आन्दोलनको तयारीमा मधेशका यातायात मजदुर
जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरूको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मधेश प्रदेशले सरकारलाई सुझाएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले यदि सरकार एकलौटी अघि बढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।
सङ्गठनले देशव्यापी सञ्चालन गरिरहेको कार्य थलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आएका सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको भए पनि सरकारले सरोकारवालाहरूसँग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले यसको खबरदारी देशभरिका यातायात मजदुरहरूले गर्नुपर्ने सङ्गठनका अध्यक्ष राईले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सरकारलाई लिखित रूपमा कानुन संशोधनका लागि सरकारलाई १६ सूत्रीय सुझाव प्रस्तुत गरेको बताउँदै अध्यक्ष राईले भने– ‘सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उप दफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’
त्यस्तै ‘मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३’ लाई संशोधन गर्दै मजदुर बीमा, तेस्रो पक्ष बीमा र यात्रु बीमा रकमलाई समय सापेक्ष वृद्धि गर्नु पर्ने, साना सवारी साधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठुला सवारी साधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुनी संशोधन गरिनुपर्ने पनि राईले बताए ।
ऐनमा सवारी चालक अनुमति पत्र वितरणसम्बन्धी प्रावधानमा ई रिक्सा चालकहरूका लागि विशेष व्यवस्था गर्दै ठुला तथा मझौला सवारी चालक अनुमति पत्र सिँधै पाउने व्यवस्था गर्दै सडक दुर्घटनामा घाइते तथा अङ्गभङ्ग भएका श्रमिक तथा सर्वसाधारण जनताको राहतका लागि कोषको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरू सरकारलाई सुझाव दिइसकिएको भए पनि ऐन निर्माण भएर सदनमा पेश गर्ने अवस्थामा समेत सरोकारवालाहरूसँग सरकारले छलफलमा नराखेको राईले बताए ।
सुझाव नसमेटी कानुन पारित गरिए देशव्यापी आन्दोलन गरिने बताउँदै सम्पूर्ण यातायात मजदुरहरूलाई तयारी अवस्थामा रहन अध्यक्ष राईले आह्वान गरेका छन् ।
कार्यशालाले मधेश प्रदेशको आठवटै जिल्लाहरुमा सरकारको षडयन्त्रको बारेमा खबरदारी सभाहरू गर्ने, सङ्गठनको सदस्यता विस्तारका लागि बसपार्कहरूमा शिविर अभियान सञ्चालन गर्ने, सङ्गठनका नियमित कार्यक्रम गर्ने र मजदुरहरूको कार्य थलोमा सचेतना अभियानहरू सञ्चालन गर्ने योजना पास गरेको छ ।
कार्यशालामा सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साह, जनकपुरका संस्थापक नेता असर्फी झा, सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष रामनरेश सिंह लगायतका नेताहरूले कार्यशालाको सहजीकरण गरेका थिए ।
सङ्गठनका प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव मनोज झाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान