शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्व

थारू समुदायमा माघी पर्वको उल्लास सुरु

तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई ज्ञापनपत्र
बुधबार, २५ पुस २०८०, ११ : ०५
बुधबार, २५ पुस २०८०

धनगढी । माघ महिना नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा माघी पर्वको उल्लास बढेको छ । थारू समुदायमा धार्मिक, आर्थिक तथा सामाजिक हिसाबले माघी पर्व निकै महत्त्वपूर्ण मानिन्छ । 

माघ महिनाबाट थारू समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । समाजमा नयाँ नेतृत्व चयन गरिन्छ । यो पर्वमा ठुलाबडाबाट आशीर्वाद लिइन्छ । विभिन्न सामाजिक बन्धनबाट पनि मुक्त हुने हुँदा स्वतन्त्रताको पर्वका रूपमा पनि माघ मनाइन्छ ।

यसको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा आयोजना हुने माघ मेला, महोत्सव झनै रौनक बढाउँछ । त्यसमा नाचिने मघौटा, झुम्रा, सखिया नाच, गाइने ढमार गीतले गाउँबस्ती नै माघको उल्लासको रसमा झुमिरहन्छन् ।

माघी पर्वमा बङ्गुरको मासुको विशेष परिकार बनाइन्छ । त्यसैले हप्ता दिन पहिलेदेखि गाउँघरमा बङ्गुरको किनबेच बढिइरहेको छ । यो पर्वमा ढिक्रीको परिकार अनिवार्य चाहिन्छ । त्यसका लागि मिलमा चामलको पिठो पिसाउनेहरू बढेका छन् । 

कामको सिलसिलाले घरभन्दा बाहिर रहेका र विवाहित चेलीहरू पर्व मनाउन माइती घरमा आउने भएकाले उल्लास थपिँदै गएको छ ।

आमनेपालीले माघ १ गतेलाई माघेसङ्क्रान्तिका रूपमा आआफ्नै रीति संस्कृतिअनुसार मनाउँछन् । उनीहरुले विशेष गरी घिउ, तरुल, चाकुका परिकारहरु खाने गर्छन् । 

तर दाङदेखि कञ्चनपुरसम्मका थारू बस्तीमा भने पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म यो पर्व मनाइन्छ । यद्यपि पछिल्लो समय कामाडौँ उपत्यका तथा विदेशमा समेत माघ मनाउन थालिएको छ । थारू बस्तीमा पुसको अन्तिम दिन नै बङ्गुरको जिटा सामूहिक रूपमा काटिन्छ । पर्वको विधिवत् सुरुवात गरिन्छ ।

सार्वजनिक बिदा दिन माग
माघी पर्व मनाउन थारू सम्बद्ध अधिकारवादी सङ्घ सङ्गठनहरूले माघ ३ गतेसम्म सार्वजनिक बिदा दिन माग गरेका छन् । थारू कल्याणकारिणी सभा कैलालीका सभापति वीरबहादुर चौधरी नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माघी पर्व बिदाको माग गर्दै मङ्गलबार ज्ञापनपत्र समेत बुझाएको छ ।
यसैबिच कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए ।

tharu food

ठुलाबाट आशीर्वाद
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आआफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठुलाबाट अशीर्वाद लिने र सानालाई अशीर्वाद दिने प्रचलन रहिआएको छ । यो दिन पनि आफ्नो घरमा रहेका ढिक्रीलगायतका पाकवान खाने र खुवाउने चलन रहेको थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारूले बताए ।
मकर सङ्क्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपन्छी वध हुँदैन । यो दिनलाई नै थारू समुदायले नयाँ वर्ष मान्ने गरेका छन् । 

बस्ती नेतृत्व चयन
माघी पर्वको तेस्रो दिन (माघ २ गतै) लाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारू बुद्धिजीवीहरू बताउँछन् । थारू नागरिक समाज कैलाली संयोजक थारूका अनुसार माघी पर्वको तेस्रो दिनदेखि गाउँ गाउँमा नयाँ नेतृत्वकर्ता एवं भलमन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म रहेको छ । 
आजभोलि नै थारू बस्तीमा आउने नेतृत्व कसलाई बनाउनेबारे पूर्व छलफल समेत सुरु भएको बताइएको छ ।

एउटा परिवारका सबै सदस्य एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनी बोजनी’ पनि भन्ने गरिएको छ । 
‘खोजनी बोजनीमा अघिल्लो वर्ष परिवारले गरेका गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक थारूले भने– ‘छलफलबाट आगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’

निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत् रूपमा अन्त्य भई थारूहरूमा भोज विवाहलगायतका अन्य कार्यक्रम सुरु हुने गरेको बताइएको छ ।
पश्चिमतिर प्रचलनमा रहेको कमैया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । हाल कमैया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाए पनि उहिले माघी पर्वपछि नै प्रायः कमैया, कमलरी बस्ने प्रचलन रहेको थियो ।

यद्यपि जुनसुकै बेला कमैया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्वसमेत भन्ने गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप