किन बिदेसिँदै छन् नेपाली ?
नेपालीका लागि मुग्लान पस्ने चलन नयाँ होइन, गाउँ र सहर नै खाली हुने गरी बिदेसिने क्रम भने नयाँ हो । यसको कारण भने पहिले पनि त्यही थियो, अहिले पनि फेरिएको छैन । मूलतः नेपालीहरू आर्थिक अवसरको खोजीमा बिदेसिन्छन् । कसैकसैले परिवारमा सामेल हुन र अध्ययनका लागि पनि देश छाडेका छन् । द्वन्द्व, उत्पीडन, मानव अधिकार उल्लङ्घन वा प्रतिकूल वातावरणका कारण बिदेसिने निकै कम छन् ।
बिदेसिने क्रम आगामी वर्षहरूमा अझ बढ्नेछ, घट्ने नामोनिसान देखिँदैन । मुग्लान पस्ने लहरले त्यो व्यक्तिको र उसको परिवारको मात्र होइन, समग्र समाज र देशलाई समेत गहिरो प्रभाव पार्ने भएकाले उनीहरूप्रतिको हाम्रो सोचाइमा परिवर्तन ल्याउनु जरुरी छ ।
यस सम्बन्धमा म एउटा वास्तविक कथा प्रस्तुत गर्न चाहन्छु, यस कथाका पात्रको नाम भने परिवर्तन गरिएको छ । कथा हो पूर्वी नेपालको कुनै गाउँको, जहाँका एक धनीमानी व्यक्तिले आफ्नै जमिनमा गरिबहरूको एउटा बस्ती बसाएका थिए । त्यहीँ विष्णु माझीले पनि एउटा सानो फुसको छानो भएको घर बनाउन सित्तैमा घडेरी पाए । गाउँमै मजदुरी गरेर उनको परिवारको गुजारा चल्थ्यो । उनको घरमा वर्षमा कति दिन धुवाँ आउँदैनथ्यो । ऋणधन गरेर भए पनि चाडबाड भने मजाले मनाउँथे । झट्ट हेर्दा उनको अनुहारमा न दुःख देखिन्थ्यो न हाँसो ।
मजदुरी जीवनको त्यो चक्र हटाउन उनको परिवारमा न ज्ञान छ न त सीप । कसैले हस्तक्षेप नगरी उनको परिवार गरिबीको रेखामाथि उठ्ने सम्भावना नै छैन । सरकार वा परोपकारी संस्थाहरू उनको घरमा पुग्दै पुग्दैनन् । उनलाई सरकारको बारेमा थाहै छैन । हुन सक्छ, गाउँका नेताहरू र धनीमानीहरू उनी र उनका सन्तानले सधैँ यस्तै मजदुरी गरेको हेर्न चाहन्छन् । अथवा गरिबी निर्मूल पार्ने विषय निर्वाचित जनप्रतिनिधिहरूको सरोकारको विषय वा प्राथमिकता होइन ।
छोराछोरीले पढे केही गर्छन् कि भन्ने आशा हुँदो हो तर गाउँको स्कुलमा कक्षा ५ सम्म पढेपछि विष्णुले उनीहरूलाई पनि बिहान–बेलुकाको छाक टार्न मजदुरीमै लगाउँछन् । सहरमा पठाएर त्योभन्दा माथि पढाउने हैसियत छैन उनको । मजदुरी गरेरै चलेको छ पुस्तौँदेखि उनीहरूको घरपरिवार ।
‘राष्ट्रप्रेमी नेपाली विदेश नजाऊ आफ्नै माटोमा केही गर’ भन्ने भाषा विष्णु र इन्द्रबहादुरजस्ता लाखौँ नेपालीले बुझ्दैनन् । उनीहरू रहरले होइन, बाध्यताले बिदेसिएका हुन् ।
विष्णुका नाति इन्द्रबहादुर अलिक फरक देखिए । कक्षा ५ सम्म पढेर स्कुल छाडे पनि पत्रपत्रिका र किताबहरू भेटेसम्म पढ्न छाडेनन् । कनीकुथी अंग्रेजी बोल्न पनि सिके । ऋणपान गरेर काम गर्न दुबई पुगे । विदेश जाने भनेपछि चर्को ब्याजमा उनले गाउँमै ऋण पाए । उनले पनि ब्याजदरको हिसाब गर्न चाहेनन्, किनभने ऋण पाउनु नै ठुलो कुरा भयो ।
केही वर्ष दुबईमा पसिना बगाएर इन्द्रबहादुरले ऋण मात्र तिरेनन्, गाउँमा एकतले पक्की घर पनि बनाए । उनको परिवारले मिठोमसिनो खान पायो । उनले बुवालाई एउटा साइकल किनिदिएका छन् । अहिले पनि विदेशमै रहेका उनले बहिनीलाई कलेज पढाउन पैसा पठाउँछन् ।
मरुभूमिको घामले डढेर कालो भएका इन्द्रबहादुर भन्छन्, ‘नेपालमै बसेको भए यस्तो अवसर प्राप्त हुँदैनथ्यो । मजदुरी गरेरै जीवन अस्ताउँथ्यो ।’ कालो भएकाले गाउँ फर्किंदा कसैले नचिन्लान् भन्ने डर भने छ उनलाई ।
उता राजधानी काठमाडौंमा राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएका एक महानुभाव बिदेसिनु राम्रो होइन भनेर भाषण दिइरहेका छन् । बिदेसिने लर्को देखेर राष्ट्रप्रेम घट्यो, नैतिकता बोइङमा चढ्न थाल्यो भनेर उनी चिन्तित छन् । यो समाचार पढेर इन्द्रबहादुर कन्फ्युज छन् । अस्ति एक नेताले सित्तैमा विदेश पठाइदिन्छु भनेर चुनाव जितेका थिए, अहिले त्रिभुवन विमानस्थलमा बिदेसिनेको ताँती देखेर आँसु आयो भन्छन् । अर्का नेताले ‘रहरले विदेश गएका हुन् रहर पुगेपछि फर्किन्छन्’ भनेछन् । फेरि उसले पढ्यो, तिनै नेताले आफ्नो एउटा छोरा अमेरिका र एउटी छोरी अस्ट्रेलिया पठाएका रहेछन् ।
‘राष्ट्रप्रेमी नेपाली विदेश नजाऊ आफ्नै माटोमा केही गर’ भन्ने भाषा विष्णु र इन्द्रबहादुर माझीजस्ता लाखौँ नेपालीले बुझ्दैनन् । उनीहरू रहरले होइन, बाध्यताले बिदेसिएका हुन् । आफ्नो गाउँघर र देश छाड्ने परम्परा सदियौँ पुरानो हो । ऋषिमुनिहरू हिमालयमा आएर ज्ञान हासिल गर्थे । सिद्धार्थ गौतमले घर छाडेरै बोधिसत्व प्राप्त गरेका थिए । पहाडबाट तराई आएर जंगल फँडानी गर्न तत्कालीन पञ्चायती सरकारले नै उत्प्रेरित गरेको थियो । अवसरको खोजीमा गाउँबाट सहर छिर्ने चलन हिजो थियो, आज छ र भोलि पनि रहनेछ । हाम्रा नौजवानहरू ब्रिटिस आर्मी, इन्डियन आर्मी, गुर्खा कन्टिन्जेन्ट सिंगापुर र गुर्खा रिजर्भ युनिट ब्रुनाई जाने परम्परा नयाँ होइन ।
हाम्रा पुर्खाहरू दार्जिलिङ, सिक्किम, आसाम, भुटान, बर्मालगायत ठाउँमा गएर बसोबास गरेका थिए । पछिल्ला केही दशकमा संसारका धेरै देशमा नेपालीहरू छरिएको कुरा सबैमा जगजाहेरै छ । कुन मुलुकमा कति पुगेका छन् भन्ने लेखाजोखा भने हुन बाँकी छ । खाडी मुलुकसहित मलेसिया, कोरिया, इजरायल, युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा कहाँ पुगेका छैनन् र नेपाली । २०४६ मा बहुदल आएयता जनचेतना बढेको र प्रक्रिया सहज भएका कारण नेपालीहरू बिदेसिने क्रम ह्वात्तै बढेको हो भन्ने मान्यता छ ।
बिल गेट्सले एकपल्ट भनेका छन्, ‘गरिब जन्मिनु तपाईंको गल्ती होइन तर गरिब भएरै मर्नु तपाईंको गल्ती हो ।’ जोसुकै पनि सुख–समृद्धिको खोजीमा हुन्छ । जीवनमा दुई छाक खान पाइयोस्, आङ छोप्न पाइयोस्, बस्नलाई एउटा आफ्नै घर होस्, छोराछोरीलाई पढाउन सकियोस् र बिरामी पर्दा उपचार गर्ने हैसियत होस् भन्ने चाहना राख्नु ठूलो इच्छा पनि होइन ।
स्वदेशमै रोजगारको व्यवस्था भए पनि बिदेसिने क्रम रोकिने सम्भावना छैन । बेरोजगारको के कुरा, जागिर हुनेहरू पनि देशमा भविष्य देख्दैनन् । शिक्षक, पुलिस र सरकारी कर्मचारीसमेत बिदेसिने क्रम जारी छ ।
सर्वसाधारण गाउँलेले देशमै बसेर त्यो सुख–समृद्धि पाउने सम्भावना देखेका छैनन् । त्यस्तो सम्भावना भएको भए विष्णु माझीको परिवारले नेपालमै केही गथ्र्यो, उनका नाति दुबई जानुपर्दैनथ्यो । गरिबीका कारण पढ्न नसकेपछि आफ्नै देशमा जागिर खाने कुरै आएन । व्यापार गर्न पैसा छैन । फेरि सबै मान्छेसँग व्यापार गर्ने क्षमता पनि हुँदैन । भूमिहीनले के खेती गर्नु ? उद्योगधन्दा गाउँमा छिरिसकेका छैनन्, सहरमै पनि काम पाइँदैन । सरकारले केही गरिदेला भनेर कति आशा गर्नु ? देशमै केही गर्छु भन्यो भने ऋण कसैले दिँदैनन् । गरिबीको दलदलबाट माथि उठ्नै नसकिने अवस्था छ । बिदेसिनुबाहेक अर्को विकल्प के छ ?
इन्द्रबहादुरलाई भने आफ्नै गाउँघरमा परिवार, आफन्त र साथीसंगीसँग सुखी र खुसी जीवन बिताउन पाए हुन्थ्यो भन्ने छ । गाउँमा तत्कालै रोजगारी र आम्दानीको क्षेत्र विस्तार गर्ने सम्भावना छैन । स्वदेशमै रोजगारको व्यवस्था भए पनि बिदेसिने क्रम रोकिने सम्भावना छैन । बेरोजगारको के कुरा, जागिर हुनेहरू पनि देशमा भविष्य देख्दैनन् । शिक्षक, पुलिस र सरकारी कर्मचारीसमेत बिदेसिने क्रम जारी छ ।
देशका सबै युवा बिदेसिएका वा बिदेसिने क्रममा छन् । गच्छेअनुसार निमुखाहरू भारत र खाडी मुलुक, अलिक पैसा हुने मलेसिया, जापान र कोरिया, पैसावाला तथा पढे–लेखेकाहरू युरोप, अस्ट्रेलिया, क्यानडा, अमेरिका जाने गर्छन् । विदेश नगए ‘यो त लफङ्गा भयो’ भन्ने सुनिन्छ । गाउँमा बस्ने युवाको मनोबल खस्किएको छ । मेरा छोराछोरी विदेशमा छन् भनेर गर्वसाथ भन्छन् बाउआमा । विष्णु माझी पनि चौतारीमा बसेर जुँगा मुसार्दै त्यसै भन्न रुचाउँछन् । युवा बिदेसिएपछि गाउँ बुढाखाडा र केटाकेटी बस्ने ठाउँ भएको छ । खेतबारी बाँझो छ । कतिपय घर खण्डहर भएका छन् । गाउँको सुन्दरता लुटिएको छ । बिरामी पर्दा हेरविचार गर्ने कोही छैन, मान्छे मर्दा मलामी पाइन छाड्यो ।
भनिन्छ– विकास गाउँ जान थालेको छ, युवाले गाउँ छाडिरहेका छन् । देशले आर्थिक सम्पन्नता हासिल नगरेसम्म चाहेर पनि बिदेसिने क्रम रोक्न सक्ने स्थिति छैन । यो नेपालको मात्र होइन, विश्वव्यापी यथार्थ हो । अहिले खासगरी एसिया, अफ्रिका र दक्षिण अमेरिकाका धेरै मानिस बिदेसिने क्रम बढिरहेको छ । संसारकै सबैभन्दा शक्तिशाली र धनी देश अमेरिका समेतले अग्ला–अग्ला पर्खाल बनाएर आप्रवासीलाई रोक्न सकेको छैन । युरोपियन देशहरूको त्यस्तै हालत छ ।
बिदेसिने क्रम रोक्ने सम्भावना नभएपछि बरु दक्ष जनशक्ति पठाएर उनीहरूलाई सक्दो सहयोग गर्नु जरुरी छ । विदेशमा बस्नेहरूबाट पनि देश बनाउन सहयोग लिनुपर्छ । आप्रवासी नेपालीले प्रत्यक्ष रूपमा राजनीतिमा भाग लिन नपाए पनि अप्रत्यक्ष रूपमा सहभागी हुन छोड्नु हुँदैन । विदेशी नागरिकता लिएकाहरूले नेपालको राजनीतिको चिन्ता नलिए हुन्छ भन्ने तर्क सान्दर्भिक छैन । उदाहरणका लागि सन् २०२२ मा भएको चुनावमा भारतको गुजरात राज्यमा विश्वभरका २५ हजार एनआरआई आएर भारतीय जनता पार्टीलाई सहयोग गरेको समाचार आएको थियो ।
यता धेरै नेपाली आप्रवासीले गएको चुनावमा बालेन शाहलाई काठमाडौंको मेयरमा जिताउन सहयोग गरेका थिए । काठमाडौंमा भएका आफ्ना घरपरिवार र आफन्तलाई सम्पर्क गरेर बालेनलाई भोट दिन उत्प्रेरित गरेका थिए । एकजना नेताले ‘अब देशभित्र मात्र होइन, विदेशमा पनि भोट खोज्नुपर्छ’ भनेका रहेछन् । बिदेसिनेको संख्या बढ्दै गर्दा नेपालको राजनीतिमा उनीहरूको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पनि बढ्ने सम्भावना छ ।
बिदेसिने क्रम घट्ने होइन, बढ्दै जाने पक्का छ । देशले आर्थिक समुन्नतिमा छलाङ नमारेसम्म यो क्रम रोकिँदैन । आफ्नो र परिवारको आर्थिक स्थिति छिटै सुधार्न अधिकांश नेपालीलाई बिदेसिनुको विकल्प छैन । तसर्थ, बिदेसिएका नेपालीलाई समेत समेटेर देश निर्माणको पहल गर्नु जरुरी छ । नागरिकता जहाँको लिए पनि एकपल्टको नेपाली सधैँको नेपाली ठानेर उनीहरूको देश प्रेममा शंका गर्नु हुँदैन । बरु दक्ष जनशक्ति स्वदेश फर्काउने नीति ल्याउनुपर्छ । आप्रवासनलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउनु जरुरी छ ।
(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन् ।)