शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादी अभियानको समीक्षात्मक बैठक

रिपोर्ट कार्डको आधारमा नेताहरूको जिम्मेवारी हेरफेरको तयारीमा माओवादी

बुधबार, २५ पुस २०८०, ०९ : २३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । पार्टी रूपान्तरण विशेष चार महिने अभियान समापन भएसँगै सातै प्रदेशमा माओवादी केन्द्रको प्रदेशस्तरीय समीक्षा बैठक जारी छ । साउनको तेस्रो साता राजधानीको प्रज्ञाभवन कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकमा गरमागरम बहस र छलफलपछि रूपान्तरण विशेष अभियान चलाउने निर्णय भएको थियो ।

बैठकको निर्णय बमोजिम सबै प्रदेशको वडास्तरमा भदौ १६ देखि सुरु भएको अभियान पुस १६ गते समापन भएको थियो । मङ्गलबारसम्म बागमती, सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा अभियानको समीक्षा सकिएको छ । कोशी, गण्डकी र कर्णालीमा समीक्षा हुँदैछ । यद्यपि सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठकले समीक्षा रिपोर्टलाई अन्तिम रूप दिन बाँकी रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार सातै प्रदेशले पालिकाबाट आएको रिपोर्टमाथि समीक्षा गरेपछि केन्द्रमा आइपुग्छ ।

‘अभियानबारे सातै प्रदेशमा समीक्षा भइरहेकाले सबै रिपोर्ट केन्द्रमा आइसकेको छैन । वडा र पालिकाबाट आएका रिपोर्ट सम्बन्धित प्रदेशमा समीक्षा भएपछि केन्द्रमा आइपुग्छ । त्यसपछि पार्टीको स्थायी कमिटी बैठक बसेर रिपोर्टमाथि संश्लेषण हुन्छ’, उपाध्यायले भने ।

अभियानको समीक्षा रिपोर्ट आउने क्रम जारी रहँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीभित्र निर्मम ढङ्गले अगाडि बढ्ने संकेत दिएका छन् । सोमबार राजधानीको नाचघरमा बागमती प्रदेशको प्रदेशस्तरीय समीक्षा बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको जस्तो ख्याल ठट्टा नठान्न नेताहरूलाई चेतावनी दिएका थिए ।

को–को केन्द्रीय सदस्यले जिम्मेवारी पूरा गरे÷गरेनन् भन्ने निष्कर्ष निस्कने भन्दै उनले त्यसकै आधारमा केन्द्रीय समितिमा जिम्मेवारी दिने बताएका थिए । ‘अभियानमा को–को केन्द्रीय सदस्यले जिम्मेवारी पूरा गरे ? को–कोले जिम्मेवारी पूरा गरेनन् । यसलाई विगतको जस्तो ख्याल ठट्टाको विषय बन्न दिइने छैन । आउने दिनमा केन्द्रीय समिति कस्तो बनाउने भन्ने आधारमा कसलाई कस्तो रोल दिने भन्ने हुनेछ,’ गम्भीर हुँदै उनले भनेका थिए ।

कार्यक्रममा उनले यो पटक राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटमा पनि हेडक्वाटरभन्दा परकालाई दिइएको दाबी गरेका थिए ।

‘राष्ट्रियसभाको टिकट हेडक्वाटर वरिपरिकाले मात्र पाउने त हो नि भन्ने कुरा मैले सुनेँ । सरी कमरेडहरू, अहिले हेडक्वाटरबाट टाढा टाढाकालाई दिइएको छ । तपाईंले हेर्नुभयो भने गाउँमा दुःख गर्नेलाई छानेर दिइएको छ । यो छनोटमा पनि वर्गतिर फर्किन बल भएको छ भन्ने याद गर्नुहोला’, चेतावनीपूर्ण शैलीमा उनले भनेका थिए ।

यस्तै सरकारको तर्फबाट पनि नीति तथा कार्यक्रम, बजेट निर्माणमा पुनरावलोकन हुने र यसले ससानो रिभोलुसन ल्याउने प्रचण्डले विश्वास व्यक्त गरेका थिए । सरकार, पार्टी सञ्चालन, जीवनशैली र कार्यशैलीलाई लिएर बारम्बार आलोचना खेपिरहेका प्रचण्डले यी सबै आरोपबाट मुक्त हुने छनक यो पटक देखाएका छन् ।

सबै प्रदेशबाट रिपोर्ट आएपछि स्थायी समिति बैठक बोलाउने तयारीमा अध्यक्ष प्रचण्ड छन् । रिपोर्टका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर हुने र सोही आधारमा केन्द्रीय समिति बनाउने तयारीमा उनी जुटेका हुन् । फागुनको पहिलो साता हुने विधान अधिवेशनका लागि पार्टीले गठन गरेको मस्यौदा समितिले मस्यौदा बुझाइसकेको छ । कार्य विभाजनको विषयमा स्थायी समितिले निर्णय लिने भएको छ । स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ । पार्टीले गठन गरेको आन्तरिक मूल्याङ्कन समितिको प्रतिवेदनको आधारमा पदाधिकारीसहित केन्द्रीय समितिको जिम्मेवारी हेरफेर गरी विधान अधिवेशनमा जाने माओवादीको तयारी छ ।

महासचिव देव गुरुङले अभियान मूलभूत रूपमा सफल भएको पार्टीले निष्कर्ष निकालेको बताए । सबै प्रदेशबाट आएको रिपोर्ट कार्डको आधारमा नेताहरूको कार्य विभाजन हुने उनले जिकिर गरे ।

‘सबै प्रदेशबाट अभियानको समीक्षात्मक रिपोर्ट आएको छैन । रिपोर्ट आइसकेपछि अब बस्ने पार्टीको स्थायी कमिटी बैठकमा समीक्षा हुन्छ । त्यसकै आधारमा नेताहरूको कार्य विभाजन हुन्छ’, रातोपाटीसँग कुरा गर्दै उनले भने ।

  • अभियान सफल भएको निष्कर्ष, निरन्तरता दिनुपर्नेमा नेताहरूको जोड

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले सापेक्षिक हिसाबमा अभियान सफल भएको निष्कर्ष निकालेको छ । आइतबार र सोमबार राजधानीस्थित राष्ट्रिय नाचघरमा बागमतीसहित उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त बैठकले अभियान सफल भएको निष्कर्ष निकालेको हो ।

‘रूपान्तरण आफैँबाट सुरु गर्नुपर्छ । एउटा अभियान सम्पन्न भयो । अर्को अभियान सुरुवात गर्नुपर्छ । विधान अधिवेशन र विशेष महाधिवेशनमा गएर अभियान सम्पन्न गर्नुपर्नेमा सबैले जोड दिएका छन् । अभियानले काम गर्ने/नगर्ने नेताहरूको रेकर्ड राखेकाले सबैको लागि अग्निपरीक्षा हो,’ लेखनाथ दाहालले भने, ‘आन्तरिक अनुगमन समिति र अभियानबाट आएको रिपोर्टलाई मूल्याङ्कन गरी नेताहरूको जिम्मेवारी हेरफेर हुनेछ । त्यसकारण को पास भए, को फेल भए ? पछि थाहा हुन्छ ।’ यो पटक लाभको पद बाँडेर नेता तथा कार्यकर्ता अडिँदैनन् भन्ने निष्कर्षमा अध्यक्ष पुगेको पनि उनले सुनाए ।

स्थायी समिति सदस्य एवं रुकुमपूर्वकी इन्चार्ज कमला रोकाले अभियानबाट जनता र पार्टीबिचको सम्बन्ध बलियो हुँदै गएको निष्कर्ष निकालिन् । यस्तै रूपान्तरण अभियानले  संगठन क्रियाशील भएको, लुम्बिनीको तल्लो मधेस बेल्ट र रुकुमतिर पार्टी प्रवेशको लहर राम्रो भएको, आन्तरिक अन्तर्विरोध धेरै हदसम्म हल भएको उनले बताइन् ।

‘समग्रमा लुम्बिनीमा अभियान सफल भएको छ । रुकुम–रोल्पाजस्तो माओवादी आधार इलाकामा समाजवादको आधार बन्ने गरी अभियान चलाएका छौँ । संगठन विस्तार र पुनर्गठन भएका छन् । अभियानको स्वरूप बदलेर निरन्तरता दिनुपर्छ । सदस्यता नवीकरण, जवस निर्माण लगायत सबै कुरा जनतासँग जोडिने गरी अभियान चलाउनुपर्छ । अब हामी वैचारिक, सैद्धान्तिक बहससहित जनतामा जान्छौँ । समाजवादको आधार तयार गर्छौं’, उनले भनिन् ।

यस्तै नेताहरूको शक्ति संघर्षका कारण संगठन अस्तव्यस्त भएको मधेस प्रदेशमा अभियानले अन्तर्विरोध हल गर्न महत्त्वपूर्ण भूमिका खेलेको अर्का स्थायी समिति सदस्य विश्वनाथ साहले बताए । पुस १२ गते अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री निवास बालुवाटारमा मधेसबारे गम्भीर समीक्षा भएको उनले जानकारी दिए । खासगरी अन्तर्विरोध हल गर्न पार्टीले ध्यान दिएको उनको भनाइ छ ।

‘मधेसमा जुन खालको अन्तर्विरोध छ । अन्तको भन्दा फरक छ । ईर्ष्याभाव बढी देखिन्छ । राजनीतिक अन्तर्विरोध हुँदा पार्टीभित्र बोलचाल बन्द हुँदैन । मधेसमा कतिपय ठाउँमा बोलचाल नै हुँदैन । बरु अन्य पार्टीसँग हुन्छ, आफ्नो पार्टीभित्र हुँदैन । बढो दुःखद र विचित्रको छ । यसमा अरुलाई दोष दिएर हुँदैन, हामी आफैँलाई दोष दिनुपर्छ’, उनले भने ।

मधेसमा अन्तर्विरोधले प्रदेश र जिल्ला कमिटी गठन नहुँदा संगठन शिथिल भएको उनको निष्कर्ष छ । यसपटकको अभियानले शान्त तलाउमा ढुङ्गा हान्न सफल भएको उनले बताए ।

‘पानी हल्लिएको छ । अब यसलाई निरन्तरता दिनुपर्छ । संगठन चलायमान भएको छ । पार्टीले जिम्मेवारी सही ढंगले दिने र दिएको जिम्मेवारी बोध गर्ने साथीहरू अलिकति उदार भएर लाग्ने हो भने मधेस माओवादीका लागि उर्वर भूमि हो । अब संगठकलाई संगठनको जिम्मा दिनुपर्छ’, उनले भने ।

कोशी प्रदेशले पुस मसान्तसम्म अभियानको समीक्षा समापन गर्ने तयारी गरेको छ । २० गतेभित्र अभियान समापन गर्ने भनिए पनि सबै पालिकाबाट रिपोर्ट नआएकाले समीक्षा बैठक बस्न ढिलाइ भएको अध्यक्ष हर्क नेम्वाङले बताए ।

अभियान समग्रमा राम्रो भएको उनको निष्कर्ष छ । बुधबारसम्म सबै पालिकालाई रिपोर्ट पठाउन निर्देशन दिइसकेकाले सबै रिपोर्ट आएपछि मात्र थप भन्न सकिने नेम्वाङले बताए ।

‘केन्द्रीय सदस्यहरूले पनि रिपोर्टिङ गरिराख्नुभएको छ । पालिकाबाट पनि रिपोर्ट आउने क्रम जारी छ । पालिकाको अवस्था के छ ? त्यसबारे समस्या र सम्भावनाबारे समीक्षा हुन्छ’, नेम्वाङले भने, ‘पालिकामा कत्तिको ध्यान दिए ? कतिको भूमिका खेले ? त्यसबारे महिनाको अन्त्यसम्म थाहा हुन्छ । यद्यपि समग्रमा संगठनलाई चलायमान बनाउन अभियान सफल भएको छ ।’

गण्डकीमा मंगलबार अभियानको प्रदेशस्तरीय समीक्षा समापन हुने अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । अभियानको स्थिति राम्रै भएको भन्दै उनले सबै पालिकाबाट रिपोर्ट प्रस्तुत भएपछि केन्द्रीय समिति र प्रदेश समितिको संयुक्त बैठक संश्लेषण हुने बताइन् ।

‘जनताहरूले नेताहरूलाई खोजिरहेको स्थिति छ । आवश्यकता माओवादीको छ तर महत्त्व चिन्न सकेनन् भन्ने गुनासा आएका छन् । अभियानात्मक जस्तो पार्टी बन्नुभएन । स्वचालित पार्टी बनाउने कुरामा हामीले अभियानलाई निरन्तरता दिनुपर्छ’, गुरुङले भनिन् ।

कर्णाली प्रदेशमा पुस २६ र २७ गते अभियानको समीक्षा हुने अध्यक्ष विमला केसीले जानकारी दिइन् । कर्णाली माओवादी जनयुद्धको आधार क्षेत्र भएकाले अन्तजस्तो समस्या नदेखिएको उनले बताइन् । अभियानले निष्क्रिय रहेको संगठन र नेता तथा कार्यकर्तालाई सक्रिय बनाउन भूमिका खेलेको उनको निष्कर्ष छ ।

सुदूरपश्चिममा अभियानले संगठनमा थोरै हलचल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए । सुदूरपश्चिममा अभियानको समीक्षा सकिसकेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप