा ‘हामीले सकेनौँ । अब चुनाव गराइदिएर राज्यलाई ट्रयाकमा ल्याइदिनुपर्‍यो’ भनेर बुझाउनु भएको हो नि ।

dhawalsamser ranaत्यो त २०५९ सालको कुरा भयो । ०६१ सालमा शासन सत्ता हातमा लिनु भयो नि त ?

होइन । देउवाजीले सत्ता बुझाएपछिको सिलसिला र गृहयुद्ध चलिरहेका बेला सत्ता हातमा लिने काम भएको हो । नत्र भने राजाहरुले संविधानलाई मिचेर अगाडि बढेकोजस्तो देखिँदैन ।

संवैधानिक राजतन्त्र भनिरहँदा सोरोमोनियल पद भयो । एउटा व्यक्ति ल्याएर सोरोमोनियल पदमा राख्दैमा देशका तमाम समस्या चुट्कीको भरमा समाधान हुन्छन् ?

होइन । न राजासित, न हामीसित जादुको छडी छ । तर, एउटा सुव्यवस्थाको सुरुवात हुन्छ । अहिले भ्रष्टाचारको हालीमुहाली भइरहेको छ । प्रत्येक दिन काण्डमाथि काण्ड भइरहेको छ । एउटा सुशासन कायम गर्नका लागि पहिलो कदम हुने छ । भ्रष्टाचार गर्नेका लागि डर सिर्जना हुने छ ।

संघीय गणतान्त्रिक व्यवस्थामा २९ हजारभन्दा बढी नेताको पालन पोषण भइरहेको छ । जनताको ठुलो धनराशी नेताहरुको व्यवस्थापनमै गइराखेको छ । यो सबै बन्द हुन्छ । अहिलेको भन्दा धेरै सुधार हुन्छ ।

राजतन्त्र पुनर्स्थापना गर्ने पार्टीको नेतृत्व राप्रपाले गर्छ, होइन त ?  

अगुवाइ गर्छ ।

राप्रपा आफैँ फुटको सँघारमा छ । यति कमजोर पार्टीले त्यत्रो ठुलो आन्दोलनको नेतृत्व गर्छ ?

हामीमा फुटको कुरै छैन । तपाईंले कोशी प्रदेशको सभामुख प्रकरणलाई लिएर भन्नु भएको होला । कोशीको सभामुखको विषयमा पदाधिकारीहरु एकमत छौँ । पार्टी अध्यक्षको अध्यक्षतामा बसेको पार्टी पदाधिकारीको बैठकले कोशी प्रदेशमा सभामुखमा जानु हुँदैन भनेर निर्देशन दिएको छ । किनभने सभामुख पद भनेको संविधानको परिधिभित्र बसेर काम गर्ने पद हो । त्यही संविधान र त्यही प्रदेश खारेज गर्नका लागि हामीले आन्दोलन सुरु गरिसक्यौँ । एकातिर आन्दोलन सुरु गर्ने र अर्कोतिर सभामुख भएर त्यही संघीय गणतान्त्रिक व्यवस्थालाई बचाउने पदमा त जानु भएन भनेर हामीले प्रस्ट रुपमा भनेको हो ।

यो कुरा तपाईंको केन्द्रीय समितिले नभइ केन्द्रीय निर्देशन समितिले भनेको कुरा भयो नि ?

सभामुख पदमा नजाने भनेर केन्द्रीय पदाधिकारी बैठकमा हामीले राय पेस गर्‍यौँ । त्यही अनुसार निर्देशन समितिले निर्देशन दिएको हो ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेताले पार्टी अध्यक्षको ग्रीनसिग्नल पाएर सभामुख लिएको हो भनेर भनिसक्नु भएको छ त ?

अध्यक्षले ग्रीनसिग्नल दिनै सक्नुहुन्न । किनकि पार्टीका पदाधिकारीले अध्यक्षलाई प्रस्ट रुपमा कोशीमा सभामुख जानुु हुँदैन भनेर भनेका छन् । अध्यक्षले पनि सभामुखमा गइँदैन भन्नु भएको छ । यहाँ उहाँहरुले ढाँटिराख्नु भएको छ वा भित्र केही चलखेल भएको छ, त्यसमा छानबिन हुन्छ ।

राप्रपाको दोहोरो चरित्र प्रस्ट देखियो । एकातिर प्रदेश खारेजीको आन्दोलनमा जाने अर्कातिर चाहिँ मन्त्री खाने, सभामुख खाने, सबै कुरा खाने परिदृश्य देखियो त ?

मन्त्री खाने अलग कुरा हो । कोशीको सभामुखको विषयमा पार्टीले जान पाइन्छ भनेकै छैन । गणतन्त्रवादीले हामीलाई फसाए वा कोशीका नेताहरु प्रलोभनमा परे वा केही बदमासी भयो । पार्टीको निर्णय, पार्टीको विचार कोशीको सभामुखमा जानु हुँदैन भन्ने नै थियो । सभामुखलाई फिर्ता बोलाउँछौंँ ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखबाट ब्याक भइँदैन भन्नु भएको छ नि ?

सभामुखलाई फिर्ता बोलाइएन भने उहाँहरुलाई कारबाही हुन्छ । जो–जो यो काममा संलग्न छन्, सबैमाथि कारबाही हुन्छ । पार्टीमा ठुलो घात भएको छ । पार्टीले सच्याउनुपर्छ ।

त्यो घातचाहिँ पार्टी अध्यक्ष राजेन्द्र लिङदेनजीले गर्नुभयो त्यसो भए ?

राजेन्द्र लिङदेनजीले गर्नु भएको छ भनेर म भन्न सक्दिनँ । थाहा छैन मलाई । तर, राजेन्द्र लिङदेनजीलाई उहाँकै अध्यक्षतामा बसेको बैठकले कोशीमा सभामुखमा जान हुँदैन भन्ने ९५ प्रतिशत पदाधिकारीले म्यान्डेट दिएको हो ।

पदाधिकरी बैठकमा निर्णय हुँदैन । राय लिइन्छ । त्यही अनुसार अध्यक्षले सभामुखमा गइन्नँ पनि भन्नु भएको हो । पार्टीको पत्र किन भएन, अध्यक्ष र सचिवालयलाई थाहा होला ।

सभामुखमा नजानु भनेर कोशी संसदीय दललाई पत्र नपठाउनुले अध्यक्षले नै  सभामुख बनाउन अनुमति दिएको देखियो नि, हैन त ?

म यो भन्न सक्दिनँ । अध्यक्षले जवाफ दिनु होला । यो प्रश्न सोधिन्छ । कसको निर्देशनमा उहाँ सभामुखमा जानु भयो ? पार्टीको निर्देशन समितिले कोशीमा सभामुखमा जानु भुल भयो, सर्वसहमतिले फिर्ता हुनुपर्छ भनेर निर्णय गरेर केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई पठाएको छ ।

संसदीय दलका नेता भक्ति सिटौलाले सभामुखबाट फिर्ता बोलाउने भए संघ र प्रदेशका गरी ४२ जना सांसद पनि फिर्ता बोलाउन चुनौती दिनुभएको छ । के भन्नुहुन्छ ?

उहाँले जे भन्दा पनि हुन्छ । पार्टीको निर्णय सबैले लागु गर्नुपर्छ । पार्टीले एउटा निर्णय गर्छ नै । त्यो निर्णय म पनि मान्छु । भक्तिजी लगायत सबैले मान्नुपर्छ ।

सभामुखलाई फिर्ता बोलाउन पार्टीले निर्णय गरेर पत्र पठाउँछ ?

निर्देशन समितिले त्यस्तो निर्देशन दिइसकेको छ । पार्टीले निर्णय गरेर पठाउला । पार्टीका सबैको एकसूत्र विचार छ । कोशीको सभामुख फिर्ता हुनुपर्छ ।

dhawalsamser dhabal

सभामुखबाट फिर्ता हुनु भएन भने पार्टीले कारबाही गर्छ ?

पार्टीको विधान, नियम अनुसार कारबाही हुन्छ ।

तपाईं यस्तो भन्नुहुन्छ । अध्यक्ष राजेन्द्र लिङदेन त कोशी प्रदेश सरकारमा सहभागी गराउने कुरा गर्दैै हुनुहुन्छ । अस्ति राष्ट्रियसभामा एक सिट मागिराख्नु भएको थियो । उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डेले छलफल नै गर्नुभयो नि ?

राष्ट्रियसभा र यसमा फरक छ । राष्ट्रियसभामा भोटिङ भएर जाने हो । हामी प्रतिनिधिसभामा पनि छौँ । राष्ट्रियसभामा पनि जान प्रयास गर्ने हो । तर, सभामुखको कुरा गम्भीर छ । संघीयता र गणतन्त्रलाई बचाउ गर्ने ठाउँ हो त्यो । साथै यो सरकारमा राप्रपा जाँदैन । कसले के भनिराखेको छ । कसले कसलाई भेटिराखेको छ भन्ने कुराको अर्थ छैन । राजनीतिमा सबले सबलाई भेट्छन् ।

कोशीमा सभामुखमा जाने गलत नियतले निर्णय भएको छ । यो निर्णयबाट राप्रपामा सबै शुभचिन्तक चिन्तित छन् । यो निर्णय लागु भएर हामी सरकारमा गयौँ भने पार्टी समाप्त हुन पुग्छ । त्यो कुरा नेतागणले राम्रोसँग बुझेको छ । यसलाई फिर्ता गर्ने क्रममा हामीहरु छौँ ।

राजेन्द्र लिङ्देनले सभामुखलाई फिर्ता नबोलाउने अडान लिनुभयो भने के हुन्छ ?

उहाँले कसरी अडान लिनुहुन्छ ? पार्टी एकातिर, अध्यक्षअर्कातिर हुनसक्ला कहिले ?

dhawal samser dhabalsamser rana

पार्टी फुट्ने भयो ?

कसरी फुट्ला ? ९५ प्रतिशत पदाधिकारीले सभामुखमा जानुहुन्न भन्नु भएको छ । अध्यक्षज्यूले पनि जानुपर्छ भन्नुभएको छैन । त्यसको विपरीत अडान किन लिनुहुन्छ ?

प्रकाशचन्द्र लोहनी राष्ट्रियसभामा जान चाहनुहुन्थ्यो । पहिला समानुपातिकमा पर्नु भएन । त्यसकारण आक्रोश पोख्नु भएको भन्छिन् नि ?

गलत । डक्टर लोहनीले चाहनै राख्नु भएको छैन ।

त्यसो भए तपाईंहरुले बरु अध्यक्ष निकाल्नुहोला, पार्टी चाहिँ विभाजन हुँदैन ?

हामी कसैलाई निकाल्दैनौँ । बरु कोशीको सभामुख फिर्ता गर्ने निर्णय गर्छौं ।

फिर्ता भएन भने ?

भएन भने जे नियम, कानुन छ, त्यो गर्छौं ।

राजतन्त्र पुनर्स्थापनाको आन्दोलन कसरी अगाडि बढ्दैछ ?

योजनाबद्ध रुपमा ७७ जिल्लावासीलाई तताउँछौँ । आन्दोलनको तयारी गराउँछौँ । सबै राजावादी, सबै राष्ट्रवादी, सबै हिन्दुवादी, भ्रष्टचार विरोधी, संघीयता विरोधी, संविधान विरोधीलाई एक ठाउँमा राखेर केही महिनाभित्र वारपारको आन्दोलनमा जान्छौँ ।

वारपार भनेको कस्तो हो ?

हामी यो व्यवस्था परिवर्तनतिर लागेका छौँ । यो व्यवस्था र यो व्यवस्था चलाउने पात्रहरु पूर्णरुपमा असफल भइसकेका छन् । अब यो डुब्न लागेको देशलाई हामीले परिवर्तनमार्फत माथि उठाउने प्रयास गर्ने योजनासहित आन्दोलनमा अगाडि आएका छौँ । यो आन्दोलन शान्तिपूर्ण हुन्छ ।

अहिलेका कांग्रेस, एमाले माओवादी लगायतका दलले बिगारेको भन्ने निष्कर्ष तपाईंहरुको होला, तपाईंले पुनर्स्थापना गर्ने राजतन्त्रमा दलहरु हुँदैनन् ?

हुन्छन् नि ।

यिनीहरु नै आए भने नि ?

चुनाव लडेर यिनीहरु नै आए भने स्वागत छ । जनताले फेरि यिनीहरुलाई ल्याइदिन्छन् भने हामी के गर्न सक्छौँ ? हामी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यक्ति हौँ । हामी एकतन्त्रीय राज्य चलाउने पक्षमा छैनौँ ।

वंशको आधारमा शासन चलाउने व्यवस्थामा तपाईंजस्तो डेमोक्रेटिक मान्छे लाग्दा मानिसहरुले कस्तोकस्तो मानेका छन् नि ?

मेरो राजनीतिक सुरुवात नै राप्रपाबाट भएको हो । राप्रपाको युवक संगठनको जिल्ला सचिवबाट राजनीति सुरु गरेको हो मैले । बिचमा तीन वटा राप्रपा भएका बेला साजिस गरेर बुढाहरुले मलाई निकालिदिए । त्यसपछि म पार्टीविहीन भएर केही समय एमालेमा गएको हो । एमालेमा रहँदा राम्रै गरेँ तर राजा फाल्ने कुरा गरेपछि बस्न नसकेर आफ्नै घरमा फर्केको पनि धेरै वर्ष भइसक्यो । धेरै चुनाव पनि लडिसकियो ।

अब मैले कहिले आफूलाई अनडेमोक्रयाटिक भनेको छु ? मैले प्रजातान्त्रिक प्रणालीमै देश चल्नुपर्छ तर गणतान्त्रिक प्रणालीमा होइन । हेड अफ द स्टेट हजारौँ वर्षदेखि चलिआएको राजसंस्था चाहिन्छ । केपी ओलीजीले भन्नुभयो नि–आजकालको जमानामा, चिहानमा गइसकेको भनेर । यस्तो नसुहाउँदो कुरा ओलीजीले नगर्दा नै राम्रो हुन्छ । विश्वका धनाढ्य सफल ११ वटा राष्ट्रमा कुनै न कुनै प्रकारका राजसंस्था छन् । त्यसकारण जुन देशको माटोलाई जे व्यवस्था सुहाउँछ, त्यो व्यवस्था लागु भयो भने देशले प्रगति गर्छ । हाम्रो देशमा हामीले प्रजातन्त्र हेर्‍यौँ, २० वर्षदेखि गणतन्त्र हेरिरहेका छौँ । तर, यो पूर्ण रुपले असफल भइसक्यो । यो देशको राजा भनेको सबको साझा हो । हाम्रो देशको बनोट कस्तो छ ? सयवटा जातजाति छन् । भाषाभाषी १२५ छन् । एकजना राष्ट्रपति भयो भने ऊ समूह, पार्टीको राष्ट्रपति हुन्छ । पार्टीभित्र पनि व्यक्तिको हुन्छ भन्ने महसुस भइरहेको छ । राजा त सबैको साझा भएर राजनीतिभन्दा माथि उठ्ने, नेपाललाई बिक्न नदिने, भ्रष्टाचार हुँदा केही हदसम्म रोक लगाउन सक्ने एउटा संस्था हामीले खोजेको हो । व्यक्तिसँग हामीलाई त्यति सरोकार छैन ।

अस्ति भैरहवामा पूर्व राजासँग राप्रपाका नेताहरुले भेट गरेको तस्बिर पनि सार्वजनिक भयो, त्यो भेटपछि तपाईंहरु अलि बढी नै उत्साहित हुनुभएको देखियो । त्यो भेटमा कुराचाहिँ के के भयो ?

त्यस्तो होइन । हामी समयसमयमा राजासँग देश र पार्टीका कुरा अपडेट गराउन पनि भेट्छौँ । र, उहाँको पनि विचार सुन्छौँ । अहिले पनि राजा जनताको माझमै हुनुहुन्छ । पश्चिम र पूर्वी तराईंमा उहाँले अभिनन्दन थाप्ने, मन्दिरहरुमा दर्शन गर्ने र जनताहरुसँग भेट्ने काम गरिरहनुभएको छ । लाखौँको संख्याका जनताले राजा आउ देश बचाउ पनि भन्ने नारा घन्काइरहेका छन् तर नेता जाँदा कहीँ मुक्का हान्न खोज्छन्, कही ढुङ्गा हान्न खोज्छन् । राजा जाँदा हजारौँको संख्याले स्वागत गर्छन् । यो कुरा त हामी सबैले देखिरहेका छौँ ।

त्यसकारण जति माया राजालाई छ, यो देशको नेताहरुलाई हुँदैन । देशको हालत र देशको परिस्थितिबाट राजा चिन्तित छन् भन्ने कुरा समाचारहरुमा पनि आइरहेको छ । देशको यो गम्भीर परिस्थितिमा चुप लागेर बस्न सकिन्न, केही न केही गरौँ भन्ने हो । हाम्रो कसैप्रति आक्रोश छैन । यो देश सुध्रियोस् भन्ने हो । पटकपटक राजाले भन्ने पनि गर्नुभएको छ कि म यो देशलाई बनाउन सहयोग गर्न तयार छु । तर कसैले सहयोग मागे ? गालीमात्रै गरे राजालाई । राजाले सत्ता लिन्छु त भनेका छैनन् नि । जनताको नासो फर्काइदिएँ, फेरि जनताले मलाई यो काम गर भन्छन् भने म तयार छु तर म बलजफ्ती गर्ने, खोस्न जाने गर्दिनँ भनेका छन् । आफ्नो काम गरेका छन्, जनतालाई भेटेका छन् ।

अस्तिको भेटवार्तामा चाहिँ अब म राजा हुन्छु भन्नुभयो ?

होइन, होइन । राजनीतिमा जनताले चाहे भने जे पनि हुन्छ । जनताले चाहेन, गणतन्त्र आयो । ठिक छ, हामीले स्वीकार्‍यौँ । गणतन्त्र सफल भएको भए हामीलाई बोल्ने ठाउँ नै हुँदैन थियो । हरेक आयाममा असफल भएको छ । असफल चिज, असफल गाडी, च्यातिएको लुगा लगाइरहनुपर्ने कारण केही छैन । नेताको मुख हेरेर हामीले यो व्यवस्था बचाइरहनुपर्ने छैन ।

आज हेर्नुस् त कस्तो सुन्दर व्यवस्था छ ! राजतन्त्रकालमा व्यवस्थाको विरोध गर्दा कति मानिस मारिए, कतिले जेलनेल भोगे, तर आज यसरी व्यवस्थाको विरोध गर्न पाउनुभएको छ र पनि यो व्यवस्था मास्न किन लागेका हुन् धवल शमशेर राणाहरु भनेर मानिसहरुले भन्दा के जवाफ दिनुहुन्छ ?

हरेक व्यवस्थाको आआफ्नो पर्टीकुलर सिस्टम हुन्छ । म मान्छु राजसंस्था हुँदा यसरी बोल्न पाइन्नथियो । संस्थाको विरोध गर्न पाइँदैनथियो । तर प्रगति थियो, शान्ति सुरक्षा थियो । नियम कानुन लागु हुन्थ्यो । भ्रष्टाचार गर्न मान्छे डराउँथे, यस्ता प्लस प्वाइन्ट पनि छन् नि !

सीमितले भ्रष्टाचार र मोजमस्ती गर्थे नि, होइन ?

त्यसरी नभनौँ । भ्रष्टाचार त कुन देशमा हुँदैन ? तर यसरी आम रुपमा तलतलसम्म भ्रष्टाचार हुँदैनथियो । डर थियो, रुल अफ ल थियो । अहिले त भाँडतन्त्र भएको छ । हो, बोल्न पाइन्छ, प्रधानमन्त्री, राष्ट्रपतिलाई गाली गर्न नि पाइन्छ । तर यो बोल्न पाइनेको साथमा अरु के पाइयो भन्ने पो कुरा आयो ।

तपाईं राम्रै पढेलेखेको मानिस हो । राजतन्त्र र अहिलेको अवस्थामा डाटामै कुरा गर्ने हो भने पनि प्रगति देखिन्छ नि ?

दिन र वर्ष बढ्दै जान्छ, विकासको क्रम पनि बढ्दै जान्छ । त्यसरी भन्ने हो भने पृथ्वीनारायण शाहको बेलामा नेपाल कहाँ थियो, आज कहाँ छ ? अबको पाँच वर्षमा योभन्दा केही न केही विकास त हुन्छ नै । मैले अघि पनि भनेँ, २० वटा विकसित देशमा ११ वटामा राजसंस्था छन्, ती देशमा पढेलेखेका मान्छे छैनन् ?

dhawalsamser rana 1

व्यवस्था त साधन हो, साध्य त होइन नि ? यही व्यवस्थालाई राम्रो बनाउन लाग्ने पो होला त भन्ने मेरो भनाइ हो ?

हामीले २० वर्षदेखि प्रयास गर्दैछौँ । अस्ति सरकारमा गएको कारण पनि यो प्रयास गर्न नै हो । यो व्यवस्थालाई सुधार गरौँ, व्यवस्था चलाउने व्यक्तिहरुलाई सुबुद्धि दिउँ भनेर नै हो । हाम्रा मन्त्रीहरुले राम्रो कामको सुरुवात पनि गरेका थिए । तर ४० दिनमै खेमा नै बदल्ने प्रधानमन्त्रीले ? त्यस्तो पनि हुन्छ ? ४० दिनमै अर्को खेमामा प्रधानमन्त्री गएपछि हामी झस्क्यौँ । बाबा.. यो बहुलठ्ठी मान्छेहरुसँग सकिन्न भनेर । त्यसपछि हात उठाएर हामी निस्केको हो । नत्र प्रयास गर्नै गएको हो, सहयोग गर्न नै गएको हो ।

राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै अन्य समूह पनि हिँडेका छन्, उनीहरुलाई पनि अब एकीकृत गर्नुहुन्छ ?

सबै राजावादी, सबै राष्ट्रवादी, सबै सनातन सापेक्ष हिन्दुवादी, भ्रष्टाचारविरोधी, संघीयता र गणतन्त्र विरोधीलाई एक ठाउँमा राखेर हामी यो आन्दोलन अगाडि बढाउँछौँ ।

कहिलेसम्म हुन्छ त राजसंस्था पुनर्स्थापना ? केही आकलन छ ?

झट्टै । छिटो । जनताले जहिले चाहन्छ, त्यहीबेला ।

जनताले अहिले चाहेका छैनन् भन्ने त जनमतबाटै देखिन्छ नि ?

जनताले चाहेको छ कि छैन, भिड हेर्नुस् न ! नेता जाँदा के भन्छन्, राजा जाँदा के भन्छन् जनता ? त्यो को हो ? जनता नै बोलेको त होला नि ? पार्टीका कार्यकर्ता बोलेका त होइन नि, नेता जाँदा के भइरहेको छ ? गाली गर्छन्, ढुङ्गा हान्छन्, मुक्का हान्न खोज्छन् । राजा जाँदा आउने जनता होइनन् ?

अबको तपाईंहरुको आन्दोलन राजतन्त्र पुनर्स्थापना नहुँदासम्म चलिरहन्छ ?

चलिरहन्छ ।

कहिले ल्याउने त राजा ?

हामी त दुई महिनामा ल्याउने प्रयास गर्छौं । तर काल, परिस्थितिले के गर्छ, त्यो पनि हेर्छौं ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप