बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

मातृभाषामा पढ्नेहरुको कमी देखियो : पाठ्यक्रम विकास केन्द्र

बिहीबार, २६ पुस २०८०, १६ : ४६
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ ।  बिहीवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताएका हुन् ।

उनले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले मातृ भाषामा पढाउन पाठ्यक्रम बनाएर लागू गर्दा समेत मातृ भाषामा पढ्नेहरुको संख्यामा कमी देखिएको बताए । अर्याललले कुनै भाषाको पाँच/सात सय पुस्तक छपाई गर्दा वषौँसम्म पनि किताव किन्न आउनेहरु नभएका बताए । उनले मातृ भाषामा शिक्षा दिनेकुरा प्रभावकारी बन्न नसकेको बताए । 

उनले भने, ‘एउटा विषय के देखिएको छ भने संविधानले पनि व्यवस्था गरेको छ, सबै राजनीतिक दलहरुको एक स्वर भएको अवस्था पनि हो कि मातृभाषामा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित हुनुपर्छ भनेर । हामीले अभ्यासमा लैजाने प्रयास गर्यौँ । तर मातृ भाषामै प्रयोग गर्ने प्रयोगकर्ताहरुमा कमी देखिएको छ ।’

महानिर्देशक अर्यालले गणित, विज्ञान र कम्प्युटर शिक्षा अंग्रेजीमा पढाउनुपर्ने नीतिगत व्यवस्था गर्न नहुने बताए । उनले आधारभूत तह १–५ का शिक्षकहरु अझैपनि अंग्रेजी माध्यममा पठनपाठन गराउन सक्ने अवस्थामा नभएको भन्दै यो प्रावधान प्रभावकारी हुन नसक्ने बताए । उनले राष्ट्र र राष्ट्रियताप्रति बफादार बनाउनेगरी पाठ्यक्रम बनाउनुपर्ने आवश्यकताको महशुस भएको भन्दै सोही अनुरुप पाठ्यक्रमहरु परिमार्जन गर्न तयारी गरिरहेको पनि बताए ।

उनले पाठ्यक्रम राम्रो बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताए । अर्यालले नेपालको पाठ्यक्रम दक्षिण एशियाको अन्य देशहरुसँग समान जस्तै रहेको उल्लेख गर्दै नेपाली पाठ्यक्रम कमजोर नभएको बताए । उनले पाठ्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

महानिर्देशक अर्यालले पाठ्यक्रम विकास केन्द्रले प्राविधिक धारका २१ वटा र मातृभाषाका ३१ वटा पाठ्यक्रम बनाएको पनि जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप