मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व हिन्दी दिवस

विश्व बजारमा हिन्दी भाषाको पहुँच

हिन्दीलाई विश्वभाषा बनाउने भारतको अभियानले पाउला त सार्थकता ?
बुधबार, २५ पुस २०८०, १५ : ३०
बुधबार, २५ पुस २०८०

सन् २००६ जनवरी १० देखि हरेक वर्ष विश्व हिन्दी दिवस मनाइँदै आएको छ । भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले १० जनवरीलाई विश्व हिन्दी दिवसको घोषणा गरेका थिए । हिन्दी भाषालाई विश्वभाषा बनाउने अभियानमा यो दिवस मनाउन थालिएको थियो । यसअघि  भारतकै महाराष्ट्रको नागपुरमा सन् १९७५ जनवरी १० को दिन प्रथम विश्व हिन्दी सम्मेलन भएको थियो ।  

आजको दिनलाई भारतले आफ्नो भाषालाई विश्व भाषा बनाउने अभियान अन्तर्गत विश्वमा आफ्ना दूतावास भएका सबै देशमा यो दिवसको अवसरमा विभिन्न भाषिक कार्यक्रम गर्दै छ । नेपालस्थित भारतीय दूतावासले पनि यो दिवसको अवसर पारेर नेपाल–भारत कवि सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा दुवै देशका कविहरूले आफ्ना कवितात्मक रचनामार्फत भाषाको महत्त्वका बारेमा चर्चा गर्ने छन् ।

हिन्दी भाषाको प्रचार प्रसारकै लागि भारतले हिन्दी भाषालाई महत्त्व दिन थालेको छ । सन् १९७५ मा पहिलो हिन्दी सम्मेलनपछि हरेक वर्षजसो उक्त सम्मेलन गर्दै आएको भारतले १४ सेप्टेम्बरमा हिन्दी दिवस मनाउँदै आएको छ । अर्थात् भारतमा वर्षमा दुई पटक हिन्दी दिवस मनाइने गरिन्छ । १० जनवरीमा विश्व हिन्दी दिवस र १४ सेप्टेम्बरमा हिन्दी दिवस । 

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाबाट हिन्दीलाई राजभाषाको दर्जा पाएपछि सोही दिनलाई भारतले हिन्दी दिवस मनाउन सुरु गरेको हो । जनसङ्ख्याको हिसाबले विश्वको पहिलो देश भारत, आर्थिक प्रगतिमा लम्किँदै विश्वको तेस्रो अर्थतन्त्र बन्न कोसिसमा लागेको भारतले हिन्दी भाषालाई समेत महत्त्वमा राखेको देखिन्छ ।

विश्व हिन्दी दिवस र हिन्दी दिवस दुवैका उद्देश्य केवल भाषा र हिन्दी साहित्यलाई विश्वका फैलाउने अभियान हो । आज विश्वका शक्तिशाली देश अमेरिका र चीन जस्ता विश्वविद्यालयमा हिन्दी भाषाको अध्ययन अध्यापन हुन थालेको छ ।

भारतका नागरिकको बाक्लो बसोवास भएको अमेरिकामा हिन्दी भाषाको अध्ययन अध्यापन हुनु सामान्य हुन सक्छ । चीनमा भारतीय नागरिक छैनन् । तर पनि चीनले किन हिन्दी भाषालाई महत्त्व दिएर अध्ययन अध्यापनमा जोड दिएको होला भन्ने प्रश्न आउन सक्छ । चीनले आफूलाई विश्व बजारमा उपस्थित गराउन आफ्ना युवा शक्तिलाई विभिन्न देशका भाषा सिकाउने अभियान चलाएको छ । यही अभियान अन्तर्गत हिन्दी भाषामा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन अध्यापन गराउन थालेको देखिन्छ । 

चीनमा २० वटा विश्व विश्वविद्यालयमा हिन्दी भाषाको अध्यापन हुने गर्दछ, १५ वटा  विश्वविद्यालयमा स्नातकसम्मको मात्र अध्ययन हुन्छ भने पाँचवटा विश्वविद्यालयले हिन्दी भाषाको स्नातकोत्तरसम्मको अध्यापन हुने गर्दछ ।

जनसङ्ख्याको हिसाबले चीनलाई समेत उछिनेर पहिलो भएको भारतले आफ्नो जनभाषा हिन्दीलाई विश्वमा फैलाउनु नै विश्व हिन्दी दिवस र हिन्दी दिवस मुल उद्देश्य हो । तथ्याङ्कहरूले भन्छन् भारतमा अहिले कुल जनसङ्ख्याको आधाभन्दा बढी जनता हिन्दी भाषा बोल्छन् अर्थात् ७० करोड मानिसले हिन्दी भाषा प्रयोग गर्छन् । भारतमा अन्य क्षेत्रीय भाषा पनि भएका हुनाले उनीहरूले मातृभाषा बोल्ने गर्छन् । विशेषतः दक्षिण भारतीयहरू हिन्दी कम बोल्छन् । आफ्नो मातृभाषा र अङ्ग्रेजी बढी बोल्ने भएकाले भारतमा हिन्दी भाषा बोल्नेको सङ्ख्या कम भएको हो ।

पछिल्लो दशकमा भारतमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले हिन्दी भाषालाई भारतभर प्रचारात्मक अभियान बढाएको छ । त्यस्तै विश्वमा पनि हिन्दी भाषाको प्रचारमा प्रधानमन्त्री मोदीको उल्लेखनीय योगदान गरेका छन् । विश्वका ठुला मञ्चमा पनि मोदीले हिन्दी भाषामा बोल्ने र विश्वका नेताहरूसँग हिन्दी भाषामा संवाद गर्ने कार्यले पनि विश्वमा हिन्दी भाषाको प्रचार अधिकतम भएको हो ।

प्रधानमन्त्री मोदीको मातृभाषा गुजराती हो । तर मोदी भारतको केन्द्रीय सत्ता र शक्तिमा पुगेपछि उनले हिन्दी भाषालाई विश्व भाषा बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय पैरवीमा लागेका छन् । त्यसैले अहिले भारतीय नागरिकहरू र विदेशमा बस्ने भारतीयहरूलाई पनि आफ्नो मातृ तथा देशको हिन्दी भाषाप्रति मोह र स्नेह ज्यादै प्रकट हुन थालेको देखिन्छ ।

भारतको अवला छिमेकी देश पाकिस्तान, बङ्गलादेश संयुक्त अरब, इमिरेटटस, युगान्डा, अमेरिका, ब्रिटेन, चीन, जर्मनी, न्युजिल्यान्ड, गुयना, सुरिनाम, त्रिनिदाद, साउथ अफ्रिका, मरिससलगायतका देशमा हिन्दी भाषा बोल्ने गरिन्छ ।

  • नेपालमा हिन्दी भाषाको प्रयोग

खुला सिमाना, संस्कृति र परम्परागत सम्बन्ध भएको देश भारतसँग नेपालको अनेक साइना छन् । नेपाल भारतका नागरिकले भन्ने भाषामा नेपाल र भारत रोटी र बेटी सम्बन्ध भएको देश हो । हिन्दी भाषा बोल्नेको सङ्ख्या भारतपछि अर्काे कुनै देशमा बढी छ भने नेपाल नै हो । नेपालीहरू धेरैले जनी नजानी भए पनि हिन्दी भाषा बोल्छन् । हिन्दी चलचित्र हेर्ने, समाचार पढ्ने, सुन्ने जस्ता कारणले पनि हुन सक्छ । नेपालमा हिन्दी बोल्ने जनसङ्ख्या धेरै छ ।

नेपाल पनि हिन्दी भाषाको अध्यापन हुन्छ । निजी स्तरका केही विद्यालयहरूले हिन्दी भाषा पढाउँछन् । तर नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा हिन्दी भाषाको स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गर्दछ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस हाताभित्र रहेको हिन्दी केन्द्रीय विभाग चाहिँ विद्यार्थीको अभाव र साँघुरो एउटा कोठामा खुम्चिएको छ । विभागमा दक्ष प्राध्यापक भए पनि विद्यार्थी सङ्ख्या नगन्य छन् ।

नेपाली समाजमा हिन्दी पढ्नुपर्ने विषय हो भन्ने मनोभावना छ । साथसाथै हिन्दी भारतीयको भाषा हो भन्ने गलत भाष्य पनि छ । वास्तवमा भाषा कुनै देशका जनको राष्ट्रभाषा होला । तर विश्व बजारमा अब अङ्ग्रेजी, चिनियाँ र हिन्दी भाषाको महत्त्व निकै बढ्दै गएको छ । त्यसैले शुद्ध हिन्दी भाषा बोल्ने र लेख्ने जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर छ भन्ने सन्देश विश्व हिन्दी सम्मेलनमार्फत भारतले विश्वका सबै देशमा फैलाउन चाहेको छ । 

आज चिनियाँ भाषा विश्वका कैयाँै देशमा अध्यापन हुने गर्दछ । चिनियाँ भाषा अध्ययन गर्ने हजारौँ विदेशी विद्यार्थीहरू चीनमा छन् । केही वर्ष पहिले संस्कृत भाषा पढ्न नेपालबाट भारत जानेको सङ्ख्या धेरै थियो । तर पछिल्लो समय भारतमा भन्दा राम्रा गुरुकुलहरू नेपालमा स्थापना भएपछि भारतमा संस्कृत पढ्न जाने छात्रहरूको सङ्ख्या कम भएको छ । भारतमा पढ्न गएका छात्रहरूले एउटा हिन्दी विषय पनि पढ्नुपर्ने थियो । त्यसैले नेपालबाट भारतमा संस्कृत पढ्न गएका नेपाली विद्यार्थीहरूमा हिन्दी भाषाप्रतिको मोह बढ्दो थियो ।

विश्व हिन्दी दिवसको अवसरमा हिन्दी भाषा साहित्य प्रेमी विद्यार्थी, अध्येता र सबैमा हार्दिक शुभकामना ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप