सुर्खेत विमानस्थलबारे दुई पूर्व मुख्यमन्त्रीको आरोप–अहिले विस्तारको पक्षमा कुर्लनेहरु नै त्यो बेलाका बाधक
सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने विषयमा वीरेन्द्रनगर नगरपालिकाले मंगलबार आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय बैठकमा प्रदेश सरकार र नेकपा माओवादी केन्द्रको उपस्थिति थिएन । त्यस बाहेक जिल्लास्थित सम्पूर्ण राजनीतक दल, नागरिक समाज, निजी क्षेत्र र सरोकारवाला उपस्थित भेलाले वर्तमान विमानस्थल विस्तार गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको थियो ।
उक्त भेलाले स्थानीयलाई चलनचल्तीको दररेटमा मुआब्जा वितरण गर्न पहल गर्ने लगायतका ६ बुँदे निर्णय गरेको छ । यसअघि विस्तार कार्य हुन नसक्नुको पछाडि प्रदेश सरकारको कमजोरी रहेको एमाले निकट केही नेता र एमाले संसदीय नेता यामलाल कँडेलको दाबी थियो ।
एमालेकै नेतासमेत रहेका अमरज्योति माविका अध्यक्ष पूर्ण पौडेलले त्यो बेला जनताले उचित मुआब्जाको माग गरेको तर, प्रदेश सरकारले जनताको मागको सुनुवाइ नगरेर जनता तर्साउने काम गरेको आरोप लगाए ।
एमाले नेता यामलाल कँडेलले भने पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही कुनै प्रभावमा परेर विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरेको आरोप लगाए । उनले यसबारे आफूलाई थाहा नभएको र सोध्दा पनि नसोधेको बताए ।
रातोपाटीसँगको कुराकानीमा पनि कँडेलले हिजो सरकारका तर्फबाट कुनै पहल नभएको, आफूसँग समन्वय नभएको बताए । यद्यपि विमानस्थल विस्तार कार्यमा नगरपालिका र कँडेल लगायतका नेताहरुले नै असहयोग गरेको आरोप छ । नगरपालिकाले जनताको प्रतिनिधित्व गर्ने भन्दै ०७७ माघ ५ गते जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्न सुझावसहितको निर्णय गरेको थियो ।
तत्कालीन अवस्थामा नगरपालिका र सुर्खेतका नेताहरु (विशेषगरी कँडेल)ले सहयोग नगरेकै कारण विस्तार कार्यमा अवरोध भएको पूर्व मुख्यमन्त्रीहरुको दाबी छ । रातोपाटीले कर्णाली सरकारका पूर्व दुई मुख्यमन्त्रीलाई विमानस्थल विस्तार कार्यमा कसको कमजोरी हो भनेर जिज्ञासा राखेको थियो । दुवै जना पूर्व मुख्यमन्त्रीले त्यो बेला नगरपालिका र सुर्खेतका नेताहरुले विस्तारमा सहयोग नगरेको, बरु जनता उचाल्ने काम गरेको जवाफ दिए ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले के निर्णय गरेको थियो ?
विमानस्थलको उत्तरतर्फको धावनमार्ग १ हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् । लम्बाई कम हुँदा ठुला जहाजको क्षमता अनुसार भार बोक्न नसक्ने, प्रदेशको प्रमुख र सक्रिय विमानस्थल भए पनि सर्वसाधारण नागरिकको पहुँचमा छैन ।
कम्तीमा पनि एक हजार पाँच सय मिटरको धावनमार्ग विस्तार गर्ने, रात्रिकालीन उडान पनि भर्ने गरी विस्तार गर्ने उद्देश्य थियो । सोही अनुसार तत्कालीन मुख्यमन्त्री शाहीको अध्यक्षतामा ०७७ मङ्सिरको अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय ग¥यो ।
झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । विस्तारका लागि संघीय र प्रदेश सरकारबिच ०७७ असोज १५ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर, प्रदेश सरकारले विस्तारको काम अघि बढाउनै सकेन । केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब १ करोड रकम फ्रिज भयो ।
०७८÷०७९ मा पनि १ अर्ब ५० करोड बराबरको रकम विनियोजन भएको थियो । नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारले विस्तार कार्य अगाडि बढाउन जग्गाको कारोबार रोक्का गर्दै लगत संकलनको कार्य अघि बढाइएको थियो । तर, स्थानीयस्तरमा नगरपालिका र सम्बन्धित क्षेत्रका नेता, जनताको सहयोग नपाएपछि विस्तार कार्यमा अवरोध भयो । विस्तार कार्य रोक्न नागरिक सरोकार समिति बन्यो ।
विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नं वडाका करिब ९ सय २३ घरधुरी, विद्यालय पनि प्रभावित हुने भएपछि समितिले दीर्घकालीन र अन्तर्राष्ट्रिय विमानस्थलका लागि हाल भएको स्थान प्रभावकारी नहुने निष्कर्ष निकालियो । चर्को विरोध थेग्न नसकेपछि ०७८ फागुन अन्तिम सातातिर तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिए । त्यसपछि रोक्का भएको जग्गा फुकुवा गरियो ।
विस्तार कार्य किन रोकिएको थियो ? पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाइ जस्ताको तस्तैः
त्यो बेला कसैले पनि सहयोग गरेनन् । पूर्व मेयर देवकुमार सुवेदी, वर्तमान मेयर मोहनमायाजी त्यो बेला उपप्रमुख हुनुहुन्थ्यो । उनीहरुले लिखितै निर्णय गरेर एयरपोर्ट नबनाउँ भनेर निर्णय नै लेखेर पठाए । हामीले टोटल लागत कस्ट निकालेर, डिजाइन गरेर, डीपीआर तयार गरेर, जग्गाको लागि सार्वजनिक सूचना नै निकाल्यौँ । यति एरियाभित्रको जग्गा भनेर सूचना निकालिएको थियो । तर, नगरपालिकाले विस्तार कार्य रोक्न र अन्यत्र विकल्प खोज्न पत्र नै पठायो ।
त्यो बेला सपोर्ट गर्ने एकजना नेता पनि थिएन । त्यसभित्र यामलालजी पनि पर्नुभयो । सुर्खेतका कुनै पनि नेताले सहयोगी भूमिका निभाएनन्, जसका कारण विमानस्थल विस्तार हुन सकेन । उल्टै नेताहरुकै रणनीतिमा संघर्ष समिति बनाइयो । आन्दोलन गर्न लगाइयो । त्यतातिर लागेका मान्छेहरु अहिले विमानस्थल चाहियो, विस्तार गर्नुपर्छ भन्नु भनेको अहिले चेत खुलेको हो । चाहिने रहेछ भन्ने अहिले थाहा पाउनुभयो नि, त्यो बेला सपोर्ट गरेको भए अहिलेसम्म आधा बनिसक्थ्यो ।
मुआब्जाको विषयमा पनि रकम विनियोजन भइसकेको थियो । विद्यालयको लागि पैसा लैजाउ भनेका थियौँ । त्यसैका लागि हामीले बजेट विनियोजन गर्दा पछि खर्च नै भएन । यामलालजीले समन्वय गरिएन भन्नुहुन्छ तर, धेरै पटक भएको छ । कयौँ पटक बसालेर निर्णय गराउन लगाएँ तर नजिकै आउन मान्नुहुन्नथ्यो । कतिपटक उहाँकै घरमा गएको छु । अहिले गरेकोजस्तै उहिले गरेको भए उहिल्यै काम भइसक्थ्यो ।
पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको भनाइ जस्ताको तस्तै :
म मुख्यमन्त्री हुनुअघि पनि धेरै प्रयास भएको हो । तर, जनतालाई उचालेर त्यहाँ कोही झण्डावाल गाडी आए ढुङ्गा हान्नु भनेरसमेत भन्न भ्याएको कुरा मैले सुनेँ । पछि विरोध भइरह्यो ।
कसैले छोराछोरीले पढ्न पाएनन् भने, कसैले के भने ! म मुख्यमन्त्री भएपछि सबैलाई बोलाएँ । आएकामध्ये ९९ प्रतिशतले यसलाई विस्तार गर्न दिदैनौँ भने । यतिसम्म कि विस्तार गर्न नदिन संघर्ष समिति गठन गरियो ।
स्कुल सार्ने भनिएकै छ, मुआब्जाको विषयमा छलफल भएकै छ । अमरज्योतिको हेडसरले त यसले हामीलाई टर्चर दियो, विद्यार्थीको मानसिक असरको पनि क्षतिपूर्ति तिर्नुपर्छ भनेर भने । सबैले त्यसो भनेपछि आम जनताको मनमा विस्तार कार्य उपयुक्त छैन, हुन्न भनेपछि विस्तार कार्यको ‘च्याप्टर क्लोज’ गरिएको हो । तर, यो पनि भनिएको हो कि तपाईँहरुले चाहनुभयो भने अर्को पटक विस्तारका लागि सोचौँला ।
त्यो बेला यो एयरपोर्ट किन बनाउनुप¥यो भनेर भनियो । त्यो बेला हुँदैन, विकल्प खोज्नुपर्छ भनेर जो कुर्लिनुहुन्थ्यो, हिजो (मंगलबार) उहाँहरुले नै बैठक राख्नुभएछ । हिजो लगत संकलन गर्न जाँदा लखेट्ने को हो ? जीवन शाही हो कि को हो ? लगत संकलनका लागि त मान्छे पठाइएकै हो नि ! यामलालजीलाई बोलाइ छलफल गरेकै हो । उहाँले बैठकमा ‘ल गर्दै जानुहोस् न साथीहरु हो ! के हुन्छ ?’ भनेर भन्नुभयो । त्यो बेला वडाध्यक्षको नजिक को थियो थाहै होला, हेडमास्टर, संघर्ष समितिको मान्छेको नजिक को थियो, थाहै थियो नि ! उहाँले त आफ्ना मान्छेलाई मिलाउनु भएन, अहिले आएर जे भने पनि भयो ।
पूर्णबहादुर खड्काले जे भन्यो जीवन शाहीले त्यही ग¥यो भन्ने आरोप गलत हो । उहाँ मेरो नेता हो तर, उहाँले जे–जे भन्यो, त्यही गर्ने मान्छे म होइन । यो सेक्टरमा अरुभन्दा ज्ञान त मसँग होला नि ! सल्लाह सुझाव त यामलाल, पूर्णबहादुर सबैको लिइयो ।
उहाँहरुले ममाथि लगाएको आरोप मिथ्या हो । उहाँहरु नै हो हिजो बाधक, जीवन शाहीका कारण यस्तो भनेर भन्नु भनेको तल्लोस्तरको मनस्थितिमात्रै हो । सबै मेरो अगाडि आउन् न, ती मान्छेले हिजो मलाई किन बोलाएनन् (सर्वदलीयमा) ? आरोप लगाउनेले त्यहाँ किन बोलाएनन् ? बहालवाला मुख्यमन्त्रीलाई किन बोलाइएन ? उहाँहरु सुर्खेती नेताहरुका रिस साँध्ने कुराले उहाँहरुलाई के हुन्छ थाहा छैन, हामी कर्णालीमा राम्रो विमानस्थल होस् भन्ने हो । हिजोको बाधक उहाँहरु नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’