२० हजार हेक्टर चैते धानको क्षेत्र विस्तार गर्ने तयारी
काठमाडौँ । सरकारले खाद्य सुरक्षाका लागि चैते धान उत्पादन वृद्धि गर्ने तयारी गरेको छ । बर्खे धानको तुलनामा चेतै धानको उत्पादन बढी हुने भएकाले सो धान उत्पादनको तयारी गरेको हो । अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफल जमिनमा चैते धानको क्षेत्र विस्तार गर्ने लक्ष्यसहित तयारी गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए ।
‘१८ हजार हेक्टर जमिनमा ठुला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पर्याउने छौँ,’ उनले भने, ‘स्यालो ट्युब जस्ता थप दुई हजार हेक्टर थपेर २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन गर्न सक्ने देखिएको छ ।’ अघिल्लो आर्थिक वर्ष २०७९¬–८० मा एक लाख चार हजार ७१२ हेक्टर जमिनमा चैते धान खेती लगाइएको थियो ।
चैते धान र मसिना बास्ना धान उत्पादनका विभिन्न कार्यक्रमहरू सङ्घीयताअघि सञ्चालन भए पनि हाल सो कार्यक्रमले निरन्तरता पाउन नसकेकाले चैते र मसिनो धानको उत्पादनका लागि तयारी भइरहेको सहसचिव श्रेष्ठले बताए । ‘मसिनो धान नेपालमा उत्पादन नगर्ने खाली बाहिरबाट आयात गर्नुपर्ने भएकाले हामीले मसिनो धान उत्पादन गर्ने लक्ष्यले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।’ उनले भने, ‘यसपालि हामीले जुन हाम्रो विगत वर्षको ग्याब छ, त्यसलाई फुलफिल गर्ने हिसाबले चैते धान उत्पादनको विशेष कार्यक्रम गर्ने भनेका छौँ ।’
चैते धान उत्पादनका लागि कस्तो योजना बनेको छ ?
चालु आर्थिक वर्षमा स्थानीय तहभन्दा सङ्घीय तहबाटै चैते भान उत्पादनको तयारी रहेको मन्त्रालयले जनाएको छ । सङ्घीय निकायबाटै चैते धानको कार्यक्रम कार्यान्वयन गरिने सहसचिव श्रेष्ठले बताए । ‘चालु आर्थिक वर्षमा बजेट निकास गर्न ढिलो भइसकेकाले स्थानीयभन्दा सङ्घीय तहबाट नै चैते धानको कार्यक्रम कार्यान्वयन गर्छौँ,’ उनले भने, ‘नार्कले बिउ वितरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइहरूले र कृषि विभागअन्तर्गतको कृषि विकास फार्म सुन्दरपुर कञ्चनपुर, कृषि विकास फार्म चन्द्रडाँगी झापाले सिँचाइसँग समन्वय गरेर किसानहरूलाई तयार पारेर चैतै धानको क्षेत्रफल विस्तार गर्ने हाम्रो अभियान छ ।’
उनका अनुसार चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्धता हुने, बिउ किन्नुपरेमा ५० प्रतिशत अनुदान दिइने, सिँचाइ उपलब्ध गराइने बताए । ‘साना सिँचाइ योजनाअन्तर्गत स्यालो ट्युबेल आवश्यक परेमा त्यो पनि ५० प्रतिशतमा किसानलाई उपलब्ध गराउने छौँ,’ उनले भने, ‘रोपाइँका लागि मेसिनहरू आवश्यक परेमा मेसिनहरू पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइने छ ।’
चैते धान खेतीको फसल भित्र्याउने सिजनमा पानी पर्ने भएकाले धान सुकाउने मेसिनको पनि विभिन्न उद्योगसँग समन्वय गरिनेछ । ‘चेतै धान उत्पादन लिँदा बर्खे मौसम परेकाले धान तुरुन्तै सुकाउनुपर्ने हुन्छ, त्यसका लागि ट्राई सेकुरेटी उपलब्ध गराउनका लागि पहल गर्दै छौँ ।’ उनले भने ।
चैते धानको उत्पादकत्व ६ मेट्रिक टन पुर्याउने लक्ष्य
नेपालमा मुख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टनलाई ६ मेट्रिक टन पुर्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । हाल चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ भने बर्खे धानको प्रतिहेक्टर ३.९० रहेको मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने भएकाले चैते धान उत्पादनमा जोड दिइने जनाइएको छ । चालु आर्थिक वर्षमा एक लाख चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । सोही क्षेत्रलाई थप विस्तार गरिने श्रेष्ठले उल्लेख गरे । चालु आर्थिक वर्षदेखि नै लागु हुने चैते धान उत्पादन कार्यक्रमका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
धान उत्पादन बढाउन सिँचाइ महत्त्वपूर्ण भएकाले कृषि मन्त्रालयको एक्लो प्रयासले मात्र कार्यक्रम सफल हुन नसक्ने श्रेष्ठले उल्लेख गरे । ‘कार्यक्रम सफल बनाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायको पनि उत्तिकै सहयोग आवश्यक पर्छ,’ उनले भने ।
चैते धान कुन कुन लगाउन सकिन्छ ?
चैते २, चैते ६, हर्दिनाथ १ र चैते ५ धानका बिउ चैत सिजनमा लगाउन सकिने कृषि सूचना तथा प्रतिक्षण केन्द्रले प्रकाशित गरेको २०८० सालको कृषि तथा पशुपन्छी तयारीमा उल्लेख छ ।
चैते धान २
चैते धान २ बिउ विशेष गरी तराईका सिञ्चित भूमिका लागि सिफारिस गरिएको छ । यो धान २०४४ सालमा सिफारिस गरिएको हो । यो धान रोपेको एक सय २५ दिनमा पाक्ने उल्लेख गरिएको छ । यो धानको उत्पादन क्षमता प्रतिहेक्टर ४.८ मेट्रिक टन छ ।
चैते ६ः
चैते ६ तराई र भित्री मधेशको ३०० मिटरसम्मको उचाइको सिञ्चित भूमिको लागि सिफारिस गरिएको छ । २०४८ सालमा सिफारिस गरिएको यो धान १२३ दिनमा पाक्छ । यसको उत्पादन क्षमता ४.८ मेट्रिक टन प्रतिहेक्टर छ ।
हर्दिनाथ १
हर्दिनाथ १ धान २०६० सालमा सिफारिस गरिएको हो । यो धान तराई, भित्री मधेस, रिभर बेसिन ८ सय मिटरसम्म भूमिका लागि सिफारिस गरिएको हो । १२० दिनमा पाक्ने यो धान ४.०३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ ।
चैतै ५
चैते ५ बिउ २०७४ सालमा सिफारिस गरिएको हो । यो धान समुद्री सतहदेखि ७ सय मिटर उचाइसम्मको तराई, भित्री मधेस, नदी किनार, बेँसी तथा समतल फाँटका लागि सिफारिस गरिएको हो । यो धानको उत्पादन क्षमता प्रतिहेक्टर ४.६ मेट्रिक टन छ । यो धान १२० दिनदेखि १२५ दिनमा पाक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?