बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

न्युल्यान्ड्सको पिचको अवस्था सन्तोषजनक नरहेको आईसीसीको निष्कर्ष

बुधबार, २५ पुस २०८०, १४ : ५३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबिच दोस्रो टेस्ट क्रिकेट खेलिएको केप टाउनस्थित न्युल्यान्ड्सको पिचमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)  ले प्रश्न उठाएको छ । आईसीसीले त्यहाँको पिचको अवस्था सन्तोषजनक नरहेको पनि बताएको छ ।

भारत र दक्षिण अफ्रिकाबिचको उक्त टेस्ट दोस्रो दिन नै सकिएको थियो । उक्त टेस्टमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । विश्व टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा छिटो सकिएको खेलमध्ये त्यो एउटा थियो । दोस्रो टेस्टको पहिलो दिन नै दुवै टोलीले गरी कुल २३ विकेट गुमाएका थिए ।

उक्त टेस्टपछि आईसीसीको टोलीले न्युल्यान्ड्सको पिच र आउटफिल्डको निरीक्षण गरेको थियो । त्यसपछि आईसीसीले त्यहाँको पिचको अवस्था सन्तोषजनक नरहेको प्रतिक्रिया सार्वजनिक गरेको हो । केवल ६ सय ४२ बलमा दोस्रो टेस्ट सकिएको थियो ।

‘न्युल्यान्ड्सको पिच ब्याट्सम्यानहरूका लागि उपयुक्त छैन । त्यो पिचमा ब्याट्सम्यानले आउट हुनबाट जोगिन र रन बनाउन निकै ठुलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ । बलरले फालेको बल अत्यन्त तीव्र गतिमा बाउन्स भएर ब्याट्सम्याननजिक पुग्छ,’ उक्त टेस्टमा रेफ्रीको भूमिकामा रहेका क्रिस बोर्डले भनेका छन् ।

उक्त खेलपछि रेफ्री क्रिसले पनि आईसीसीमा आफ्नो प्रतिवेदन बुझाएका थिए । ‘खेलका क्रममा थुप्रै ब्याट्सम्यानको ग्लोभ्समा बल ठोक्किएको थियो,’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन् । आईसीसीले न्युल्यान्ड्सको पिच सन्तोषजनक नरहेको निष्कर्ष निकालेपछि अब उक्त स्टेडियममा खेल हुने सम्भावना निकै कम देखिन्छ ।

यद्दपि, दक्षिण अफ्रिका क्रिकेट बोर्डले आईसीसीको उक्त निर्णयविरुद्ध १४ दिनभित्र पुनरावेदन गर्न भने पाउने छ । खेलपछि भारतीय टोलीका कप्तान रोहित शर्माले पनि त्यहाँको पिचको चर्को आलोचना गरेका थिए । ‘मेरो विचारमा यस्तो खराब पिचमा कुनै पनि ब्याट्सम्यानले खेल्न चाहँदैन,’ उनले भनेका थिए ।

दोस्रो खेलमा भारत विजयी भएपछि दुई टेस्टको शृङ्खला पनि १–१ को बराबरीमा सकिएको थियो । दोस्रो पालीमा भारतले जितका लागि ७९ रनको लक्ष्य पाएको थियो । भारतले त्यो लक्ष्य १२ ओभरमा तीन विकेट गुमाएर ८० रन बनाउँदै पुरा गरेको थियो ।

दोस्रो टेस्टको दोस्रो दिन दक्षिण अफ्रिकी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ७६ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो टेस्टको पहिलो दिन भने दुवै टोलीको कुल २३ विकेट खसेको थियो । घरेलु टोली दक्षिण अफ्रिका पहिलो पालीमा २३।२ ओभरमा केवल ५५ रन बनाउँदै अलआउट भएको थियो ।

पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिकाका लागि काइली भेरिनीले १५ र डेभिड बेडिङ्घमले १२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् । भारतका बलर मोहम्मद सिराजले ६ तथा जसप्रित बुमराह र मुकेश कुमारले दुई–दुई विकेट लिएका थिए ।

त्यसपछि पहिलो दिन नै भ्रमणकारी टोली भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभर खेल्दै केवल एक सय ५३ रन बनाएर अलआउट भएको थियो । भारतका पछिल्ला ६ ब्याट्सम्यान त टोलीको खातामा एक रन पनि नथपी पेभेलियन फर्किएका थिए ।

भारतका लागि पहिलो पालीमा विराट कोहलीले ४६, कप्तान रोहित शर्माले ३९ र सुभमन गिलले ३६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् । यसका अतिरिक्त उक्त टेस्टका क्रममा थुप्रै खराब कीर्तिमान पनि बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप