बाह्य अर्थतन्त्रका सबै सूचक बलियो, आन्तरिक अर्थतन्त्रमा छैन सुधारको संकेत
काठमाडौँ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले नेपालको बाह्य अर्थतन्त्रमा व्यापक सुधार आएको देखिन्छ । गत वर्षदेखि नै सुधारात्मक अवस्थामा रहेको बाह्य अर्थतन्त्र झनै बलियो स्थितिमा पुगेको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय बैंकले बिहीबार चालु आर्थिक वर्ष (२०८०/०८१) को पाँच महिनाको अवधिको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै बाह्य अर्थतन्त्रमा व्यापक सुधार आएको देखाएको हो ।
यस अवधिमा बजार महँगी घट्नु आन्तरिक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रुपमा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालको आन्तरिक बजारमा समेत परेको छ । यसबाहेक, रेमिट्यान्सको आप्रवाह १४ प्रतिशतभन्दा धेरैले बढेको छ भने व्यापार घाटामा समेत सुधार आएको छ ।
विदेशबाट आयात घटेसँगै त्यसको तुलनामा न्यूनमात्रामा निर्यात घट्दा व्यापार घाटामा उल्लेख्य सुधार आएको हो ।
यसबाहेक, चालु खाता झण्डै डेढ खर्बले बचतमा रहँदा सोधानान्तर स्थितिसमेत २ खर्ब १० अर्बभन्दा बढीले बचतमा छ । यसले नेपालको बाह्य अर्थतन्त्रमा व्यापक सुधार आउँदै बलियो स्थितिमा पुगेको देखाउँछ ।
यस्तै, ६ खर्ब १३ अर्बले रेमिट्यान्स बढ्दा विदेशी मुद्राको सञ्चितिमा समेत उल्लेख्य सुधार आएको छ । आयात घट्दो अवस्थामा र रेमिट्यान्स बढ्दो अवस्थामा रहँदा १४ महिनासम्मको वस्तु आयात धान्न सक्ने स्थितिमा विदेशी मुद्राको सञ्चिति पुगेको छ ।
५ महिनामा ६ खर्बभन्दा धेरै रेमिट्यान्स
चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा रेमिट्यान्स आप्रवाह ६ खर्ब १३ अर्ब २५ करोड भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भइ ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
घट्यो श्रम स्वीकृति लिनेको संख्या
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार यस अवधिमा १ लाख ७३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षको यही अवधिमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । जुन, यो वर्षको समीक्षा अवधिको तुलनामा ६३ हजारले न्यून हो ।
यस्तै, यस अवधिमा १ लाख ४ हजार ३७ जनाले पुनः श्रम स्वीकृति लिएको केन्द्रीय बैंकले जनाएको छ । गत वर्षको समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख १५ हजारभन्दा धेरै थियो । यो वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्यामा समेत गिरावट आएको हो ।
श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्यामा व्यापक गिरावट आउँदा यसको प्रभाव आगामी दिनमा देखिने भएको छ । मङ्सिरसम्मको अवधिमा २७ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढे पनि गत वर्षको तुलनामा बिदेसिनेको संख्या घट्दा भावी दिनमा रेमिट्यान्स समेत घट्ने सम्भावना बढेको छ ।
चालु खाता डेढ खर्बले बचतमा, सोधनान्तर बचत २ खर्बमाथि
नेपाल राष्ट्र बैंकले चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो । केन्द्रीय बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु खाता ९९ अर्ब रुपैयाँले बढेर १ खर्ब ४० अर्ब रुपैयाँ बचतमा आइपुगेको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा थियो । जुन, समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा छ । यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक थियो ।
चालु वर्षको समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।
बढ्यो विदेशी मुद्राको सञ्चिति, १४ महिनाको आयात धान्ने
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ५ महिनासम्म आइपुग्दा विदेशी मुद्राको सञ्चितिमा १४.८ प्रतिशतले वृद्धि भएको छ ।
२०८० असार मसान्तमा केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब रुपैयाँ थियो । जसमा १४ प्रतिशतभन्दा धेरैको वृद्धिसँगै मङ्सिरसम्मको अवधिमा १७ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १३.६ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा ११ अर्ब ७१ करोड डलर बराबरको सञ्चिति रहेमा मङ्सिरसम्मा बढेर १३ अर्ब ३१ करोड डलर पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । जुन, मङ्सिर मसान्तमा १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मङ्सिर मसान्तमा ८.९ प्रतिशतले वृद्घि भइ २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ ।
आर्थिक वर्ष २०८०÷०८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । २०८० मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत थिए ।
घट्यो बजार महँगी, मुद्रास्फीति दर ४.९५ प्रतिशतमा सीमित
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले बजार महँगी ह्वात्तै घटेको देखाएको छ ।
केन्द्रीय बैंकका अनुसार २०८० सालको मङ्सिर महिनामा बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशतमा सीमित छ । जबकि, गत आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.१० प्रतिशत छ । यस्तै, गैर–खाद्य तथा सेवातर्फको मुद्रास्फीति ४.८४ प्रतिशत छ । यसबाहेक, घ्यू तेल, तरकारी र मासु तथा माछाको बजार महँगी कमी आएको तथ्याङ्क केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
२०८० सालको कात्तिक महिनाको तुलनामा मङ्सिर महिनामा तरकारी, फलफूल, मसला, चिनीजस्ता वस्तुको मूल्यमा कमी आएकाले समग्र बजार महँगी घटेको बताइएको छ । यस्तै, वार्षिक बिन्दुगत आधारमा २०८० मङ्सिर महिनामा आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धिदरमा समेत कमी आएको छ ।
आन्तरिक अर्थतन्त्रमा समस्या कायमै
बाह्य अर्थतन्त्रमा उल्लेख्य सुधार आए पनि आन्तरिक अर्थतन्त्रको समस्या भने जस्ताको त्यस्तै छ । चालु आर्थिक वर्षको ५ महिनाको अवधि कट्दासमेत राजस्व संकलनको लक्ष्य, पुँजीगत र विकास खर्चमा समेत खासै बढोत्तरी आउन सकेको छैन ।
चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले १४ खर्ब ७२ अर्ब ४८ करोडभन्दा धेरै आम्दानीको लक्ष्य तय गरेका थिए । उनले राजस्व, कर र गैरकर राजस्व तथा अनुदानमार्फत उक्त रकम असुल्ने योजना बनाएका थिए ।
तर, आजसम्म ४ खर्ब ६४ अर्ब रुपैयाँमात्रै उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो रकम लक्ष्यको ३१.५५ प्रतिशत मात्रै हो ।
सरकारले योजनाअनुरुप राजस्व उठाउन नसक्दा सरकारी कर्मचारीको तलब भुक्तानीमै समस्या देखा पर्न थालेको छ । यस्तै, सरकार आफ्नो दायित्वको भुक्तानी समेत गर्न नसक्ने स्थितिमा पुगेको छ ।
ठेकेदार कम्पनीहरुको भुक्तानी दिन नसक्नुका साथै स्वास्थ्य बीमा र कोरोना बीमाको दायित्वबाट समेत सरकार पन्छिरहेको छ । विदेशबाट हुने आयातमा आएको व्यापक गिरावटले समेत सरकारको राजस्व संकलनको लक्ष्य प्रभावित बनिरहेको छ ।
यसबाहेक, आजसम्म चालु वर्षका लागि विनियोजित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेटको ३१.६१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यस अवधिमा विकास खर्च १५ प्रतिशतमा सीमित हुँदा पुँजीगत खर्च २६ प्रतिशतमा सीमित छ । यस्तै, चालु खर्चमा भने सरकारले विगतमा जस्तै दक्षता देखाएको छ ।
आजसम्ममा सरकारले ३७.५२ प्रतिशत चालु खर्च गरिसकेको छ । यद्यपि, चालु आर्थिक वर्षको ५ महिनाको अवधि सकिँदासमेत सरकारले चालु खर्चतर्फको आधा बजेटसमेत खर्च गर्न सकेको छैन ।
यसबाट अर्थमन्त्री र प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरुमा आन्तरिक अर्थतन्त्रमा सुधारको छनक देखिएको दाबी गर्दै आए पनि सत्य नभएको पुष्टि गर्छ । यद्यपि, बाह्य अर्थतन्त्रमा भने नेपाल बलियो स्थितिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल